रिचार्ज पोखरीबाट मुहान रसाएको अवलोकन गर्न फिन्डल्याण्डको टोली काभ्रे नमोबुद्धमा


प्रकाशित मिति : माघ १८, २०७९ बुधबार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे अवलोकन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ । नमोबुद्ध नगरपालिका–२ भागवतेस्थित विभिन्न १३ स्थानमा पोखरी खनेर सञ्चालन गरिएको आयोजना अवलोकन गर्न मङ्गलबार फिन्डल्याण्डस्थित परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेनलगायत २४ सदस्यीय टोली यहाँ आइपुगेको हो ।

पानीका मुहान सुक्दै गएपछि नगरपालिकाले इसिमोड र सिप्रेडको सहयोगमा सो ठाउँमा जमिनलाई रसिलो बनाइराख्न खनिएका रिचार्ज पोखरीमार्फत मुहान संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम अवलोकनका क्रममा राजदूत हेका, निर्देशक किल्युनेनलगायत टोलीका सदस्यले कार्यक्रम लागू भएपछि स्थानीय समुदाय कति लाभान्वित भए भन्नेबारे जानकारी लिएको थियो ।

स्थानीय बासिन्दा अश्विनकुमार श्रेष्ठले भूकम्पपछि सुकेका पानीको स्रोत रिचार्ज पोखरी खनिएपछि पुनःरसाएको बताउनुभयो । अर्का स्थानीयवासी पूर्णमान लामा र लमिनमाया लामाले पानी सुकेर पहिला आकाशे पानीको भरमा खेती गर्दै आइएकामा अहिले पानी जमाएर तरकारी खेती र पशुपालनसमेत गर्न पाएको सुनाउनुभयो ।

आर्थिक वर्ष २०७८-७९ को भदौ–असोजमा पोखरी खनिए पछि जमिन रसाएर मूल फुट्न थालेका छन् । सोही मुहानबाट पानी सङ्कलन गरी ट्याङ्की निर्माण गरेर स्थानीय १३ घरधुरीलाई खानेपानीको व्यवस्था गर्दै आइएको नगर प्रमुख कुनसाङ लामाले बताउनुभयो ।

सीमित स्रोत र साधनका कारण विकासका सबै क्षेत्रमा नगरले काम गर्न सक्ने अवस्था नभएकाले सबै क्षेत्रसँगको सहयोग र सहकार्यमा नगरपालिका अगाडि बढिरहेको उहाँको भनाइ थियो । ट्याङ्कीमा सङ्कलन भएर बढी भएको पानी स्थानीयवासीले सिँचाइका लागि प्रयोग गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस्ता कार्यक्रमले वातावरण सन्तुलन कायम गर्दै उत्पादन बढाउन सहयोगी हुनाका साथै योजना सञ्चालन गर्न थप उत्साह मिलेको उहाँको भनाइ थियो ।

त्यसरी उपयोग गर्दै आएको पानी हिउँदमा भने केही कम सङ्कलन भएको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले बताउनुभयो । सो ठाउँमा सफल परीक्षण भएपछि सोही वडाका अन्य तीन स्थानमासमेत त्यस्ता रिचार्ज पोखरी खनिएको उहाँले जानकारी गरानुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com