मोदी र विपक्षी ईण्डिया गठबन्धन: को सबल, को दुर्वल ?


प्रकाशित मिति : पुस ८, २०८० आईतबार

२ कार्यकाल पूरा गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दासमोदीको तेस्रो कार्यकालको लागि परीक्षा हुन अब करीब ३ महिना पनि बाँकी छैन ।

आगामी अप्रिल-मे मा हुनलागेको लोकसभा- २०२४ मा मोदीविरुद्ध २६ दलीय ईण्डिया गठबन्धन (श्रावण ०२, २०८०/ब्याङ्लोर) खडा छ । के अब फेरिपनि भारतमा मोदी प्रधानमन्त्री हुनसक्छन् ? वा काङ्ग्रेस नेतृत्वको ईण्डिया गठबन्धनले मोदीलाई सत्ताबाहिर फाल्दैछ ? चुनाव जित्नलाई रणनीतिक चेष्टा र सबै हत्कण्डा अपनाएका दुबै पक्षको सवल र दुर्वल पक्षको बारेमा समीक्षा गरौं ।

ईण्डिया गठबन्धनका  सवलपक्ष

 ईण्डिया नाम:
देशकै नामबाट समाहित सन्देश दिएको गठबन्धनको नामले राष्ट्रियतासँगै नवीनता पनि दिएको छ । सबैलाई मुखारित (Popular) नामले सम्भवत: यो गठबन्धनलाई सुखद्/राहत दिनसक्छ । यसअघि यो गठबन्धनको नाम संयुक्त प्रगति गठबन्धन/UPA (United Progressive Alliance) थियो ।

गठबन्धनमा थप दल:
२०७५ (२०१९) मा मोदीविरुद्ध १९ दलको गठबन्धन रहेकोमा हाल थप ७ दल पनि समाहित भएर २६ दल भएका छन् । यसले केही न केही मत बढाउने देखिन्छ । अर्थात् झिनोमतले यदि भाजपाले जितेको कुनै सीट भए, अब त्यो गुमाउनुपर्ने देखिन्छ । यदि सोझो हिसाब गर्ने हो भने, गठबन्धन सबैको एकमुष्ठ यसअघि करीब २७% मत आएको थियो भने, ७ दल थपिँदा अब ३९% मत बढ्ने देखिन्छ । साथै विपक्षीहरू छुट्टाछुट्टै लड्दा सबैको मत खेर गएर बीचमा फाईदा पुगेको भाजपालाई अब एकमुष्ठ मत बढी चुनौती र भारी पर्नसक्ने देखिन्छ ।

‘भारत जोडो यात्रा’:
काङ्ग्रेसनेता राहुल गान्धीको भाद्र २२, २०७९ (सेप्टेम्बर ०७, २०२२) मा तमिलनाडुको कन्याकुमारीबाट जम्मु-कश्मीरको श्रीनगरसम्मको १३६ दिने (करीब ३,४०० किलोमीटर) पैदलयात्राले जनतामाझ विपक्षीलाई साक्षात्कार गराएको छ । यो यात्रामा १२ राज्य र २ केन्द्र शासित राज्यका ७५ जिल्लाका जनतालाई ताजकीकरण गर्न सफल भएको छ । फलस्वरूप कर्णाटकलगायत तेलङ्गाना, हीमाञ्चल राज्यमा काङ्ग्रेसले बहुमत ल्याएको थियो । भाजपाले पनि लालकृष्ण आड्वाणी नेतृत्वमा २०४१ (१९८४) सालमा यस्तै किसिमको रथयात्रा गर्दा चुनावमा फाईदा पुगेको थियो ।

ईण्डिया गठबन्धनका दुर्वलपक्ष

प्रधानमन्त्रीमा धेरै आकांक्षी हुनु र प्रधानमन्त्रीको सर्वसम्मत उमेद्वार नहुनु:
यो गठबन्धनमा प्रधानमन्त्री बन्न धेरै आकांक्षी छन् । मुख्यगरी काङ्ग्रेसनेता • राहुल गान्धी, • कमलनाथ, काङ्ग्रेसाध्यक्ष • मालिकार्जुन खड्गे, मुख्यमन्त्रीहरूमा पश्चिमबङ्गालकी • ममता बनर्जी, दिल्लीका • अरविन्द केजरीवाल, विहारका • नीतिशकुमार यादव, पञ्जाबका • भगवान्त मन, तमिलनाडुका • मुथुवेल करूणानिधि स्टालिन, झारखण्डका • हेमन्त सोरेण तथा कर्णाटकका • सिद्दरामेह छन् ।
पहिलोकुरा विपक्षीनेताहरू सबैको प्रधानमन्त्री बन्ने महत्त्वकांक्षा हुँदा भित्रभित्रै प्रतिष्पर्धा हुने एवम् अन्तर्घात हुने सम्भावना अधिक रहन्छ । दोस्रोकुरा जनतालाई प्रधानमन्त्रीको साझा उमेद्वार देखाउन नसक्नुले जनताको विश्वास लिन गाह्रो हुने सम्भावना छ ।

 परिवारवादलाई प्रोत्साहन:
विपक्षीहरूमा परिवारभित्रैका उत्तराधिकारी बनाएको प्रचुर प्रमाण र आरोप छ । काङ्ग्रेसमा गान्धी परिवारको प्राईभेट कम्पनी बनाएको एवम् गान्धी विरासतले जनतामा वितृष्णा छ । गान्धीपरिवारमा जवाहरलाल नेरू, उनकी छोरी ईन्दिरा गान्धी त्यसपछि श्रीमान् फीरोज गान्धी, छोरा राजीव गान्धी, फेरि उनकी पनि श्रीमती सोनिया गान्धी र छोरो राहुल गान्धी पालैपालो काङ्ग्रेसाध्यक्ष, छोरी प्रियङ्का गान्धी पार्टीको महासचिव ईत्यादी । त्यस्तै विहारको राष्ट्रिय जनत दल (राजद) मा लालुप्रसाद यादवले श्रीमती राब्रीदेवी र छोराहरू तेजप्रताप र तेजस्वी एवम् छिरी मीशा भारतीलाई उत्तराधिकारी/लाभान्वित बनाएको । त्यस्तै जम्मु-कश्मीरमा शैख अब्दुल्लाह, उनकी श्रीमती बेगम अब्दुल्लाह, छोरा फरूख अब्दुल्लाह, नाति र नातिनीबुहारी ओमर-सचिण । उत्तरप्रदेशको समाजावादीमा मुलायनसिंह यादवको छोरा अखिलेश यादव पार्टीप्रमुख छन्, बुहारी डिम्पल यादव पूर्वसांसद् हुन् । पश्चिमबङ्गालमा ममता बनर्जी र अभिषेक बनर्जी पारिवारिक लाभान्वित व्यक्ति हुन् ।

पदलुप्त र तरल संयोजन:
गठबन्धनमा सम्मीलित दलका नेता यति धेरै पदलुप्त र तरल छन् कि, कुनै पनि बेला समीकरण परिवर्तन गर्न सक्छन् । विहारका मुख्यमन्त्री नीतिशकुमार यादवले त कहिले काङ्ग्रेससँग त कहिले भाजपासँग गठबन्धन गरेको नजीर छ । अर्थात् फाईदा जता उतै मुसुक्क हुने उनको पहिचान बनेको छ । फेरि विपक्षीहरूबीच फाईदा र घाटाको मनासिब हेरी हरेक राज्यमा आन्तरिक द्वन्द्व र प्रतिष्पर्धासमेत रहेको देखिन्छ ।

 

मोदीपक्षका सवलपक्ष

नरेन्द्र मोदी:
भारतको राजनीतिज्ञहरूको इतिहासमा सबैभन्दा चर्चित र लोकप्रियनेता नरेन्द्रदामोदर दासमोदी हुन् । भारतीयराजनीतिमा यतिबेला सबैभन्दा धेरै बिक्ने अनुहार मोदीअनुहार हो । भारतमा एक मोदी बाँकी सबै दलको लागि भारी परेको छ । मोदीको करिश्माले परम्परागत पार्टीका गढ भत्काउँदै गएको छ । उनको अनुहार देखाएर भर्खरै सम्पन्न भएका विधानसभा निर्वाचनमा राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाले प्रचण्ड बहुमत ल्याएको छ । त्यस्तै २०७० (२०१४) र २०७५ (२०१९) मा मोदी एक्लैले क्रमश: ५४३ मध्ये २८२ र ३०३ सीट ल्याउन सफल भएका थिए । ८१% हिन्दुमतदातालाई आकर्षित गर्न सफल मोदी आफैं पनि एक साधक हुन् । भारतमा मोदीको १० वर्षे कार्यकालमा भएका कामहरू जनताले मनपराएको बुझिन्छ । फेरि यस पक्षमा प्रधानमन्त्रीको दाबेदार र आकांक्षीहरू नभएको हुँदा, एकसूत्रीय मोदीमात्रै प्रधानमन्त्रीको अग्रस्थानमा छन् ।

सामाजिक मनोविज्ञान र व्यवस्थापकीय चुस्तता
समाजमा खपत हुने नारा र जनताको मनोविज्ञानमा खेल्नसक्ने व्यवस्थापकीय गुण भाजपा र त्यसका टीममा भेटिन्छ । भारतमा ‘चाणक्य’ उप-नामले परिचित अमीत शाह, नितिन गड्करीसहितको समूहमात्रै नभएर भाजपाको लागि अहोरात्र खट्ने राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) मोदीको लागि कोशेढुङ्गा हो ।

त्यस्तै चुनावलक्षित सामाजिकसञ्जालको प्रचुर सदुपयोग र व्यवस्थापन प्राविधिकपक्षको सबैभन्दा राम्रो ढङ्ग पुर्‍याउँदै आएको देखिन्छ ।

आर्थिकवृद्धि र अन्तर्राष्ट्रियमञ्चमा भारतको बढोत्तरी
मोदी प्रधानमन्त्री भएपछि भारतको समग्र सुचकाङ्क र तागतमा वृद्धि भएको छ । अन्तर्राष्ट्रियमञ्चमा भारतको उपस्थिति जबर्जस्त बलियो भएको छ । भारतले उठान गरेको मुद्दा विश्वसमुदायले सुन्नथालेका छन् । त्यसलाई अन्तर्राष्ट्रियमुद्दाको रूपमा स्थापित गराउन थालेका छन् । सामरिक रूपमा विश्वको चौथोशक्ति बनेको छ । आर्थिक रूपमा पनि विश्वको पाँचौं ठूलोअर्थतन्त्र बन्न सफल छ । मोदीको आगमनपूर्व १ शय १२ लाख करोड (भारु) रहेको कुल गार्हस्त उत्पादन (GDP) मोदीको सत्तारोहणपश्चात् २ शय ७२ लाख करोड (भारु) मा पुगेको छ । छिट्टै नै विश्वको तेस्रो अर्थतन्त्र बन्ने लयमा छ । यसले भाजपा नेतृत्वको सरकारले जस लिने हुँदा, चुनावमा फाईदा पुग्ने देखिन्छ ।

मोदीपक्षका दुर्वलपक्ष

काङ्ग्रेसमुक्त भारत नारा, काङ्ग्रेसयुक्त भाजपा व्यवहार
मोदीले सत्तारोहणसँगै एक नारालाई सबैभन्दा बढी उछालेका थिए, ‘काङ्ग्रेसमुक्त भारत’ बनाउने । तर, व्यवहारमा ‘काङ्ग्रेसयुक्त भाजपा’ बन्दै गएको छ । काङ्ग्रेसलगायत पूरानादलको विसङ्गतिलाई आक्रमक ढङ्गले देखाउँदै अघि बढेको भाजपा पनि अन्तत: उही पूरानादलभित्रका विसङ्गतिलाई भित्र्याउन थालेको छ । भ्रष्टाचारको आरोप र मुद्दा लागेका एवम् सामाजिक/नैतिक पतन भएका कतिपय नेताहरूलाई भाजपाले चुनावीरणनीतिमा भित्र्याएको छ । भन्नलाई काङ्ग्रेस फोहर र विसङ्गतिको डङ्गुर हो भनी, आरोप लगाएपनि त्यही काङ्ग्रेसनेतालाई भित्र्याउँदै टिकट बाँड्दै अनि ‘काङ्ग्रेसयुक्त भाजपा’ बनाउनेतर्फ उद्द्र्त छ । यसले कुनै पनि बेला ठूलोक्षति गराउन सम्भावना अधिक देखिन्छ ।

 सत्ताको अहमता र सहयात्री त्याग:
लगातारको सत्तारोहणपछि भाजपा पनि अहमता देखिनथालेको छनक छ । त्यस्तैगरी बहुमत आउन थालेपछि सहयात्रीदललाई ‘प्रयोगपछि विसर्जन’को नीतिमा अघि बढेको देखिन्छ । भाजपाले महाराष्ट्रमा उद्धव ठाकरेको शिवसेना, विहारमा नीतिशकुमारको जनता दल (संयुक्त)/JDU, तमिलनाडुमा DMK, पञ्जाबमा शिरोमणि अकालीदललाई त्याग्नु प्रत्युत्पादक बन्ने सम्भावना छ ।

 दक्षिणभारतमा निरीहसङ्गठन:
सत्तामा लगातार १० वर्ष बस्दासमेत दक्षिणभारतका तेलङ्गाना, तमिलनाडु, केरला तथा आन्ध्राप्रदेशजस्ता ठूलाराज्यमा सङ्गठन बिस्तार गर्न नसक्नुको उपज भाजपालाई चुनाव जित्न/बहुमत ल्याउन कठिन छ । यी ४ राज्यमा लोकसभाको १०१ सीट छ । यसमा भाजपाको जीत नगण्यमात्रामा मात्रै हुने देखिन्छ । १७ सीट रहेको तेलङ्गानाका २-४ सीट जित्नेबाहेक आन्ध्राप्रदेशको २५, तमिलनाडुको ३९ र केरलाको २० सीटमध्ये सबैमा अपवादबाहेक भाजपा शून्य सीटमा चित्त बुझाउनुपर्ने देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com