अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा)को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो ।

भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका ज्येष्ठ नागरिकलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । विसं २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर्माण सुरु गरिएको भवन सम्पन्न भएको छ ।

भवन निर्माण समितिको संयोजक नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष हरि पोखरेलका अनुसार चारकोठे पक्की भवन बनेको छ । भवनमा देवघाटमा रहेका वृद्धवृद्धाको उपचार सुरु गरिएको छ । विगत पाँच वर्षदेखि नै एउटा कोठा भाडामा लिएर उपचार सेवा दिँदै आएकामा अहिले भवन निर्माण गरी सोही भवनबाट सेवा सुरु गरिएको हो ।

केन्द्रमा चितवन मेडिकल कलेज, भरतपुर अस्पताललगायतबाट चिकित्सक गएर परीक्षण गर्ने गरेका छन् । चिकित्सक स्वतःस्फूर्तरूपमा सहयोग गर्न जाने गरेको पोखरेलले बताउनुभयो । यसैगरी औषधिसमेत निःशुल्क व्यवस्था गरिँदै आएको छ ।

उपचारमा आउने बिरामीको विद्युतीय तथ्याङ्क राख्ने गरिएको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो कार्य गरिएको हो । पोखरेलले भन्नुभयो, “बिरामीको स्वास्थ्य इतिहास, सेवन गरिरहेको औषधिलगायत सबै विषय कम्प्युटरमा राखिन्छ ।” यस्तो तथ्याङ्क अमेरिकामा रहेका चिकित्सकले समेत हेर्न मिल्ने उहाँले जानकारी दिनुभयो ।

केन्द्रसँगै अस्पताल निर्माणको तयारीसमेत गरिएको छ । आश्रमले थप जग्गा उपलब्ध गराउने र बिरामीलाई राखेर उपचार गर्न मिल्ने गरी काम गर्न लागिएको पोखरेल बताउनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com