सभापति लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको पत्रकार महासंघद्वारा निन्दा,दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार रहेकाे महासंघले जनाएकाे छ ।

‘संसद्को चौथो ठूलो दलका सभापति तथा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार हो’, महासंघका महासचिव राेसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघले चिन्तासमेत प्रकट गरेकाे छ । ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ’, विज्ञप्तिमा भनिएकाे छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन ।’

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको ठहर महासंघले गरेकाे छ । ‘लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्दछ । साथै आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ ।

पार्टी कार्यलयमा आयोजित  पत्रकारसम्मेलनमा बोल्दै भनेका थिए, ‘अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म मिडिया हाउस घेर्न आउँछु’, उनले भने, ‘आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईँसँग रिडरहरु छन् होला, मसँग पनि शुभचिन्तकहरु होलान् । तपाईँको पत्रिकामा सस्क्राइबर्सहरु होलान् मेरा पनि सत्कर्मले आर्जन गरेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु खबरदार ।

विज्ञप्तिको पूर्णपाठ :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com