नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : एमाले अध्यक्ष ओली


प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिनुभएको हो ।

नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सफल राजनीतिज्ञ हुनुभएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छाँै । हामीले दलीय स्वार्थ हैन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको जित र जनताको हितका लागि तथा संविधानको सफल कार्यान्वयन, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि उम्मेदवारी उठाएका हौँ ।”

उहाँले आफ्नो उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने विश्वास व्यक्त गर्दै हरेक मतदाताले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेजको हैन । आफ्नो प्रतिबद्धता र वचनबद्धताबाट आफूले सार्वजनिक गरेका विषयबाट कोही पनि पछि हट्ने अवस्था हुन्न भन्ने हाम्रो विश्वास छ ।”

यसैगरी उम्मेदवार नेम्वाङले आफूलाई पार्टीले राष्ट्रपति पदका लागि अघि सारेको बताउँदै भन्नुभयो, “म पार्टीको तर्फबाट मात्र नभई सबैको तर्फबाट पार्टीका रुपमा अगाडि आएको छु । जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु ।”

उहाँले प्रतिस्पर्धाका आधारमा आउने परिणामलाई स्वीकार गर्ने उल्लेख गर्दै आफूहरूले स्थापित गरेको प्रणालीअनुसार नै प्रतिस्पर्धा हुन लागेको र प्रतिस्पर्धामा आउने अन्य उम्मेदवारलाई स्वागत छ भन्नुभयो । निर्वाचनमा प्रतिस्पर्धाका लागि स्वस्थ्य आधार र वातावरण तयार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com