कहाँ पुगेनन् नेपाली ?
प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार
– मनबहादुर बस्नेत
प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा पर्ने सानो टापु हो, पलाउ । करिब २१ हजार जनसंख्या र १ सय ७७ वर्ग मिटर क्षेत्रफल रहेको यति सानो गणतान्त्रिक मुलुकलाई पाँच वर्षदेखि केही नेपालीले आफ्नो रोजगारीको गन्तव्य बनाएका छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
वैदेशिक रोजगार विभागको अभिलेख अनुसार ०६७ सालदेखि नै यसलाई वैदेशिक आम्दानीको स्रोत बनाएका छन्, नेपालीले । यो राष्ट्रमा १४ जना नेपालीले काम गरिरहेका छन् ।
वैदेशिक रोजगारी भन्नासाथ झट्ट खाडी राष्ट्र, मलेसिया, बहराइन, इजरायल र दक्षिण कोरियाजस्ता देशको चित्र घुम्छ, धेरैको मानसपटलमा । तर, यीबाहेक नेपाली रोजगारका लागि पुगेका यस्ता मुलुकसमेत छन्, जसको नाम प्राय: सुनिँदैन वा प्राकृतिक प्रकोप, खेलकुद, युद्ध र राजनीतिक संकट निम्तिँदा मात्रै ती राष्ट्रका नाम सुनिएका हुन्छन् ।
माथि उल्लिखित पलाउ त्यस्तै देशमध्ये एक प्रतिनिधि राष्ट्र हो, जहाँ नेपालीले आफ्नो भविष्य खोजिरहेका छन् । पलाउमा नेपाली रेस्टुराँ र होटलको कामदारका रूपमा पुगेका हुन् । विभागको अभिलेख हेर्दा लाग्छ, नेपालीले कर्मभूमि नबनाएको देश सायद यो भूगोलमा होला ।
क्यारेबियन राष्ट्रदेखि अफ्रिकी मुलुक र विभिन्न टापुसम्म नेपालीले आफ्नो पसिना बगाइरहेका छन् । “सम्भवत: नेपाली पुगेर पसिना र श्रम नबेचेको देश पाउन अब मुस्किल छ,” विभागका महानिर्देशक विश्वप्रकाश सुवेदी भन्छन् ।
१ सय १० देशमा अनुमति
विभागले १ सय १० देशमा वैदेशिक रोजगारका लागि जाने संस्थागत अनुमति दिएको छ । त्यसबाहेकका मुलुकमा समेत व्यक्तिगत तवरमा रोजगारका लागि विभागको स्वीकृति लिएर जान पाउँछन् । विभागले संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिएका मुलुकमध्ये नेपालले यदाकदा मात्र नाम सुनिने/पढिने ६ दर्जन राष्ट्र छानेको हो । यीमध्ये प्राय: व्यक्तिगत तवरबाट जाने रोजगारदाताको संख्या ठूलो छ । यी सबै अफ्रिकी, क्यारेबियन र टापुका राष्ट्र छन् ।
यी देशमा ०६७ सालयता मात्रै करिब चार हजार नेपाली कार्यरत छन् । साथै, संख्यासमेत क्रमश: बढ्दो छ । आर्थिक वर्ष ०६६/६७ मा ३ सय २६ जना नामै नसुनिएका मुलुकमा रोजगारका लागि पुगेकामा चालू आर्थिक वर्षको नौ महिनामा नै यो संख्या तेब्बरभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष ०७१/७२ को चैत महिनासम्म करिब १ हजार २ सय जना श्रम गर्न त्यस्ता राष्ट्र पुगेका छन् ।
रमाइलो पक्ष के भने वैदेशिक रोजगारका लागि नेपाली पुग्ने पछिल्ला गन्तव्य नेपालजस्तै द्वन्द्व, युद्ध र हिंसाबाट ग्रस्त पृष्ठभूमि भएका मुलुकसमेत छन् । भोकमरीको समस्याबाट ग्रस्त पृष्ठभूमि भएका अफ्रिकी राष्ट्रहरूसमेत नेपालीको रोजगारदाता दरिएका छन्, अहिले ।
खास गरी अफ्रिकी राष्ट्रहरू यस्ता सूचीमा बढी छन् । युगान्डा, कंगो, केन्या, सुडान, दक्षिण सुडान, अंगोला, मोजाम्बिक, माली, रुवान्डा, सोमालिया लामो समय आन्तरिक अस्थिरता र युद्धको चपेटाबाट बिस्तारै निस्किएका मुलुक हुन्, जहाँ नेपाली कामको खोजीमा पुगेका छन् । यीमध्ये सुडान, कंगो, सोमालियामा शान्ति स्थापनार्थ नेपाली सुरक्षाकर्मी संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत खटिन्छन् भने युगान्डा, रुवान्डा, आइभोरी कोस्ट, पूर्वी टिमोर नेपाली सुरक्षाकर्मी मिसनमा गएका मुलुक हुन् ।
अंगोलाको १७ वर्षे युद्धमा तीन लाखले ज्यान गुमाए । सन् २००२ मा शान्ति सम्झौता भएपछि यो देशले तेल खानीबाट आर्थिक प्रगतिको बाटो लिएको हो । मोजाम्बिक १६ वर्षे गृहयुद्ध खेपेको अर्को अफ्रिकी मुलुक हो । पश्चिम अफ्रिकी मुलुक मालीसमेत कुनै समय आन्तरिक विद्रोहमा फसेको थियो । त्यहाँ लामो समय सैनिक तानाशाही कायम थियो । बुरुन्डी जातीय द्वन्द्वको भँगालोमा पसेको अफ्रिकी राष्ट्र हो । जहाँ तीन लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । केन्या जातीय द्वन्द्व र राजनीतिक अस्थिरतायुक्त मुलुक थियो । तर, अहिले केन्याले बिस्तारै आर्थिक उन्नति गर्न थालेको बीबीसीको कन्ट्री प्रोफाइलमा उल्लेख छ ।
रुवान्डा तुत्सी र हुतु जातिबीचको नस्लवादी युद्धको पृष्ठभूमिबाट तंग्रँदै गरेको मुलुक हो । सोमालियासमेत द्वन्द्वग्रस्त मुलुक हो । इस्लामिक विद्रोही समूह सोमालियामा सक्रिय छन् । अलकायदाले समेत यहाँ आफ्नो सैन्य गतिविधि गर्दै आएको छ ।
नाइजेरिया अहिले पनि अस्थिर राजनीति भएको मुलुक हो । बोको हराम र अलकायदाजस्ता अतिवादी समूहले त्यहाँ हिंसा फैलाइरहेका छन् । नाइजेरिया ६० को दशकमा युद्धग्रस्त मुलुक थियो । बीबीसीका अनुसार नाइजेरियाको आधा जनसंख्या गरिबीको रेखामुनि छ । यसरी लामो आन्तरिक तथा बाह्य द्वन्द्वबाट भर्खरै तंगँ्रदै गरेका अफ्रिकी देश नेपालीको नवीन रोजगारको गन्तव्य बन्दै गएको तथ्यांकमा त देखिन्छ तर त्यहाँ उनीहरूको अवस्था कस्तो छ भन्ने राज्यलाई समेत थाहा–पत्तो छैन । विभागका महानिर्देशक सुवेदीको जवाफ अलि गैरजिम्मेवार छ । भन्छन्, “हामीले कामका लागि स्वीकृति दिने मात्रै हो । गएपछि कस्तो अवस्थामा छन् भन्ने जानकारी हुँदैन ।”
कुनैमा एक, कुनैमा तीन
वर्षमा एक वा दुई जनासम्म जाने मुलुकसमेत छन् । बहमास, जमैका, पूर्वी टिमोर, फिजी, माल्टा, लिथवानिया, गाबोनमा बढीमा तीन जनासम्मले बर्सेनि रोजगारको गन्तव्य बनाएका छन् ।
नामै नसुनिएका देश जाने नेपाली होटल, रेस्टुराँ, कृषिमा काम गर्न बढी मात्रामा जाने गरेको विभागका महानिर्देशक सुवेदी बताउँछन् । कतिपय टापु र क्यारेबियन देशमा भने पानीजहाजमा काम गर्नेसमेत छन् । सुवेदी भन्छन्, “धेरैजसो तल्लो स्तरको काममा खटिन्छन् ।”
कमाइका बारेमा भने आफूहरूलाई थाहा नभएको सुवेदी सुनाउँछन् । “साँचो अर्थमा भन्ने हो भने विभागले पासपोर्ट, भिसा र रोजगारका कागजपत्र मात्रै हेरेर जाने अनुमति दिँदै आएको छ,” उनी भन्छन्, “त्यसबाहेक थप अध्ययन र अनुसन्धान केही हुँदैन । उनीहरूको कमाइका बारेमा त झन् कहाँ थाहा हुनु ?”
थोरै नेपाली जाने यी यस्ता मुलुक हुन्, जहाँ नेपाल सरकारको कुनै पनि कूटनीतिक नियोग छैनन् । यी देशमा प्राय: व्यक्तिगत जोखिम मोलेर गएका हुन्छन् । कतिपय नेपाली मानव तस्करको फन्दामा परेर समेत ती देश पुगेका हुन् । यी देशमा गत पाँच वर्षमा करिब एक हजारलाई वैधानिकीकरण गरिएको विभागको अभिलेखमा उल्लेख छ ।
अफ्रिकी टापु मुलुक सेसेल्समा सबैभन्दा बढी नेपाली गैरकानुनी रूपमा छिरेपछि वैधानिकीकरण गरिएको छ । त्यहाँ गत वर्ष मात्रै १ सय ८ जनालाई काम गर्न पाउने गरी वैधानिकीकरण गरिएको थियो । साथै, अजरबैजान, कंगो, घाना, केन्या, अंगोला, अल्जेरिया, बेनिन, बार्बाडोस, कम्बोडिया, पूर्वी टिमोर, सेनेगल, नाइजेरिया, सुडान, स्वाजिल्यान्ड, केमान र तान्जानियामा समेत गैरकानुनी रूपमा बसोवास गरिरहेका नेपालीलाई काम गर्ने अनुमति दिइएको थियो ।
मासिक औसत १ लाख २० हजार नेपाली वैदेशिक रोजगारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने विभागको तथ्यांक छ । त्यसमध्ये ठूलो संख्या खाडी राष्ट्र, मलेसिया र दक्षिण कोरिया जानेको छ । तर, नामै नसुनेका देशमा जाने नेपालीको अवस्था र सम्भावनाबारे भने सरकार मौन छ । आफ्ना नागरिक विश्वको कुन भूगोलमा वैध र अवैध कति छन् भन्ने लागत समेत छैन, सरकारसँग ।
मानव तस्करी बढेपछि गत १५ माघमा संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले कुन कुन देशमा कति नेपाली छन् भन्ने विवरण पेस गर्न परराष्ट्र र गृहमन्त्रालयलाई भनेको थियो । तर, त्यसको जवाफसमेत सरकारले दिएको छैन ।