के छ बुधबार अमेरिकी सिनेटमा पेश गरिएको अध्यागमन विधयेकमा ?


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

बुधबार सिनेटरहरु टम कटन र डेभिड पर्डयुले अमेरिकी सिनेटमा अध्यागमनबारेको अत्यन्तै महत्वपूर्ण मानिएको नयाँ विधयेक पेश गरेका छन् । अमेरिकन इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नाम दिइएको यो विधयेक पारित भएमा अमेरिकाको इमिग्रेशन इतिहासमा शताब्दीकै ठूलो परिवर्तन हुनेछ ।

विधयेकमा मुख्यतया तीनवटा विषयहरु समेटिएका छन् । पहिलो, यो विधयेक पारित भएमा क्यानडा र अष्ट्रेलियाले अपनाएको जस्तै प्वाइन्ट सिस्टममा भाषा, शिक्षा र योग्यताका आधारमा ग्रिनकार्ड प्रदान गरिनेछ । यो प्रणालीले अमेरिकी अर्थतन्त्रमा योगदान दिनसक्नेलाई प्राथमिकता दिनेछ । आवेदकले शिक्षा, भाषा क्षमता, उच्च तलब पाउने जागिरको अफर, उमेर, अति दक्ष उपलब्धीको रेकर्ड लगायतका आधारमा प्वाइन्ट प्राप्त गर्नेछन् । निश्चित प्वाइन्ट प्राप्त गर्ने १ लाख ४० हजारले बर्षेनी यो ग्रिनकार्ड प्राप्त गर्नेछन् । यसरी प्वाइन्ट सिस्टमबाट रोजगारमा आधारित भिसा पाउनका लागि आवेदकले कम्तीमा ३० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ ।

दोश्रो, यो विधयेक पारित भएमा अमेरिकी नागरिकताप्राप्त व्यक्तिका २१ बर्ष पुगेका छोराछोरी र दाजुभाईदिदीबहिनीले पाउने ग्रिनकार्डको कोटा खारेज गरिनेछ । तर दम्पत्ति र १८ बर्ष नपुगेका छोराछोरीका लागि भने ग्रिनकार्ड आवेदन दिन सकिनेछ । पहिलेजस्तो २१ बर्ष नपुगेकाहरु ग्रिनकार्डका लागि आवेदन दिन योग्य हुनेछैनन् । यो विधयेक पारित भएमा अमेरिकी नागरिकताप्राप्त व्यक्तिका बुबाआमाले समेत अमेरिकाको ग्रिनकार्ड आवेदन गर्न पाउने छैनन् । बरु उनीहरुका लागि हेरचाहको उद्देश्यका लागिमात्र रिन्यु गर्न मिल्ने खालको अस्थायी भिसाको व्यवस्था गरिनेछ । त्यस्तै आप्रवासी भिसामा अमेरिका आउन लागेका अमेरिकी नागरिकका हजुरबा तथा हजुरआमा यो विधयेक लागु भएको एकबर्षभित्र आउने तय भएको खण्डमा उनीहरु अब अमेरिका आउने पाउनेछैनन् ।

तेश्रो, हरेक बर्ष ५० हजार आप्रवासी अमेरिका भित्राउने डिभी लोटरी जालसाजीले भरिएको भन्दै यो कार्यक्रम बन्द हुनेछ । यो कार्यक्रमको कुनै मानवीय र आर्थिक लक्ष्य नभएको तथा डाइभर्सिटीको समेत प्रवद्र्धन नगरेको भन्दै यो कार्यक्रम सम्पूर्ण रुपमा बन्द गरिनेछ ।

चौथो, यो विधयेक पारित भएमा हरेक बर्ष ५० हजारभन्दा धेरै शरणार्थीहरु अमेरिकामा भित्राइने छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com