अमेरिकाबाहिर रहेको बेला ग्रिनकार्ड हराए वा एक्सपायर भएमा चाल्नुपर्ने कदम


प्रकाशित मिति : फाल्गुन २४, २०७९ बुधबार

यदि तपाई अमेरिकाबाहिर रहेको बेलामा नै तपाईको ग्रिनकार्ड हराएमा, नष्ट भएमा वा चोरी भएमा तपाईले आई १३१ ए फर्म भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स वा अन्य यात्राका साधनहरुले ग्रिनकार्ड हराएको व्यक्तिलाई पनि यात्राको अनुमति दिने भएकाले यसलाई क्यारिअर डकुमेन्ट समेत भनिन्छ ।

यो डकुमेन्टसहित अमेरिकामा आउने व्यक्तिलाई चढाएवापत एयरलाइन्स वा यात्राका साधनका तर्फबाट अमेरिकी सरकारलाई जरिवाना तिर्नु पर्दैन । यदि अमेरिकाबाहिर एकबर्षभन्दा कम अवधिका लागि रहेको र त्यही बेलामा ग्रिनकार्ड हराएको वा चोरिएको वा क्षति भएको भएमा यो आवेदन दिन सकिन्छ ।

एक्सपायर भएको ग्रिनकार्डमा अमेरिका आउन को पाउँछ ?

यदि तपाईको ग्रिनकार्ड अमेरिकाबाहिर रहेको अवस्थामा एक्सपायर भएको छ र तपाईले अमेरिका छाडेको एकबर्ष नाघेको छैन भने पनि तपाईले आई १३१ ए का लागि आवेदन दिनु पर्दैन । तपाईले अमेरिका छाडेको एकबर्ष पूरा भएको छैन र तपाईको ग्रिनकार्ड पूरै १० बर्षको म्याद सहित जारी भएको थियो भने तपाई एक्सपायर भएको ग्रिनकार्डमा पनि अमेरिका आउन सक्नुहुनेछ ।

सामान्यतया अमेरिका आउनका लागि म्याद नसकिएको ग्रिनकार्ड हुनुपर्ने नियम रहेपनि सीबीपीले १० बर्षको म्याद सहित जारी भएको ग्रिनकार्डबाहक अमेरिकाबाहिर बसेको एकबर्ष पूरा नभएको अवस्थामा ग्रिनकार्डको म्याद सकिएमा त्यस्ता व्यक्तिलाई म्याद सकिएको ग्रिनकार्डमै एयरलाइन्सहरुलाई विमानमा चढाउन र अमेरिकामा आउनमा अनुमति प्रदान गर्दछ ।

त्यस्तै कसैको दुईबर्षकोमात्र ग्रिनकार्ड छ तर अमेरिकाबाहिर रहेको अवस्थामा एक्सपायर भएको छ र अमेरिका छाडेको एकबर्ष नाघेको छैन भने त्यस्तो व्यक्तिले दुईबर्षे ग्रिनकार्डको शर्त हटाउनका लागि फर्म आई ७५१ वा फर्म आई ८२९ फाइल गरेको आधारमा नोटिस अफ एक्सन फर्म आई ७९७ प्राप्त गरेको छ भनेमात्र अमेरिका आउन पाउँछ । नोटिस अफ एक्सन फर्म आई ७९७ देखाएको खण्डमा एक्सपायर भएको दुईबर्षे ग्रिनकार्डसहित पनि अमेरिका छाडेको एकबर्ष ननाघेको व्यक्ति अन्य कुनै ट्राभल डकुमेन्ट विना अमेरिका आउन पाउँछ ।

अमेरिकी सरकारको कर्मचारी वा सेनाको सदस्य ग्रिनकार्डवाहक सरकारी कामको शिलशिलामा अमेरिकाबाहिर रहेको खण्डमा ग्रिनकार्ड एक्सापयर भएको खण्डमा जति सुकै समय भएको भएतापनि एक्सपायर भएको ग्रिनकार्डमा नै अमेरिका आउन पाउँछ । त्यसका लागि अमेरिका छाडेको एकबर्ष पूरा नभएको शर्त लागु हुँदैन । त्यस्तै उनीहरुका डिपेण्डेण्ट पनि एक्सपायर भएको ग्रिनकार्डमा अमेरिका आउन पाउँछन् ।

तर यदि एयरलाइन्सले एक्सपायर भएको ग्रिनकार्ड भएकाहरुलाई ट्राभल डकुमेन्ट विना चढाउन नमानेको खण्डमा भने ट्राभल डकुमेन्टका लागि आई १३१ ए फर्म भर्नुपर्छ ।

त्यस्तै यदि तपाई ग्रिनकार्डवाहक वा आप्रवासी भिसा वाहक हुनुहुन्छ तर अमेरिबाहिर रहेको अवस्थामा तपाईको बच्चा जन्मियो भने र तपाईको बच्चा दुईबर्षपूरा नहुँदै तपाईसँगै अमेरिका आउँदैछ भने तपाईले आई १३१ ए आवेदन दिनुपर्ने हुनसक्छ । यदि एयरलाइन्सले विना ट्राभल डकुमेन्ट तपाईको बच्चालाई विमानमा चढ्न अनुमति दिएको खण्डमा भने तपाईले आई १३१ ए आवेदन दिनुपर्दैन । त्यसका लागि तपाईले यात्राको योजना बनाउनु अगाडि एयरलाइन्समा सम्पर्क गर्नुपर्छ ।

आवेदन कहाँ दिने ?

तपाईले ट्राभल डकुमेन्टका लागि आई १३१ ए आवेदन अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा आफै उपस्थीत भएर दिनुपर्छ । अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा जानुभन्दा अगाडि तपाईले अनलाइनबाटै उक्त आवेदनको शुल्क तिर्नुपर्छ ।

 

यदि तपाई अमेरिकी दूतावास काठमाडौमा आवेदन दिंदै हुनुहुन्छ भने तपाईले सुरुमा अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिनका लागि यो लिंकमा क्लीक गर्नुहोला ।

अहिलेको अवस्थामा तपाईले एकदेखि दुईसाताभित्रै अप्वाइन्टमेन्ट प्राप्त गर्न सक्नुहुनेछ । अप्वाइन्टमेन्ट लिइसकेपछि तपाई उक्त दिन उपस्थीत हुँदा अद्यावधिक पासपोर्ट, भरेको आई १३१ ए फर्म, ग्रिनकार्डको फोटोकपी वा अन्य कुनै प्रमाण, ५७५ डलर शुल्क तिरेको रसिद, ग्रिनकार्ड चोरिएको वा हराएको भएमा त्यसको प्रहरी रिपोर्ट लिएर जानुपर्छ ।

आवेदनको शुल्क ५७५ डलर लाग्छ । शुल्क तिर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

शुल्क तिरिसकेपछि पेमेन्ट कन्फर्मेशन पेज वा शुल्क तिरेको प्रमाणसहित अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा उपस्थीत हुनुपर्छ । तर शुल्क तिर्नु अगाडि आई १३१ ए आवेदन तपाईले नजिकको दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसबाट प्रकृयामा लैजान सक्ने नसक्नेबारे सम्पर्क गरेर सोध्नुपर्छ ।

यदि प्रकृयामा लैजाने बताएको खण्डमा तपाईले फर्म आई १३१ ए डाउनलोड गरेर भर्नुपर्छ ।

फर्म आई १३१ ए डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।

यो फर्म ५ पेज लामो रहेको छ । तर आफै भर्नेहरुका लागि २ पेजमात्र भरे पुग्छ । र भर्नका लागि सरल रहेको छ । नाम, ठेगाना, एलियन नम्बर, सोसल सेक्युरिटी नम्बर, जन्ममिति, अमेरिका छाडेको मिति, अमेरिका फर्कने योजना बनाएको मिति लगायतका विवरणहरु उल्लेख गरेर फर्म भरेपछि हस्ताक्षर अनिवार्य गर्नुपर्छ ।

फर्म भरिसकेपछि हस्ताक्षरसहितको यो फर्म, शुल्क तिरेको रिसिप्ट, सक्कली पासपोर्ट, पासपोर्टको फोटोकपी, ग्रिनकार्डको प्रमाण, अमेरिका छाडेको र फर्कने आइटनरी, ३० दिनभित्र खिचेको पासपोर्ट शैलीको फोटो लिएर अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिस वा दूतावासमा जानुपर्छ ।

आवेदन स्वीकृत गर्नका लागि झण्डै दुईसाताको अवधि लाग्ने बताइन्छ । तर इमर्जेन्सी भएको अवस्थामा भने छिटो पनि स्वीकृत हुनसक्छ । आवेदन स्वीकृत भइसकेपछिमात्र प्राप्त ट्राभल डकुमेन्टसहित यात्रा गर्नुपर्छ ।

एकबर्षभन्दा कम अवधि अमेरिकाबाहिर रहेको बेला रिइन्ट्री परमिट हराएमा

एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बस्ने गरी रिइन्ट्री परमिट लिएर गएको व्यक्तिले अमेरिका छाडेको २ बर्ष ननाघेको अवस्थामा उक्त रिइन्ट्री परमिट हराएको वा चोरिएको वा क्षति भएको भएमा पनि अमेरिका पुन प्रवेशका लागि यो आवेदन दिनुपर्छ । अमेरिका छाडेको मितिदेखि यो आवेदन आई १३१ ए का लागि शुल्कतिरेको मितिसम्म दुईबर्ष पूरा भएको हुनु हुँदैन ।

रिइन्ट्री परमिट हराएकाहरुका सन्दर्भमा अमेरिका छाड्ने बेलामा उनीहरुका साथमा ग्रिनकार्ड भएको हुनुपर्छ । र अमेरिका आइसकेपछि पनि ग्रिनकार्डमा नै रहने निश्चित हुनुपर्छ । यदि कसैले ग्रिनकार्ड त्यागेको छ भने वा सरकारले ग्रिनकार्ड खारेज गरिदिएको छ भने त्यस्ता व्यक्तिले यो आवेदन दिनु हुँदैन ।

श्रोत: युएससीआईएस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com