अफगानिस्तानमा ज्यानको बाजी लगाएर ब्रिटिस दूतावासको सुरक्षा गर्ने नेपालीलाई बेलायतले डिपोर्ट गर्ने


प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार

अफगानिस्तानमा ज्यानको बाजी लगाएर ११ वर्ष ब्रिटिस राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डलाई बेलायतले डिपोर्ट गर्ने भएको छ । काबुलस्थित बेलायती राजदूतावासमा खटिएका नेपाली गार्डलाई नियन्त्रणमा लिएर बेलायतले नेपाल फर्काउन लागेको हो ।

बेलायती अखवार गार्डियनका अनुसार तालिबानले काबुल कब्जामा लिएसँगै अगस्ट २०२१ मा ११ नेपाली र २ भारतीय सुरक्षा गार्डलाई बेलायतले उद्धार गरी लन्डन पुर्‍याएको थियो । तीमध्ये केहीलाई अनिश्चितकालीन बिदा दिइएको छ भने केहीले सरकारको निर्णय पर्खिरहेका छन् ।

नियन्त्रणमा लिइएका नेपाली सुरक्षा गार्डमध्येका एक हुन् ३७ वर्षीय बमबहादुर गुरुङ जसले अफगानिस्तानमै एक दशक बिताए । पहिले उनी काबुलस्थित बेलायती दूतावासमा सुरक्षा गार्डका रूपमा रहेका थिए भने पछि क्यानडेली दूतावासमा सुपरभाइजर गार्डका रूपमा काम गरे ।

फेब्रुअरी १७, २०२२ मा उनले बेलायतमा स्थायी बसोबासका लागि दिएको आवेदन प्रक्रिया अघि बढेको र बायोमेट्रिक्स तयार भइरहेको खबर प्राप्त गरेका थिए । तर जुनमै उनले सरकारको अफगानिस्तान पुन:स्थापना टिमबाट एउटा इमेल प्राप्त गरे जसमा अफगानिस्तानमा उनको उद्धार केवल एक ‘सद्भावनाको संकेत’ मात्र भएको र उनी बेलायतमा स्थायी बसोबासका लागि योग्य नभएको उल्लेख थियो ।

गत मार्च २७ मा गुरुङलाई गृहमन्त्रालयको एउटा टिमले नियन्त्रणमा लिएको हो । ‘म काममा जान लागिरहेको थिएँ, त्यसैबेला मलाई पक्राउ गरियो । मप्रति बेलायतको व्यवहार देखेर अचम्मित र दु:खी भएँ,’ ग्याटविक विमानस्थलनजिकै रहेको डिटेन्सन क्याम्पबाट उनले गार्डियनलाई भनेका छन्, ‘म त्यत्रो वर्ष बेलायती दूतावासको सुरक्षामा खटिएँ । हामीमध्ये कसैको पनि आपराधिक रेकर्ड छैन । बेलायतमा बसेर बेलायती सेनामा सेवा गर्ने मेरो सपना अधुरै रह्यो ।’ गृहका अधिकारीहरूले आफूहरूलाई यही अप्रिल ११ मा नेपाल फर्काउने जानकारी दिएको उनले बताएका छन् ।

अफगानिस्तानमा काम गर्नुअघि गुरुङ नेपाली सेनामा कार्यरत थिए । उनले केही समय इराकमा समेत काम गरे । उनी अफगानिस्तानमा बाहिरी कम्पनीबाट बेलायती र क्यानडेली दूतावासको सुरक्षामा खटिएका हुन् । उद्धारपछि उनलाई लन्डनको एउटा होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो ।

पक्राउ पर्नुअघिसम्म पनि उनी त्यही होटेलमा काम गर्दै र सरकारलाई करसमेत तिर्दै आएका थिए । गार्डियनका अनुसार उनले मार्च महिनामा ‘उत्कृष्ट कर्मचारी’को अवार्डसमेत हात पारेका थिए ।

बेलायती सरकारका प्रवक्ताले भने अफगानिस्तानबाट उद्धार गरिएकाहरूको व्यवस्थापनका लागि आफूहरू गम्भीर रहेको बताएका छन् । उनले भनेका छन्, ‘अफगानिस्तानबाट उद्धार गरिएका २४ हजार ५ सयको जोखिम व्यवस्थापनका लागि हामी प्रतिबद्ध छौं।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com