अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा


प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार

अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो ।

“संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले केवल न्युज नेटवर्क (सीएनएन) लाई बताउनुभयो । यद्यपि उहाँले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण दिनुभएन ।

यसै साताको प्रारम्भमा अप्रत्यासित रूपमा किएभ पुग्नुभएका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलव्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बताउनुभएको थियो । सहायतामा गोला बारूद तथा युद्ध उपकरण समावेश हुने अपेक्षा गरिएको छ । अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता होइन ।

युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध
युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा एक सय ४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् ।

एक सय ९३ सदस्यीय संयुक्त राष्ट्रसङ्घमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र मालीले मतदान गरेका छन् भने चीन र भारतसहित ३२ देश मतदानमा सहभागी भएनन् । युक्रेनलाई प्राप्त यो समर्थन बाध्यकारी भने होइन । गत अक्टोबरमा रुसले युक्रेनका चार क्षेत्रलाई गाभेको घोषणाको निन्दा गर्न भएको मतदानमा एक सय ४३ देशले भाग लिएका थिए । अर्थात् ती देश युक्रेनको पक्षमा उभिएका थिए ।

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रसङ्घीय महासभाको मतपरिणामले अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्षमा रहेको स्पष्ट भएको बताउनुभएको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मतदानबाट युक्रेनमा संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तअनुरूप युक्रेनको ‘व्यापक, न्यायपूर्ण र दिगो शान्तिको लागि शक्तिशाली आह्वान’ भएको टिप्पणी गर्नुभएको छ ।

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गर्दै ‘ग्लोबल’ साउथ युक्रेनको पक्षमा उभिदैन भन्ने तर्कलाई प्राप्त मतले अस्वीकार गरेको बताउनुभयो । उहाँले सत्य कसको पक्षमा छ भन्ने तथ्य पनि अन्तरराष्ट्रिय समुदायले बुझेको बताउनुभयो ।

महासभामा भारी मतबाट पारित भएको शान्ति प्रस्तावले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको समर्थनलाई पुनः पुष्टि भएको छ भने रुसले कब्जा गरेको युक्रेनी भूभागमा रुसको दाबी अस्वीकृत भएको छ । मतदानले एक वर्षको युद्धपछि विश्व मञ्चमा मस्को निरन्तर एक्लिएको प्रमाणित गरेको छ भने उसलाई तत्काल बिना शर्त आफ्ना सबै सैन्य बल युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाबाट फिर्ताका साथै शत्रुता समाप्त गर्न नैतिक दवाव दिएको छ ।

आफूलाई प्राप्त सीमित समर्थनलाई ख्याल नगरी रुसले सुरक्षा परिषद्मा आफू विरुद्धका बाध्यकारी प्रस्ताव रोक्न आफ्नो भिटो शक्ति प्रयोग गरेको छ । उसले भिटो प्रयोग गरे पनि महासभाले युक्रेन मुद्दालाई उठाएर किएभप्रति विश्वसमर्थन जुटाएको छ ।

जापानका विदशमन्त्री योशिमासा हयाशीले मूर्खतापूर्ण आक्रमक युद्धको दोस्रो वार्षिकी फेरि भेट्न नहुने बताउँदै रुसले तत्काल युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ भने फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनले आजै रुसले युद्ध अन्त्य गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले रुसले थालेको युद्धले राज्यको अस्तित्वलाई जोखिममा पारेको तथा साम्राज्यवादी योजनाको प्रतिनिधित्व गरेकाले त्यो अस्वीकृत भएको बताउनुभयो ।

रुसले पारित प्रस्ताव खारेज गर्दै युक्रेनलाई नवनाजीको संज्ञा दिनुभयो । संयुक्त राष्ट्रसङ्घका लागि रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्ज्याले पश्चिमा राष्ट्रहरूले रुसलाई हराउने उद्देश्यका साथ काम गरिरहेको आरोप लगाउनुभयो । उनीहरू सम्पूर्ण विश्वलाई युद्धको खाडलमा डुबाएर आफ्नो आधिपत्य कायम गर्न   उद्यत रहेका बताउनुभयो ।

मतदानमा भाग नलिएका भारत र चीनले युक्रेनमा रुसी आक्रमणको निन्दा नगरे पनि मस्कोले दिएको आणविक हतियारको धम्कीको विरोध गरेका छन् । मतदान अघि राष्ट्रसङ्घका लागि चीनका उपप्रतिनिधि डाई विङले तटस्थताको अडान लिएर दुवै पक्षलाई युद्ध अन्त्य गर्न र शान्ति वार्ता थाल्न आह्वान गर्नुभयो । उहाँले रुस र युक्रेनबीच तत्काल प्रत्यक्ष शान्तिवार्ता हुनुपर्नेमा जोड दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com