लामिछानेको दाहसंस्कारका लागि हतार किन गरियो? यो प्रश्नको जवाफ समाजले दिन सक्छ ?


प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार

टेक्सास निवासी कृष्ण लामिछानेको असामान्य मृत्युपछि अमेरिकामा रहेको नेपाली समुदाय शसंकित छ । यति धेरै सामाजिक उचाई बनाएको मान्छेले के कारणले त्यो बाटो रोजे भन्ने प्रश्न सँगसंगै उठाएको छ । लामिछाने व्यापारी भन्दा बढ्ता राजनीतिक र सामाजिक मान्छे थिए । उनले समाजमा दिएकोे योगदानको हामीले सँधै स्मरण गर्नुपर्ने हुन्छ । उनी मर्दा र पर्दाका साथी भनेर चिनिन्थे ।

मर्दा र पर्दाको साथी, पर्यावाची बनेका लामिछानेको राजनीतिक र सामाजिक उचाई अमेरिका आएपछि जनसम्पर्क समिति अमेरिका, टेक्सासको स्थानिय संस्था नेपाली समाज टेक्सास र पछिल्लो क्रममा एनआरएनए लगायतका संघ सस्थाले बढाएको थियो ।

सामाजिक संजालमा लामिछानेको मृत्युको कारणबारे विभिन्न अडकलवाजीहरु भइरहेका छन् । यो विषय छानविन भएमा कानुनले यसको निर्क्यौल गर्ला । तर आजका मितिमा भन्दा यो बिषयले कानुनी रुप लिनेमा म विश्वस्त छैन । किनकी थप छानविका लागि यो समाज कानुनी रुपमा लडन तयार हुने छैन् ।

लामिछानेको मृत्युपछि सार्वजनिक भएका फोटोहरु, अडियो, भिडियोहरुले विभिन्न अनुमानका लागि बाटो खोलेको छ । यसको भित्रि कारण या त लामिछानेले जानुन् या त उनीसँग सम्वन्धित परिवारले जानोस् । यदि कानुनी उपचार खोजिएछ भने कानुनले छिनो फानो गर्ला । यदि यो बिषयले कानुनी रुप लिएन भने उनलाई धर्मको सिद्धान्तले न्याय गर्नेछ ।

सरल र मृदृभाषी लामिछानेले बरु देह त्याग गरे तर कसैको नराम्रो बनेनन् । उनले व्यक्तिगत जीवनमा केही गल्ती गरेको आकलनहरु पनि गरिएका छन् । तर गल्तीका नाममा मृत्युवरणका लागि कसैलाई बाध्य पार्न पाइदैन ।

एनआरएनए, जनसम्पर्क समिति र एनएसटी

कृष्ण लामिछाने सार्वजनिक मान्छे भएकाले नै मैले लेख लेखेको हुँ । यसो त पारिवारिक रुपमा सामान्य समस्या नभएको घर भेट्न मुस्किल हुन्छ । परिवारका सदस्यको सबैको एक मत हुन्छ भन्ने छैन् । तर पछिल्लो एनआरएनएको चुनावले उनलाई थप संकटमा धकेल्यो भन्नेमा धेरै आधारहरु छन् ।

लामिछानेको जनसम्पर्क समिति अमेरिकाको संस्थापक रहँदा देखीनै उनको आर्थिक पाटोलाई कम्जोर बनाउँदै लग्यो भन्ने उनी निकटका साथीहरुको भनाई र बुझाई छ । एनआरएनए र जनसम्पर्क समितिमा रहँदा अमेरिकाका ५० राज्यमा हिड्नु त्यो खर्च, अनि परिवार र आर्थिक पाटो सुधार गर्न समय नदिनुले लामिछानेलाई गाँज्दै लग्यो होला भन्ने अनुमान गर्न सकिन्छ । काममा समय कम दिनु अनि खर्च बढ्दै जानु उनका लागि समस्याको बिषय बन्यो ।

टेक्सासको स्थानिय संस्था एनएसटीमा लागेपछि पनि उनले समाजलाई बढ्ता समय दिए तर परिवार र आर्थिक पाटो मिलाउन कम समय दिए । यो दोश्रो कारण थियो उनी समस्यामा पर्दै जानुमा । अनि तेश्रो कारण हुनुपर्छ, एनआरएनए अमेरिकाको अध्यक्षमा प्रत्यासी रहनु ।

सामाजिक र राजनीतिक रस चाखेका मान्छेको एउटा स्वभाव हुन्छ । उसले आर्थिक रुपमा कति पैसा कमाइयो भन्दा पनि कति जना मान्छेले मलाई चिन्छन्, कतिले मलाई नमस्कार गर्छन भन्ने बढ्ता ध्यान दिन्छ । या कति सम्मान मैले पाईरहेको छु भन्ने बढ्ता ध्यान दिन्छ । लामिछानेलाई मैले मुस्किलले १० पटक प्रत्यक्ष भेटेँ हुँला, उनमा सामाजिक सम्मान बढ्ता महत्वको बिषय हो भन्ने प्रष्ट झल्किन्थ्यो ।

समाज भनेका लामिछानेलाई समाजले के सहयोग गर्यो त ?

लामिछानेको मृत्युपछि उनका बुवा रामप्रसाद लामिछानेले छोराको पार्थिव शरिर हेर्ने इच्छा जाहेर गरे । सामाजिक संजालमा उनले बिभिन्न संघ सस्थालाई सम्बोधन गरेर लेखेको पत्रनै सार्वजनिक भयो ।

यस बिषयमा स्थानिय संघ सस्थाहरुले कम चासो दिए । बुवाले उनको अनुहार हेर्न पाउने इच्छामा समाजका अग्रज भनिनेहरुले कम ध्यान दिए । श्रोतका अनुशार लामिछानेका बुवाको राहदानी पनि बनि सकेको थियो । भिसा प्रकृयामा यस्ता आपकालिन समयमा अमेरिकी दूतावासले सहजै भिसा प्रदान गर्ने गरेको छ । तर बुवालाई अमेरिका ल्याउन लामिछानेको परिवार र यहाँका सामाजिक अभियान्ताहरुले खासै चासो देखाएनन् ।

यसो त लामिछानेको मृत शरिर कहिले, कहाँ र कसरी अन्तिम दाहसंस्कार गर्ने भन्नेमा श्रीमतिको पहिलो अधिकार हुन्छ । अमेरिकी कानुनले अरुका कुरा सुन्दैन् । यसबारेमा परिवारका तर्फबाट कति सहज भूमिका खेलिएको थियो भन्ने त्यो अगुवाहरु नै जानुन् । तर यस्तो अवस्थामा यदी समाजले सहज भूमिका खेलेको भए सायद श्रीमतीले नाइनास्ती गर्ने कुरा हुने थिएन होला ।

लामिछानेको मृत शरिर दाहसंस्कार गर्न किन यति हतारो गर्यो भन्ने जवाफ टेक्सासको नेपाली समाजले कहिल्यै दिन सक्ने छैन् । जन्मदिने बुवाको अन्तिम इच्छामा सहयोगी बन्न हससम्भव कोशिस जरुरी थियो । जुन गरेको देखिएन । उनीहरुले कसो गर्दा हुन्छ भनेर सामाजिक संजालमा स्टाट्स लेखे तर बुवालाई यहाँ ल्याउनका लागि अडान लिन सकेनन् ।

लामिछानेका बारेमा जनसम्पर्कका नेता किन बोलेनन् ?

लामिछानेले घन्टौं, महिनौं समय दिएर बनाएको जनसम्पर्क समितिका नेता भनिनेहरु लामिछानेको मृत्यु बारे चुईक्क बोलेनन् । अझ अर्को अचम्मको कुरा त के भने राजनीति गर्ने मान्छेलाई मृत्युपछि एउटा इच्छा हुन्छ, उसले आस्था राखेको पार्टीको झण्डा ओड्न पाउँ । तर लामिछानेको मृत्युपछि उनलाई कांग्रेसको झण्डा ओडाएर अन्तिम सम्मान र श्रद्धाञ्जली दिन कसैले इच्छा देखाएनन् ।

परिवार, व्यक्तिगत आर्थिक पाटो भन्दा बढ्दा राजनीति र समाजलाई समय खर्चेका लामिछानेको मृत्युपछि समाज र राजनीतिक दलका नेता भनिनेहरुबाट यथेष्ट सहयोग पाएनन् भन्दा सायद फरक नर्पला । जनसम्पर्क समितिले एउटा बिज्ञप्ती सम्म निकाल्ने आँट गरेन । अब यति लेखिसकेपछि १३ औं दिनको पुन्य तिथिमा लेख्छ कि ?

लामिछानेका साथीभाईले उनलाई साथ दिए त ?

फेसबुकमा पाँच हजार साथी भन्दा दुख पर्दा सहयोग गर्ने पाँच जना साथीभाई जीवनमा कमाउन सकियो भने सायद यस्ता समस्याकै कारण मृत्युवरण गर्नु पर्दैन होला । लामिछानेको मृत्युका फोटोहरु उनकै निकट साथीभाईको मोवाइलमा पनि होलान् ।

तर प्रश्न उठछ के यस्ता फोटोहरु देख्दा समेत समस्या समाधानका लागि ति साथीभाईले सहयोग गरे त ? मुत्युकै साहरा लिएका लामिछानेको परिस्थिति हेर्दा लाग्छ, पक्कै गरेनन् । यदि गरेका भए यो समस्या पहिल्यै समाधान हुन्थ्यो । परिवारमा समस्या थियो भने छुटिएर बस्न सकिन्थ्यो, हो त्यो सत्य हो । तर दुई जना साथी साथमा चाहिन्छ । सामाजिक रुपमा काम गरेको मान्छेले एकल निर्णय लिँदा भोली मलाई समाजले के भन्ला भनेर पक्कै सोच्छ । यसर्थ मर्दा र पर्दाका लामिछानेले पर्दा र पर्दा काम लाग्ने साथी कमाएकै रहेनछन् ।

(यस लेखमा व्यक्त विचारहरु लेखक अनिल अधिकारीका आफ्नै नीजि विचार हुन् । यसमा खसोखासको कुनै सरोकार छैन ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com