अमेरिकी ग्रिनकार्डको शुल्क १५४० डलर बनाइदै, नागरिकता शुल्क ७६० डलर


प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउदैछ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित भएकोमा  मार्च १३ सम्म  कमेन्ट अवधि तोकिएको थियो । जसमा झण्डै ७ हजार कमेन्टहरु प्राप्त भएका छन् । अब युएससीआईएसले अन्तिम नियमको तयारी गरिरहेको छ ।

अहिले अमेरिकी नागरिकता आवेदनका लागि ६४० डलर शुल्क तिर्नुपर्छ । यदि अनलाइनबाट आवेदन दिएको खण्डमा यो शुल्क अनलाइनबाट तिर्न सकिन्छ । कागजी आवेदन दिएमा मनी अर्डर, चेक वा क्रेडिट कार्डबाट पनि तिर्न सकिन्छ । तर अब यो शुल्क १२० डलर बढाएर ७६० डलर बनाउने प्रस्ताव गरिएको छ ।

अहिले अमेरिकी ग्रिनकार्डका लागि ११४० डलर शुल्क रहेकोमा यसलाई १५४० डलर बनाउने प्रस्ताव गरिएको छ । जुन ४ सय डलरले बृद्धि हो । ग्रिनकार्ड आवेदनमा बायोमेट्रिक शुल्क भने लिइनेछैन । अहिले बायोमेट्रिक शुल्कसहित ग्रिनकार्ड आवेदनका लागि १२२५ डलर तिर्नुपर्छ ।

गैरआवासीय भिसा थप वा स्टाटस परिवर्तनका लागि दिइने आवेदनमा अहिले आवेदन शुल्क ३७० डलर र बायोमेट्रिक शुल्क ८५ डलर गरी ४५५ डलर तिर्नुपर्छ । तर प्रस्तावित शुल्कमा बायोमेट्रिक शुल्क नलिनइे र आवेदन शुल्क अनलाइन आवेदन दिएमा ३७० बाट ५२५ बनाउने र कागजी आवेदन दिएमा ६२० बनाउने प्रस्ताव गरिएको छ ।

परिवारमा आधारित ग्रिनकार्ड आई १३० का लागि आवेदन दिंदा ५३५ डलर शुल्क रहेकोमा १७५ डलर बढाएर ७१० डलर बनाउने प्रस्ताव गरिएको छ । यो आवेदन कागजी रुपमा फाइल गरेको खण्डमा ८२० डलर तिर्नुपर्ने प्रस्ताव गरिएको छ । अर्थात् कागजीरुपमा भन्दा अनलाइनमार्फत आवेदन दिंदा सस्तो पर्नेछ ।

कामदार भिसा एचवानबीको लोटरीका लागि अनलाइन रजिट्रेशन शुल्क १० डलर रहदै आएकोमा त्यसलाई बढाएर २१५ डलर बनाउने प्रस्ताव गरिएको छ । एचटुएका लागि आई १२९ आवेदनमा ४६० बाट बढाएर १०९०, एचटुबीका लागि १२९ आवेदनमा ४६० बाट बढाएर १०८०, एल भिसाका लागि १२९ आवेदनमा ४६० बाट बढाएर १३८५ र ओ भिसाका लागि १२९ आवेदनमा ४६० बाट बढाएर १०५५ डलर बनाउने प्रस्ताव गरिएको छ ।

वर्क परमिटको आवेदन शुल्क ४१० डलरबाट बढाएर अनलाइनबाट फाइल गर्दा ५५५ र कागजी रुपमा फाइल गर्दा ६५० बनाउने प्रस्ताव गरिएको छ । अहिले लिइदै आएको बायोमेट्रिक शुल्क लिइनेछैन ।

 

कुन आवेदनमा कति शुल्क बढाउने प्रस्ताव गरिएको छ ? हेर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com