८६ वर्षकी मेरी निरक्षर आमालाई दिइयोस विद्यावारिधि


प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार

मेरो निरक्षर आमालाई विद्यावारिधि दिन संसार भरका विश्वविद्यालयलाई म एकै साथ खुला रुपमा अनुरोध र चुनौति दिन चाहान्छु । जुन बेला जो ब्यबस्था समाज र राष्ट्रमा उपलब्ध छ त्यसैलाई उपयोग गरेर आफुले निरन्तर सिक्दै परिवार र समाजको सबामा दत्त चित्त हुनु नै एक उत्कृष्ट मानवता हो । राणाकालिन समयमा जन्मेर, यातायात, सन्चार जस्ता सेवा सुबिधाबाट बन्चित तात्कालिन समय देखि आजको आधुनिक नेपालसम्म आइपुग्दा मेरो आमाले अपनाएका जीवन जीउने कला (art of living), समर्पण (dedication), आचरण, सहिष्णुता (tolerance) र परिवरर्तनशीलता (growth mindset), र सामजिक योगदानको लागि मेरो आमालाई विद्यावारिधी दिइयोस ।

मेरो आमा स्कुल जानु भएन तर स्कुल शुरु गर्ने उमेरमा मेला पात जानु भयो । उहाँले माया प्रेम गरेर प्रेम पत्र लेख्नु भएन तर उहाँको सानै उमेरमा बिबाह भयो । संस्कार जान्नु भयो तर सांस्कृतिक केन्द्र जानु भएन । ६ छोरा र तीन छोरी जन्माउनु भयो घरमै कुनै प्रशुति गृह जानु भएन । सबै बाल बच्चाहरूलाई घरायसी औषधि मुलो गरेर बचाउनु भयो अस्पताल लानु भएन । बाल बच्चा लाई संस्कार दिनु तर भयो पढाउनु भयो। निरोगी हुनुभयो तर औषधी खानु भएन । दैनिक ब्यायाम गर्नु भयो तर कुनै जिमशाला जानु भएन । आफुले सम्पुर्ण आर्थिक, सामजिक, पारिवारिक, सांस्कृतिक आदि ब्यबहार भयो त्रुटि गर्नु भएन । मेरो आमा निरक्षर हुनुहुन्छ त के भो ? कहिले, किन र के कुरामा काम अड्कियो त्यो सोधियोस । अन्तरवार्ता लिइयोस । पढेका विद्वानको साथमा राखियोस । कुकृत्यमा भ्रष्टाचारमा आमा पछाडि पर्नु होला, किताब पढ्न जान्नु हुने छैन, अक्षर चिन्नु हुने छैन तर तर अन्य कुराको मुल्याङ्कन गरी दिइयोस मेरो आमालाई विद्यावारिधी ।

तपाई शीशु कक्षा देखि १२ पास अनि कलेज र विद्यावारिधि सम्म पढ्न कति वर्ष खर्चिनु भयो ? आफ्नो आमा बुबालाई काममा लगाएर, स्कुल सम्म लेजान र ल्याउन लगाएर, फि तिर्न लगाएर, राज्यको निःशुल्क शिक्षाको उपयोग गरेर होइन र तपाईको आजको योग्यता ? अनि तपाईले अहिले सम्म पढेको शिक्षा आफ्नो जीवनमा कति उपयोग गर्नु भयो ? राम्रो काममा त लागाउनु भयो कि सोझा नुमुखा जनतालाई ठग्ने कामामा दुरुपयोग गर्नु भयो ? तपाईले विद्यावारिधि त लिनु भयो तर त्यसपछि परिवार समाज राष्ट्र वा मानव कल्याणमा लगाउनु भयो ? के तपाईमा स्वास्थ्य, जीवन जीउने कला, समर्पण (dedication), आचरण, सहिष्णुता (tolerance) र परिवरर्तनशीलता (growth mindset) छ ? मेरो आमामा जीवन जीउने कला, समर्पण , आचरण, सहिष्णुता र परिवरर्तनशीलता छ । मेरो आमाले कुनै औपचारिक शिक्षा हाँसिल गर्नु भएन राष्ट्र्लाई ऋण लगाइदिनु भएन । मेरो आमामा औपचारिक पढाइ छैन तर विद्यावारिधी गरेर परिवारलाई र राष्ट्रलाई सिकाउनु पर्ने आचरण र लगाउनु पर्ने गुण लगाउनु भएको छ मेरो आमाले त्यसैले मेरो आमालाई विद्यावारिधी दिनोस ।

आज ८६ वर्षको मेरो आमा स्वस्थ्य हुन्हुन्छ । तपाईलाई लाग्ला मेरो आमा स्वस्थ्य हुनुमा आधुनिक स्वास्थ्य विज्ञानको भुमिका होला, नियमित चिकित्सकको परामर्समा हुनुहोला, नियमित पोषण विज्ञको निगरानीमा हुनुहुन्छ होला तर त्यो होइन । उहाको आफ्नै नियमित आहर, ब्यायाम, आत्म अनुशाशन र प्रार्थमिक उपचार विधिको ज्ञान नै उहाको स्वास्थयको रहस्य हो । एउटा २० वर्षको अध्ययन पछि विद्यावारिधि गर्दा सिकेको ज्ञान र सीपलाई उपयोग गर्न नसकेर, खराब आचरण गरेर रोगी भएको हुन्छ तर मेरो आमा आफ्नै अनुभव र आफ्नो समाज र आफ्ना बुबा आमाबाट सिकेको ज्ञान र सिपकै आधरमा स्वस्थ हुनुहुन्छ । उँहा आफ्नो मात्र ख्याल गरेर स्वश्य हुनु भएको हो त? त्यो पनि होइन । उहाँ स्वस्थ र सबल सन्तानहरुको आमा पनि हो । आफु मात्र होइन सन्तान सबल र स्वस्थ हुनु पनि आमा कै ज्ञान र सीपको उपज हो ।

मानिस सुखी र सन्तुष्ट बन्न जीवन जीउने कला हुनु पर्छ । जीव कसरी जीउने , योगी, जोगी, भोगी, रोगी, समाज शाश्त्री, वैज्ञानिक, ब्यापारी, धनी गरीब सबैले जीवन जिएकै हुन्छन् । आफु संग भएकोमा सन्तुष्ट हुनु, अरुको डाह नगर्नु, अरुका कुरा नकाट्नु, समाज सँग मिलेर बस्न सक्नु, उदार भाव राख्नु, विहानै उठनु , नियमित काम गर्नु, मान मर्यादा राख्नु पर्ने ठाँउमा मान मर्यादा राख्नु आदि सबै कुराले आफ्नो जीवन शुखी वा दुःखी बनाउछ । मेरो आमा छिमेकमा कसै सँग झगडा गरेको, नमिलेको, अरुको कुरा काटेको मैले देखिन जानिन र हामी सबै सन्तानको लागि पनि सोहि किसिमले दिक्षीत गर्नु भयो । मेरो आमा र मेरा आमा जस्ता अन्य आमाहरूले नै हो परिवार, समाज, राष्ट्र र विश्व शान्ति, अमन चयन र मान्व विकासमा टेवा पुऱ्याउने । त्यसैले यस्तै सबै आमा हरुलाई हौसला प्रदान गर्नकै लागि पनि मेरो आमालाई विद्यावारिधी दिइयोस ।

आमाको बिहे ९ वर्षको उमेर मै भएको हो । जीवनका ९ वर्ष पार गर्दा गर्दा आमाले आफ्ना बुबा आमा दाजु भाइ, फुपु फुपाजु हरूबाट रामायण, महाभारत, सुखसागर, पुराण आदिको ज्ञान प्राप्त गर्नु भयो, नेपाली संस्कार सिक्नु भयो । १५ वर्षको उमेरमा दुरान घरबार गर्न माइतिबाट ससुराली घरमा आउनु भयो । उहाँलाई आफ्नो जीवन मेरो आमा ९ सन्तानको आमा हुनुहुन्छ । ९ सन्तानलाई हुर्काउन, बढाउन र जीवनमा सफल बनाउन उहाँ पूर्ण रुपमा दिलो जान दिएर लागि पर्नु भयो । आजका पढालेखा आमाहरूलाई सन्तानलाई हेर्ने खाना पकाएर ख्वाउने फुर्सद छैन । सन्तानहरू कुलत मा फसेको याद छैन । आमाले आफुले नखाएर पनि खुवाउनु भयो । छोरा छोरीले सफलता प्राप्त गरुन भनेर महिनौं सम्म स्वथानी ब्रत बस्नु भयो । एकादशी उपासना गर्नु भयो । आफुले जानेका कथा सुनाउनु भयो । आफुले खाएर लाएर बचेको मात्र बचाउनु पर्छ भन्ने सिकाउनु भयो । त्यसै कारण सबै सन्तानहरू सबल र सक्षम हुन सके र उहा पनि खुशीले दीर्घ जीवन जीउदै हुनुहुन्छ । त्यसैले आमालाई विद्यावारिधी दिइयोस ।

पढाइलाई कुनै कोरा शिक्षाको रुपमा मात्र नलिइयोस । किताबी ज्ञान र ब्यबहारमा निकै भिन्नता हुन्छ । विद्यावारिधी गर्नेहरूले आफ्नो आचरण, ब्यबहार, समाज सेवा आदि माध्यमबाट पनि आफुलाई सबल र सक्षम साबित गर्नु पर्छ । समाजले पनि कसैको पढाइलाई वा उसले हासिल गरेको शैक्षिक योग्यतालाई मात्र अधिक महत्व नदिई उसले परिवारमा, समाजमा, राष्ट्रमा र समग्र मानव कल्याणको निम्ति खेलेको भुमिकालाई महत्व दिनु पर्छ । विद्यावारिधी गर्नेहरू वा बढालेखाको संख्या दिनानुदिन बढ्दै जाँदा समाज कता जाँदैछ हामीले कुन कुरालाई महत्व दिने भन्ने कुराको हेक्का हुनु जरुरी छ। अनपढ भएपनि हाम्रा आमा बुबा वा जेष्ठ नागरिकहरूको ज्ञान सीप र अनुभव अतुलनीय छ । यसको सम्मान गर्नु र यसबाट लाभ लिनु हामी सबैको हितमा हुन्छ । संसारका सबै सहिष्णु, सदाचार, ज्ञान, सीप र अनुभव हुने तर तात्कालिन समयमा शिक्षाको पहुच नभएका कारण औपचारिक शिक्षा नपाएका अनि परिवर्तनलाई आत्मसाथ गर्ने आमा आमाबुबाहरूको सम्मानको निम्ति मेरो निरक्षर आमालाई विद्यावारिधी दिइयोस ।

डा. मुक्ति अर्याल अमेरिकाको टेक्सास निवासी इन्जिनियर हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com