अमेरिकी भिसा प्रकृया कडा बनाउने ६० दिने सुचना


प्रकाशित मिति : श्रावण २०, २०७४ शुक्रबार

भिसा आवेदकमाथि कठोर छानविन गर्दै भिसामा कडाई गर्ने नीतिलाई स्थायी बनाउन ट्रम्प प्रशासन अगाडि बढेको छ । विहिबार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटका तर्फबाट फेडरल रजिस्टरमा सुचना प्रकाशित गर्दै भिसा आवेदकका सामाजिक सञ्जाल लगायतका विवरण संकलन गर्ने प्रकृयालाई स्थायी बनाउन कदम चालिएको छ ।

ब्यूरो अफ कन्सुलर अफेयर्स, भिसा कार्यालयले जारी गरेको डीएस ५५३५ फर्मलाई स्थायी रुपमा लागु गर्न फेडरल रजिस्टरमा सुचना प्रकाशित गरिएको हो । प्रकाशित सुचनामा ६० दिनभित्र सार्वजनिक रुपमा औपचारिक प्रतिकृयाको आब्हान गरिएको छ । आगामी सेप्टेम्बर २ सम्म सार्वजनिक कमेन्टहरु स्वीकार गरिनेछ भने त्यसपछि यसलाई औपचारिक रुपमा स्थायी रुपमा लागु गरिनेछ ।

नयाँ फर्ममार्फत भिसा आवेदकले १५ बर्षको यात्रा इतिहास र त्यो यात्रा गर्नका लागि आएको आर्थिक श्रोत, विगत १५ बर्षसम्मका आफ्ना ठेगानाहरु, विगत १५ बर्षदेखिको रोजगारीको इतिहास, आवेदकका अहिलेम्मका पासपोर्ट नम्बर र जारी गरेको देशको विवरण, सबै दाजुभाई दिदीबहिनीका नाम र जन्ममिति, सबै बच्चाबच्चीका नाम र जन्ममिति, सबै पार्टनर र दम्पत्तिका नाम र जन्ममिति, विगत पाँचबर्षमा प्रयोग गरेका सामाजिक सञ्जालका ह्याण्डल र विवरण, विगत पाँचबर्षमा प्रयोग गरेका सबै इमेल र फोन नम्बरहरु बुझाउनुपर्नेछ ।

फर्म डिएस ५५३५ को पूर्ण रुप हेर्न यहाँ क्लिक गर्नुहोला ।

यात्राको इतिहासको सन्दर्भमा आवेदकले विगतमा आतंककारी नियन्त्रित क्षेत्रको भ्रमण गरेको सन्दर्भमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै क्षेत्रको भ्रमणबारे थप विवरण बुझाउनुपर्नेछ । सामाजिक सञ्जालको संकलन आवेदकको भिसा जातीय, धार्मिक , क्षेत्रीय, राजनीतिक आस्था वा लिंगका आधारमा भेदभाव गर्न प्रयोग नगरिने जनाइएको छ । विश्भरका अमेरिकी दूतावास र भिसा कार्यालयहरुले आवेदकबारे थप छानविन र जानकारीका क्रममा यो फर्म प्रयोग गर्ने जनाइएको छ । हरेक बर्ष झण्डै ६५ हजार भिसा आवेदकहरु अमेरिकाको लागि जोखिमपूर्ण महसुस हुने सुचनामा जनाइएको छ ।

फेडरल रजिस्टरमा प्रकाशित ६० दिने सुचना हेर्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com