प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय दुई महिनामा खाली


प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हाली रहेका छन् ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

वन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिनादेखि रिक्त हुँदै आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

आइतबार राप्रपाका मन्त्रीहरुले राजीनामा दिएपछि उर्जा, जलस्रोत, सहरी विकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।

राप्रपाका मन्त्रीहरुका राजीनामा स्वीकृत भएसँगै दुई महिनाभित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com