अन्तर्राष्ट्रिय कोदो बर्षको सुरुवातसँगै ३ बर्षपछि न्युयोर्कको ज्याक्सनहाइटमा ‘तोङवा’ सुरु


प्रकाशित मिति : माघ २८, २०७९ शनिबार

अन्तर्राष्ट्रिय कोदो बर्षको सुरुवातसँगै न्युयोर्कको ज्याक्सनहाइटमा ‘तोङवा’ फेरि सुरु भएको छ । ज्याक्सनहाइटमा नेपालीबाट संचालित नेपाली र भारतीय परिकारहरु पाइने रेष्टुरेण्ट दिल्ली हाइट्सको मेनुमा तोङवा फिर्ता भएको हो ।

सन् २०१४ को डिसेम्बरबाट यो रेष्टुरेण्टमा तोङवा बेच्न सुरु गरिएको थियो । तर कोरोना महामारी सुरु हुनुभन्दा ठीक अगाडि नेपालबाट अमेरिकामा कोदो ल्याउन समस्या भएपछि तोङवा बेच्न छाडिएका यसका संचालकले जानकारी दिए । झण्डै ३ बर्षपछि अहिले फेरि तोङवा बेच्न सुरु गरिएको हो ।

नेपालबाट कोदो ल्याउन समस्या भएको र अमेरिकामा कोदो किन्दा निकै महँगो पर्ने भएकाले बीचमा तोङवा बेच्न छाडिएको यसका संचालक बताउँछन् ।  अमेरिकाले आफ्नो अधिकांश कोदो भारत, दक्षिण कोरिया र चीनबाट आयात गर्दछ । अमेरिकामा विश्वमा कोदोको सबैभन्दा ठूलो आयातकर्ता हो।

पहिले परम्परागत रुपमा काठको भाँडामा नै तोङवा बेच्ने गरिन्थ्यो । तर अहिले सफा गर्न सजिलो हुने भाँडामा तोङवा बेच्न थालिएको छ । १८ डलर मूल्य रहेको तोङवामा तीन थर्मससम्म तातो पानी भरेर लिन सकिने रेष्टुरेण्ट संचालकको भनाई छ ।

सन् २०१४ मा दिल्ली हाइट्समा यस्तो भाँडोमा तोङवा उपलब्ध थियो ।

तोङवा काठको भाँडोमा हालेर तातो पानी थप्दै बाँसको नलीले पिउँदै गरिने एक किसिमको कोदोको मदिराजन्य पेय पदार्थ हो । उच्च हिमाली भेकमा तोङवा असाध्यै लोकप्रिय मानिन्छ।

नेपालका लिम्बू समुदायमा तोङबा मौलिक र धार्मिक कारणले निकै महत्त्व मानिन्छ र अन्य जनजातिमा पनि तोङवाको सा‌स्कृतिक महत्त्व रहेको छ। न्युयोर्कमा रहेको यो रेष्टुरेण्टले भने तातो बियरका रुपमा तोङबाको लाइसेन्स प्राप्त गरेको हो ।

परम्परागत तोङवा

राष्ट्रसंघले पनि  सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइरहेको छ । सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गर्ने संयुक्त राष्ट्रसङ्घको महासभाको प्रस्तावको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले गरेको थियो ।

प्रस्तावलाई ७२ देशले समर्थन गरेका थिए । महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा सन् २०२१ को मार्चमा गरेको थियो ।

भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतमा विभिन्न नौ प्रजातिका कोदो उत्पादन गर्दै आएको छ । भारतमा वार्षिक करिब १७ मिलियन टन कोदो उत्पादन हुन्छ । जुन विश्वको कुल उत्पादनको २० प्रतिशत हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com