अमेरिकामा एसाइलम स्वीकृत पछि एकबर्ष नपुग्दै दिएका ग्रिनकार्ड आवेदन युएससीआईएसबाट स्वीकार


प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार

अमेरिकामा एसाइलम स्वीकृत पछि एकबर्ष नपुग्दै दिएका ग्रिनकार्ड आवेदन युएससीआईएसबाट स्वीकार गरिएको नेपाली सेवाग्राहीहरुले जानकारी दिएका छन् । फेब्रुअरीमा युएससीआईएसले ल्याएको नयाँ नीति अनुशार ती आवेदनहरु स्वीकार गरिएका हुन् । विगतमा सामान्यतया एसाइलम स्वीकृत भएको ११ महिनापछि फाइल गरिएका ग्रिनकार्ड आवेदन युएससीआईएसले स्वीकार गर्दै आएतापनि गत महिनादेखि एसाइलम स्वीकृत भएलगत्तै फाइल गरिएका ग्रिनकार्ड आवेदन पनि स्वीकार गर्न थालेको छ ।

एसाइलम स्वीकृत भएको एकबर्ष अगाडि नै सेवाग्राहीहरुले फाइल गरेका ग्रिनकार्ड आवेदन आई ४८५ युएससीआईएसले स्वीकार गरेर रिसिप्ट पठाएको अध्यागमन सहायता सेवा प्रदान गर्दै आएका लुम्बिनी वर्ल्डवाइड इन्क न्युयोर्कका स्वतन्त्र पारालिगल मनमोहन सिंह घिमिरेले जानकारी दिए । घिमिरेले भने -‘फाइल गर्नेहरु एसाइलम स्वीकृत भएको ६ महिना पूरा भएकाहरु थिए । उनीहरु सबैको आवेदन युएससीआईएसले स्वीकार गरेर रिसिप्ट पठाइसकेको छ । साथै उनीहरुको बायोमेट्रिक समेत पूरानै प्रयोग गर्ने भन्दै बायोमेट्रिक अप्वाइन्टमेन्ट समेत आवश्यक नभएको जानकारी दिएको छ ।’

अध्यागमन सहायता सेवा प्रदान गर्दै आएका लुम्बिनी वर्ल्डवाइड इन्क न्युयोर्कका स्वतन्त्र पारालिगल मनमोहन सिंह घिमिरे

फेब्रुअरी २ मा युएससीआईएसले अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुका सन्दर्भमा १ बर्षको आवासीय निरन्तरताको सन्दर्भमा तत्कालैदेखि लागु हुनेगरी युएससीआईएसले नीति निर्देशिका अपडेट गरेको थियो । उक्त अपडेट अनुशार अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुका सन्दर्भमा एकबर्षसम्म अमेरिकामा आवासीय निरन्तरताको गणना उनीहरुले ग्रिनकार्ड आवेदन फाइल गर्नुभन्दा अगाडिको समयको नभई ग्रिनकार्ड आवेदनमा युएससीआईएसले निर्णय गर्नुभन्दा अगाडिको समय गणना गरिने युएससीआईएसले प्रष्ट पारेको थियो ।

के अब एसाइलम स्वीकृत भएलगत्तै ग्रिनकार्डका लागि आवेदन दिन मिल्छ ?

युएससीआईएसको नीति निर्देशिका अपडेटपछि यसैविषयमा अन्यौल उत्पन्न भएको थियो । यसबारेमा कानुन व्यवसायीहरुको पनि फरक फरक धारणा आएको थियो । कतिपयले ६ महिनापछि आवेदन दिंदा सुरक्षित हुने तर कतिपयले एकबर्ष पुग्ने बेलामा नै आवेदन दिंदा बढी सुरक्षित हुने धारणा राखेका थिए । खासगरी युएससीआईएसले आवेदनबारे तत्कालै निर्णय गरेको खण्डमा जोखिम उत्पन्न हुनसक्नेबारे कानुन व्यवसायीहरुले धारणा राखेका थिए ।

यसबारे खसोखासले युएससीआईएसका प्रवक्ता क्याथरिन टिकचेकलाई सोधेको थियो । युएससीआईएसका प्रवक्ताका अनुशार अब एसाइलम स्वीकृत भए लगत्तै वा शरणार्थीका रुपमा अमेरिका प्रवेश गरे लगत्तै ग्रिनकार्डका लागि आवेदन दिंदा कुनै समस्या हुनेछैन । अर्थात् एसाएइलम स्वीकृत भए लगत्तै ग्रिनकार्डका लागि आवेदन दिएको खण्डमा आवेदकलाई दण्डित गरिनेछैन ।

त्यही आधारमा उसको आवेदन अस्वीकृत पनि हुनेछैन । स्पष्ट शब्दमा भन्दा यदि तपाईको एसाइलम स्वीकृत भएको छ भने तपाईले भोलिपल्ट, २ महिनपछि, ६ महिनापछि, ८ महिनापछि जहिले पनि ग्रिनकार्डका लागि आपेदन दिन सक्नुहुनेछ । यसरी आवेदन दिएको आधारमा अमेरिकी नागरिकता लिने बेलामा पनि आवेदकलाई दण्डित गरिनेछैन ।

तर याद गर्नुहोस्, तपाईको ग्रिनकार्डबारेको आवेदनको निर्णय भने अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि वा शरणार्थीका रुपमा प्रवेश गरिसकेपछि आवासीय निरन्तरताको एकबर्ष पूरा नभएसम्म हुनेछैन । अर्थात् एसाइलम स्वीकृत भएको भोलिपल्टै तपाईले ग्रिनकार्डको आवेदन दिएपनि ग्रिनकार्डबारेको निर्णय भने तपाईको एसाइलम स्वीकृत भएको र आवासीय निरन्तरताको एकबर्ष पूरा भएको मितिपछिमात्र हुनेछ ।

यदि युएससीआईएसले तपाईको ग्रिनकार्ड आवेदन पहिले नै हेरेमा अस्वीकार गर्छ ?

यदि तपाईले आवासीय निरन्तरताको एक बर्ष पूरा नहुदै दिएको आवेदन युएससीआईएसले तत्कालै हेरेमा वा तपाईको आवेदन हेर्दा एक बर्ष पूरा नभएको खण्डमा तपाईका आवेदन युएससीआईएसले अस्वीकृत नगर्ने प्रवक्ता क्याथरिन टिकचेकले खसोखासलाई जानकारी दिइन् । उनले भनिन् ( ुयदि आवेदकले एक वर्ष अघि ग्रिनकार्डका लागि आवेदन फाइल गर्छ र युएससीआईएसले स्वीकार गर्छ भने युएससीआईएसले एसाइलम स्वीकृत भएको एक वर्ष पूरा नभएसम्म आवेदन होल्ड गर्नेछ ।ु

अर्थात् युएससीआईएसले एकबर्ष पूरा नभएका आवेदनको पालो आएको खण्डमा पनि त्यसलाई सिधै अस्वीकृत गर्नेछैन । एसाइलम स्वीकृत भएको एकबर्षको अवधि पूरा नहुन्जेलसम्मका लागि होल्ड गर्नेछ । र त्यसपछि ग्रिनकार्ड आवेदनबारे निर्णय गर्नेछ । यस आधारमा आवेदकले एसाइलम स्वीकृत हुने बित्तिकै ग्रिनकार्ड फाइल गर्दा पहिले नै आफ्नो आवेदनको पालो आयो भने अस्वीकृत होला कि भनेर चिन्तित हुनुपर्ने छैन ।

प्रवक्ता टिकचेकले यसबारे खसोखासलाई थप स्पष्ट पार्दै भनिन् ( ुएसाइलम स्वीकृत भएको वा शरणार्थीका रुपमा प्रवेश गरेको एक बर्ष पूरा भइसकेपछि युएससआईएसले आवेदनबारे निर्णय गर्ने क्रममा युएससीआईएसले शरणार्थी वा एसाइली अमेरिकामा भौतिक रूपमा अमेरिकामा उपस्थित भएको समयको मात्रा निर्धारण गर्नेछ।ु

ग्रिनकार्डबारे निर्णय गर्ने बेलासम्म १ बर्षको भौतिक उपस्थीति पूरा भएको छ र अन्य मापदण्डहरु पूरा भएको छ भने ग्रिनकार्ड स्वीकृत हुनेछ । यसर्थ ग्रिनकार्ड स्वीकृत हुने अवधिभन्दा अगाडि एकबर्ष अमेरिकामा भौतिक उपस्थीति भने अनिवार्य हुनुपर्छ । तर यो एकबर्ष निरन्तर हुन आवश्यक छैन । यदि कोही शरणार्थी अमेरिका आईसकेपछि वा एसाइली एसाइलम स्वीकृत भइसकेपछि ३ महिना अमेरिकाबाहिर यात्रा गरेर छ तर ग्रिनकार्डबारे निर्णय हुँदा अमेरिकाको कुल बसाई १२ महिना पूरा भएको छ भने त्यस्ता आवेदकलाई कुनै समस्या हुनेछैन ।

यदि युएससीआइएएसले एकबर्ष बसेको निर्धारण गर्न नसके के हुन्छ ?

यदि हामीले फारम आई ४८५ को निर्णय गर्दा आवेदकले आफ्नो फाइल वा हाम्रो रेकर्डहरू समीक्षा गरेर एक वर्षको भौतिक उपस्थिति आवश्यकता पूरा गर्छ कि भनेर निर्धारण गर्न नसकेमा हामी थप प्रमाणहरू अनुरोध गर्न सक्छौं। प्रवक्ता टिकचेकले बताइन् ।

यस अवस्थामा आवेदकले आफू अमेरिकामा कुन कुन मितिदेखि कुनकुन मितिसम्म बसेको छ र कसरी एकबर्ष पूरा बसेको छ भन्ने उपयुक्त प्रमाण युएससीआईएसमा बुझाउनुपर्छ । उक्त प्रमाणबारे सन्तुष्ट भइसकेपछि युएससीआईएसले ग्रिनकार्ड आवेदनबारे निर्णय गर्नेछ । ग्रिनकार्ड आवेदनबारे निर्णय गर्ने बेलासम्म आवेदकको एसाइलम स्वीकृत भएको एकबर्ष नाघेपछि पनि अमेरिकामा एकबर्ष निरन्तर बसेको छैन भने चाँही समस्या हुनसक्छ । वा ग्रिनकार्ड अस्वीकृत पनि हुनसक्छ ।

अर्थात् एसाइलम स्वीकृत भएको एकबर्ष पूरा नहुदासम्म युएससीआईएसले आवेदन होल्ड गरेपनि भौतिक उपस्थीतिको गणनाका सन्दर्भमा युएससीआईएसले आवेदन होल्ड गर्नेछैन ।

पेन्डिङ आवेदनका सन्दर्भमा के हुन्छ ?

फेब्रुअरी २ मा पेन्डिङ आवेदनहरू र त्यो मिति वा त्यसपछि दायर गरिएका सबै आवेदनहरूका सन्दर्भमा यो नियम लागु हुन्छ । यस अपडेटले एसाइलम स्वीकृत भएका र शरणार्थीहरुको ग्रिनकार्डको समायोजनमा स्थिरतालाई बढावा दिने युएससीआईएसको भनाई छ ।

यो अपडेटले अध्यागमन लाभहरूमा पहुँचमा बाधा पुर्‍याउने अवरोधहरू हटाउन राष्ट्रपति बाइडेनले दिएको कार्यकारी आदेश १४०१२ सँग नीतिलाई राम्रोसँग पङ्क्तिबद्ध गर्ने युएससीआईएसको भनाई छ ।

अहिले ग्रिनकार्डबारे निर्णय हुन कति समय लाग्छ ?

कोरोना महामारीपछि एसाइलममा आधारित ग्रिनकार्डबारे निर्णय गर्न युएससीआईएसले अत्यन्तै लामो समय लगाउने गरेको छ । नेब्रास्का सर्भिस सेन्टरमा एसाइलममा आधारित ग्रिनकार्डबारे निर्णय हुन औषतमा ३७ महिनासम्म लाग्ने गरेको छ । अर्थात् युएससीआईएसले ८० प्रतिशत आवेदनहरु ३७ महिनाभित्र निर्णय गर्ने गरेको छ ।

त्यस्तै टेक्सास सर्भिस सेन्टरमा एसाइलममा आधारित ग्रिनकार्डबारे निर्णय हुन औषतमा साढे ३६ महिना लाग्ने गरेको छ । अर्थात् युएससीआईएसले टेक्सास सर्भिस सेन्टरबाट ८० प्रतिशत आवेदनहरु साढे ३६ महिनाभित्र निर्णय गर्ने गरेको छ । त्यसैले एसाइलम स्वीकृत हुने वित्तिकै ग्रिनकार्डका लागि आवेदन दिएको खण्डमा पनि छिटो निर्णय होला कि भनेर आवेदकहरु चिन्तित हुनुपर्ने अवस्था तत्कालका लागि देखिन्न ।

किन ल्यायो युएससीआईएसले यो नीति ?

यसभन्दा अगाडि एसाइली र शरणार्थीले ग्रिनकार्डका लागि आवेदन दिंदा नै अमेरिकामा १ बर्ष भौतिकरुपमा उपस्थीत भएको मापदण्ड पूरा गर्नुपर्ने थियो । अर्थात् यदि कोही शरणार्थीका रुपमा अमेरिका प्रवेश गरेको वा एसाइलम स्वीकृत भएको एकबर्ष पूरा भएको छ तर उसले विचमा ४ महिना अमेरिकाबाहिर यात्रा गरेको छ भने उसले एसाइलम स्वीकृत भएको १६ महिनापछिमात्र ग्रिनकार्डका लागि आवेदन दिनसक्थ्यो ।

एकातिर यसरी १ बर्षको भौतिक उपस्थीतिको नियमका कारण आवेदन दिनका लागि नै थप महिनाहरु कुनुैपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ग्रिनकार्ड आवेदनमा निर्णय हुन लामो समय लाग्न थालेपछि थप समस्या पैदा भएको थियो । त्यसैले ग्रिनकार्ड आउनुभन्दा अगाडि पनि शरणार्थी वा एसाइलीलाई यात्रा गर्न सहजताका लागि युएससीआईएसले यो नियम ल्याएको हो । अर्थात् कसैले सुरुको एकबर्ष वा त्यसपछिको अवधिमा यात्रा गरेको भएतापनि ग्रिनकार्डबारे निर्णय हुनेबेलासम्म कुल एकबर्ष अमेरिकामा बिताएको खण्डमा कुनै समस्या नहुनेगरी यो नियम आएको हो ।

यस अगाडि यदि कुनै व्यक्ति अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गरेको एकबर्षको अवधिमा केही समयका लागि अमेरिकाबाहिर यात्रा गरेको भएमा उसले ग्रिनकार्डका लागि आवेदन दिन शरणार्थीका रुपमा मान्यता पाएको अवधिको १ बर्ष पूरा भएको मापदण्ड पूरा गर्न त सक्थ्यो तर अमेरिकामा एकबर्ष निरन्तर भौतिक उपस्थीति भएको मापदण्ड पूरा गर्नभने सक्दैनथ्यो ।

यस्तो अवस्थामा अमेरिकामा शरणार्थीका रुपमा आएको व्यक्तिले ग्रिनकार्डका लागि आवेदन दिन शरणार्थीको मान्यता पाएको एकबर्ष हुनुपर्ने प्रावधानलाई त सहजै पालना हुन्थ्यो । तर ग्रिनकार्ड पाउनका लागि आवेदन दिनुभन्दा अगाडि एकबर्ष अमेरिकामा नै भौतिक रुपमा उपस्थीत हुनुपर्ने आवश्यकतालाई पूरा गर्न असमर्थ हुन्थ्यो । यसैलाई सम्बोधन गर्नका लागि युएससीआईएसले आवेदन दिनु अगाडि भौतिक रुपमा एकबर्ष उपस्थीत हुनुपर्ने प्रावधान हटाएर आवेदनबारे निर्णय हुनु अगाडि एकबर्षदेखि भौतिक रुपमा उपस्थीत भएको हुनुपर्ने प्रावधान लागु गरेको जनाएको छ ।

नागरिकता आवेदन दिने बेलामा के हुन्छ ?

एसाइलम स्वीकृत भए लगत्तै वा शरणार्थीका रुपमा अमेरिका प्रवेश गरे लगत्तै ग्रिनकार्डका लागि आवेदन दिएको आधारमा नागरिकता लिने बेलामा दण्डित नगरिनेगरी युएससीआईएसले नीति अपडेट गरेको छ । यस अगाडि एकबर्षको भौतिक उपस्थीति पूरा नहुदै कसैले ग्रिनकार्ड आवेदन दिएर ग्रिनकार्ड प्राप्त गरेको भएमा युएससीआईएसले नागरिकता लिनेबेलामा रोक्न सक्ने वा दण्डित गर्नसक्ने प्रावधान रहेकोमा अब यो प्रावधान हटाइएको छ ।

अर्थात् एकबर्ष पूरा नहुदै दिइएका ग्रिनकार्ड आवेदनका सन्दर्भमा नागरिकता लिने बेलामा पनि कुनै समस्या हुनेछैन । अग्रिम आवेदनका आधारमा प्राप्त ग्रिनकार्डवाहकले सहजै नागरिकताको आवेदन दिनसक्ने र प्राप्तगर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com