एमालेका सबै मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा ९एमाले०का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।

नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी हुनुहुन्थ्यो । यसअघि उक्त पार्टीको सचिवालयको आजको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

‘सहमति पालना नभएकाले सरकारबाट बाहिरियौ’

नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले आज बसेको सचिवालय बैठककम सरकारबाट अलग हुने निर्णय गरेको छ ।

पुस १० गते सरकार गठन गर्दा भएको सहमति पालना नभएको जनाउँदै सरकारबाट बाहिरने निर्णय गरेको बैठकपछि आयोजित पत्रकारसम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री समेत रहनु भएका पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले सरकारमा रहेर काम गर्ने सोच रहेपनि प्रधानमन्त्रीबाट एमाले र पार्टीबाट सहभागी मन्त्रीबारे गरिएको पछिल्ला अभिव्यक्ति र व्यवहारले सरकारमा बस्न नसकिएको आरोप लगाउनुभयो ।

सरकार गठन सत्ता पदको बाँडफाँट मात्र नभइ राष्ट्रिय अभिभारासमेत रहेकोले राष्ट्रमा रहेको सामाजिक, राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा गर्नका लागि वर्तमान सरकारमा सहभागी भएको उहाँको भनाइ रहेको थियो । सरकारलाई सफल बनाउन सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम सत्तारुढ दलकै सहमतिमा सार्वजनिक गरेका उल्ल्ोख गर्दै उहाँले भन्नुभयो, “सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई ग्रहण गरेर अगाडि बढाएको थियो । हामी चाहान्थ्यौ त्यो नीतिगत प्राथमिकता प्रभावकारी रुपमा कार्यान्वयन होस् र सरकार गठनका निम्ति खासगरी पुस १० दुई दलबीचमा भएको सहमति अनुसार नै अघि बढ्छ भन्ने लागेको थियो, तर घटनाक्रम त्यस अनुसार अगाडि बढेन ।”

गत पुस १० गते प्रधानमन्त्री दाहालको नेतृत्वमा गठन भएको सरकारमा एमाले सहभागी थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारबाट बाहिरिने निर्णय गर्दै प्रधामन्त्री पुष्पकमल ‘दाहाल प्रचण्ड’ लाई राजीनामा बुझाइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com