हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

–कमलकुमार बस्नेत/ हिमालय शमशेर जबराको सबैले चिन्ने परिचय नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर हो । तर यतिमा मात्रै उहाँको परिचय सीमित छैन । राणाले नेपालको पहिलो अर्थसचिव हुनुहुन्थ्यो भने कूटनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा नै आफ्नो पहिचान बनाउनुभएको छ । जबराले नेपालको अर्थतन्त्र, समाज, कूटनीतिलगायतका क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउनुभएको छ ।

मुलुकको अर्थतन्त्र र कूटनीतिक क्षेत्रमा पहिचान बनाउनुभएका राणाको ९५ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाबाट पीडित उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पिता जर्नेल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मनुभएका राणाले भारतको बम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको थियो । सन् १९५० मा अर्थमन्त्रालयको सचिवका रुपमा काम सुरु गर्नुभएका जबरा सन् १९५१ मा नेपाल बैंकमा महानिर्देशक हुनुभयो । उहाँले सन् १९५६ मा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका साथै सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर÷प्रोजेक्ट अफिसरका रुपमा काम गर्नुभयो ।

जबराले युएनडिपीमा रहेर सन् १९६४–१९७२ सम्म श्रीलङ्का र अफगानिस्तान, सन् १९७२–१९७७ सम्म म्यानमारमा, सन् १९७७–१९८१ सम्म इन्डोनेसिया र सन् १९८१ देखि १९८६ सम्म पाकिस्तानमा काम गर्नुभएको थियो । साथै उहाँ राष्ट्रिय विकास परिषद् सदस्य, गोर्खा ब्रुअरीको अध्यक्ष, हिमालयन बैंकको संस्थापक तथा अध्यक्ष, नेपाल विद्युत् प्राधिकरणको बोर्ड सदस्य, नेपाल इन्टरनेशनल सेन्टरको अध्यक्ष, निर्धन उत्थान बैंकको अध्यक्ष, देव शमशेर जवरा सन्तति प्रतिष्ठानको कोषाध्यक्ष, नेपाल उद्योग परिसङ्घको सल्लाहकारका साथै विभिन्न सङ्घ तथा संस्थासँग आबद्ध हुनुहुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजनीतिमा प्रवेश

सन् १९४४ मा अध्ययनका लागि भारतको बम्बई पुग्नुभएका जबरालाई त्यहाँ बस्दा राजनीतिप्रति रुचि बढिसकेको थियो । भारतमा महात्मा गान्धीको नेतृत्वमा अङ्ग्रेजविरुद्ध ‘भारत छोडो’ अभियान बढ्दै थियो । बम्बईमा उहाँ छात्रवासमा बस्नुभयो । नेपाल र भारतमा भइरहेको राजनीतिक उथलपुथलका कारण उहाँ राजनीतिमा आकर्षित हुनुभएको थियो ।

जबराले २००५ सालमा प्रजातान्त्रिक कांग्रेसको सदस्यता लिएर २००७ सालसम्म भूमिगत भइ काम गर्नुभयो । भारतमा स्नातककोत्तर तह उत्तीर्ण गरेपछि उहाँ नेपाल फर्किनुभयो । नेपालमा प्रजातन्त्र आइसकेपछि जबरा नेपाल फर्कंनुभएको हो ।

पहिलो अर्थसचिव

नेपाल फर्केपछि जबराको भेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरसँग भयो । प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका निर्वाह गर्नुभएका सुवर्ण धनी पनि हुनुहुन्थ्यो । उहाँलाई अर्थमन्त्रालयमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्ति चाहिएको थियो । तत्कालीन समयमा स्नातकोत्तर उत्तीर्ण गर्ने मुलुकमा जम्मा चार जना हुनुहुन्थ्यो ।

अर्थशास्त्रमा जबरा, लीलाप्रसाद लोहनी र परीक्षितनरसिंह राणा तथा वाणिज्यशास्त्रमा कृष्णराज भण्डारी स्नातकोत्तर उत्तिर्ण गर्नुभएको थियो । उहाँहरु चार जनाले नै २००७ साल फागनुदेखि अर्थमन्त्रालयमा काम गर्न थाल्नुभएको थियो । काम थालेको दुई महिनामा कार्यसम्पादनका आधारमा जबरा अर्थसचिव हुनुभयो । उहाँले प्रथम अर्थसचिवका रुपमा २०१२ सालसम्म काम गर्नुभयो ।

पहिलो बजेट

जबरा अर्थसचिव भएपछि पहिलो पटक बजेट ल्याइएको थियो । तत्कालीन समयमा आम्दानीको स्रोत मालपोत कार्यालयमा आकाशवाणीबाट सन्देश पठाएर आम्दानीको विवरण सङ्कलन गरिएको थियो । पहिलो बजेट सुवर्ण शमशेरसँग मिलेर बनाएपछि उहाँले त्यसपछिका तीन बजेट आफैँले बनाउनुभयो ।

कर फिर्ताको प्रस्ताव

विसं २००८ मा तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा अर्थसचिव जबरा पनि सँगै हुनुहुन्थ्यो । उहाँले भ्रमणका क्रममा भारतीय नेताहरुसमक्ष त्यहाँ उत्पादन भई नेपाल ल्याइने वस्तुमा भारतले पहिले नै कर लिइसकेकाले नेपालीहरु दोहोरो करको मारमा परेको विषय उठान गर्नुभएको थियो । उक्त प्रस्ताव कार्यान्वयन हुन चार वर्ष लाग्यो । फलस्वरुप भारत सरकारले पहिले उठाएको कर रिफन्ड गर्न थाल्यो र नेपालले वार्षिक रू तीन करोड प्राप्त गर्न थाल्यो ।

नेपाल राष्ट्र बैंक स्थापना

तत्कालीन अर्थपरामर्श दाता सरदार गुञ्जमान सिंहले जबरालाई एक दिन याट्खास्थित घरमा बोलाउनुभयो र केन्द्रीय बैंक स्थापना गर्ने योजना सुनाउनुभयो । तत्कालीन राजा महेन्द्र शाहले नेपाल राष्ट्र बैंकको नामले केन्द्रीय बैंक स्थापना गर्ने निर्णय गरिसकेको र बैंकको ऐन मस्यौदा बनाउन र गभर्नरको प्रस्ताव जबरासमक्ष आयो ।

जबराले प्रस्ताव स्वीकार गर्दै भारत, अष्ट्रेलिया, क्यानडालगायत मुलुकमा भएको केन्द्रीय बैंकको ऐन अध्ययन गरी राष्ट्र बैंकको स्थापनाको काम सुरु गर्नुभयो । गभर्नरका रुपमा तलब मासिक आठ सय हुन्थ्यो । तत्कालीन समयमा अर्थ मन्त्रालयको बुँइगलबाट सबै काम हुन्थ्यो । सुरुमा कुर्सी र टेबुल नहुँदा सबै जना गद्दिमा बसेर काम गर्नुपरेको थियो ।

राष्ट्र बैंकको स्थापनापछि गोविन्दप्रसाद लोहनी अनुसन्धान विभाग प्रमुख र रामराज तुलाधर बैंकिङ कार्यालय प्रमुखमा नियुक्त हुनुभएको थियो । सुरुमा हालको विशाल बजार नजिकको एउटा घर भाडामा लिई केन्द्रीय कार्यालय स्थापना गरिएको थियो । बैंकिङ कारोबारका लागि मुलुकीखाना र कौसी तोपखाना उपलब्ध भयो भने नोट विभागका लागि केन्द्रीय कार्यालय नजिकको अर्को घर पनि भाडामा लिइएको थियो ।

नेपाली नोटको चलन र सटही दर

तत्कालीन समयमा तराईमा नेपाली मुद्रा चलनचल्तीमै थिएन । मालपोत र अध्यागमनमा पनि भारतीय मुद्रा नै चल्थ्यो । यस्तो अवस्थामा भारतीय मुद्राको साटो नेपाली नोट चलनचल्तीमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियो । यसका लागि तीन वर्षसम्म जबराले काम गर्नुभयो ।

नेपाली मुद्रा र भारतीय मुद्राको सटही दर स्थिर नहुँदासम्म नेपाली मुद्रा चलनचल्तीमा ल्याउन गाह्रो हुने निष्कर्षपछि जबराको पहलमा इलामदेखि पश्चिमसम्म विभिन्न सटही केन्द्र सुरु गरिएको थियो । तीन वर्षको अध्ययनपछि भारतीय १०० बराबर नेपाली मुद्रा रू १६० कायम हुने गरी सटही दर निर्धारण गर्ने सहमति भयो । जुन आजसम्म पनि कायमै छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com