प्रचण्ड अब २ बर्ष ढुक्कले प्रधानमन्त्री, के अब संसद प्रतिपक्षीविहीन भएको हो ?


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असाधारण विश्वासको मत प्राप्त गरेपछि अब उनी कम्तीका २ बर्षका लागि ढुक्कले प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा चित्रबहादुर केसी र प्रेम सुवाललेमात्र मतदान गरेका थिए ।

योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ । कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सैद्धान्तिक रुपमा संसद प्रतिपक्षीविहीन भएको छ ।

कतिपयले कांग्रेसको आजको निर्णय संविधानको मर्मविपरीत र गैर राजनीतिक भएको बताएका छन्। विश्वासको मत सरकारलाई दिएको पार्टी सैद्धान्तिक रूपमा प्रतिपक्षी नहुने उनीहरुको तर्क छ । विश्वासको मत सरकारलाई दिएको पार्टी सैद्धान्तिक रूपमा प्रतिपक्षी नहुने नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनिसकेका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको भनाई छ ।

यद्यपी नेपाली कांग्रेसले सरकारमा सहभागी नहुने र सङ्घीय संसद्‌मा प्रमुख विपक्षी दलको रूपमा भूमिका निर्वाह गर्ने बताइसकेको छ।

संविधान र कानुनमा विपक्षी दलको स्पष्ट परिभाषा छैन। सरकारलाई समर्थन दिएको दल प्रतिपक्षी हुने वा नहुने भन्नेबारे कतै उल्लेख छैन। १० प्रतिशत मत नल्याएको दल प्रमुख प्रतिपक्षी नहुने मात्र भनिएको छ । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेपनि प्रमुख प्रतिपक्ष हुनका लागि उनीहरुको दल योग्य छैन ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि संवैधानिक परिषदमा उसको भूमिकाबारे पनि प्रश्न उठेको छ। किनभने संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्त गर्ने यो परिषदको एउटा सदस्य प्रमुख प्रतिपक्षी दलको नेता रहन्छ। सरकारलाई समर्थन गरेपछि प्रमुख प्रतिपक्षी नै नरहेकाले कांग्रेसका नेता परिषदमा बस्न मिल्ने नमिल्नेबारे प्रश्न उठाइएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले विश्वासको मतको बदलामा नेपाली कांग्रेसलाई केही दिने सहमति नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले सिङ्गो सदनको नै विश्वासको मत पाउनुलाई आफू राष्ट्रिय सहमतिको केन्द्रबिन्दुमा रहेको महसुस गरेको उल्लेख गरेका थिए । आफूले पाएको अपार समर्थनअनुसार कार्य सम्पादन गर्न सकूला वा नसकूला वा न्यायपूर्ण तवरले सम्बोधन गर्न सकूला वा नसकूला भन्ने अवस्था भने रहेको उनले बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com