नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउनुहुन्छ ।

“पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु”, उहाँले भन्नुभयो, “पाँच दशकअघि साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ ।” कबड्डी, गोला आकारका ढुङ्गालाई एकमाथि अर्को राख्दै मोजाको गोलो बलले हिर्काएर खेलिने टिपु, रुमाल लुकाउने, लुकामारी, चोर पुलिस, ठिणी ९डण्डीबियो०, गाई बाँध्ने, डोरी नाघ्ने, चुङ्गीलगायतका खेल त्यस बेला प्रचनमा रहेको उहाँ बताउनुहुन्छ ।

गाई–गोरु चराउन जाँदा केटीहरूले रवरको गुच्छा बनाइ खेल्ने चुङ्गी, स–साना ढुङ्गालाई गोटीका रूपमा खेलिने गोट्टा, भिरालो क्षेत्रबाट काठको फल्याकमा चढेर टाढा पुग्ने घुसुडी, जमिनमा चार कुने रेखा बनाइ गोलो ढुङ्गा राखी एक खुट्टामाथि उचाल्दै अर्को खुट्टाले रेखा नछोइकन पार गर्ने अड्डुलगायतका खेल बढी खेलिने गरिथ्यो ।

बूढापाकाले गोरु चराउन जाँदा र घरमै पनि दुई–चार जना जम्मा भए बाघचाली खेल्ने चलन थियो । यी सबै पुराना खेल संरक्षण गर्न नसक्दा हाल हराउँदै गएका छन् । युवाहरूले आफैँ पैसाको जोहो गरी भलिबल नेट खरिद गरी भलिबल खेल्ने गर्दथे । एकअर्का गाउँका युवाबीच भलिबल र कबड्डीका प्रतियोगिता नै हुन्थे । “पुराना खेल खेल्दा चोटपटक लाग्ने जोखिम हुन्थ्यो”, करनबहादुर ऐरले भन्नुभयो, “शारीरिक व्यायाम निकै हुन्थ्यो, शारीरिक व्यायामकै कारणले रोगव्याधीको समस्या थिएन, घरकै पाकेको खाना खान्थ्यौँ, निकै तन्दुरुस्त हुन्थ्यौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“साथीत्वको भावना निकै हुन्थ्यो, सामूहिक छलफल गर्ने, बहस गर्ने कार्यले पढाइमा बालबालिका अब्बल हुन्थे । अहिलेको जस्तो फेसबुक, टयुटर, इन्स्ट्राग्राम, युटयुवलगायतको चलन थिएन । कम्प्युटरमा, इन्टरनेटमा खेलिने खेल थिएन”, उहाँ भन्नुहुन्छ ।

“आजभोलि घरभित्रै एकै परिवारमा बस्नेबीच पनि कुनै किसिमको छलफल हुँदैन”, शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “सबै जना आ–आफ्नै मोबाइलमा व्यस्त हुन्छन्, सहरबजारमा त एक छिमेकीले अर्को छिमेकीलाई नचिन्ने अवस्था आइसक्यो ।” शारीरिक व्यायामको कमीका कारण बालबालिकमा विभिन्न किसिमका रोग देखापर्दै आएको उहाँले बताउनुभयो ।

मोबाइल र कम्प्युटरमा एकहोरो हेर्ने र चलाउने भएकाले बालबालिकामा आँखाको दृष्टि कमजोर हुने समस्यासँगै एक ठाउँमा बसेर खेल्दा शारीरिक व्यायाम नहँुदा वचपनमै विभिन्न रोग लाग्ने गरेको उहाँले बताउनुभयो । यस कार्यले बालबालिकामा स्मरण शक्तिसमेत कम हुँदै गएको उहाँको भनाइ छ ।

“पालिकाहरूले निर्माण गर्ने स्थानीय पाठयक्रममा पुराना खेललाई समेट्नुपर्छ, पाठयपुस्तममा अरु खेलझै पूरा खेल खेल्ने तरिका र विद्यालयमा खेलाउने गरिए पुराना खेल जोगिन्छन्”, उहाँले भन्नुभयो, “जोगाउने कार्य नगरिए बूढापाकासँगै पुराना खेल पनि सिद्धिन्छन् ।”

थारू समुदायका परम्परागत खेल ओझेलमा

तराईमा बसोबास गर्ने थारू समुदायका परम्परागत खेलसमेत ओझेलमा पर्दै गएका छन् । थारू समुदायका अगुवा धनबहादुर कुश्मीका अनुसार थारू समुदायका किशोरी तथा युवतीले खेल्ने घोघो रानी, सिक्टी उस्टैना, अच्छी, कोइली दिदी, बुक्रीभारा, छटक भे¥वा र किशोर तथा युवाले खेल्ने छिल्ली, पूर्वा खैना, खोपी, बहान छोरी, मुर्गा लसन, गुल्ली दण्डा, लोची दण्डालगायत थुप्रै परम्परागत खेल लोपोन्मुख अवस्थामा पुगेका छन् ।

“परम्परागत खेल कम खर्चिला र स्थानीय साधन स्रोतको प्रयोग गरी सजिलै खेल्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “यी खेल सामूहिकरूपमा खेलिने भएकाले सामूहिकताको भावना हुन्थ्यो, हाल मोबाइलका गेमले बालबालिका पुराना खेल बिर्सँदै गएका छन् ।”

उहाँका अनुसार पुरुष–महिला मिलेर खेल खेल्ने भएकाले लैङ्गिक समानताको भावना हुन्थ्यो । बाघागोटी, टयुरालगायत खेल खेल्दा दिमाग लगाउनुपर्ने हुँदा बौद्धिक विकासमा मद्दत पुग्ने गर्दथ्यो । उहाँ भन्नुहुन्छ, “परम्परागत खेलमा आफ्नैपन, आफनत्वको भावना र बेग्लै किसिमको नियममा बाँधिएर खेलिने हुँदा भरपूर मनोरञ्जन र शारीरिक व्यायाम हुन्थ्यो, हाल पुराना खेल ओझेल पर्दै गएका छन्, बचाउन सबैले लाग्नु पर्दछ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com