कृषिप्रति अनिच्छा बढिरहे पनी गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

“यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुर्क्यो तन
जस्को अन्न र पानी खाई दिनहुँ जो पूर्ण भो जीवन
त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर
यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?”

कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् । पछिल्लो समयमा सिँचाइसँगै कृषिमा भित्रिएका आधुनिक प्रविधिले उत्पादन बढ्दै गए पनि जनशक्तिको अभावमा जग्गा बाँझै बसेका छन् भने कतिपय उब्जाउयोग्य जमिन पनि प्लटिङ गर्दै बस्तीमा परिणत हुँदै आएको छ ।

कृषिप्रति अनिच्छा बढिरहेको अवस्थामा पोखरा महानगरपालिका-३२ को गगनगौँडा क्षेत्रको फाँट भने यतिखेर तोरीबारीले पहेँलै बनाएको छ । तोरीसँगै झपक्क फुलेको फापर र लहलहाएको आलुबारी निकै मनमोहक देखिन्छ छ । यहाँ कृषिप्रति आकर्षण बढीरहेपनि बढ्दो बस्ती विकासका कारण बर्सेनि खेतीयोग्य जमिन घडेरी बन्दै बस्तीमा परिणत हुन थालेकोे स्थानीयवासी एवं स्कुल टोल विकास संस्थाका अध्यक्ष बलराम केसी बताउनुहुन्छ ।

“फाँटमा कृषि उत्पादन बर्सेनि बढ्दै गएको छ नै त्योसँगै बढ्दो बस्ती विकासका कारण बर्सेनि घरहरू पनि थपिँदै गएका छन्”, उहाँ भन्नुहुन्छ, “पछिल्ला केही वर्षदेखि यो फाँटमा १२ महिना खेती हुँदै आएको छ ।” गगनगौँडा फाँटमा वर्षायाममा रोपिएको धान काटेसँगै आलु, फापर तथा तोरी लगाउने र आलु तथा तोरी भित्र्याएसँगै मकै लगाउने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्पादन पनि अपेक्षित रुपमा राम्रो हुँदै जाँदा बर्सेनि कृषिप्रतिको आकर्षण बढिरहेको अध्यक्ष केसी उल्लेख गर्नुहुन्छ । कृषि उत्पादनप्रतिको आकर्षणलाई दृष्टिगत गरी राज्यले पनि यस क्षेत्रमा चासो दिनुपर्ने उहाँको भनाइ छ । गगनगौँडा फाँटमा विसं २०४५ अघिसम्म वर्षे धान मात्रै लगाउने गरिन्थ्यो । स्थानीयवासी एवम् बेगनास सिँचाइ उपभोक्ता समूह विटुका पूर्वअध्यक्ष घनश्याम खनालका अनुसार विगतमा एक बालीमात्रै उत्पादन हुने फाँटमा बेगनास सिँचाइ आयोजनाको नहर आएसँगै हिउँदमा पनि खेती गर्न थालिएको हो । बस्ती विकासका दृष्टिले गगनगाँैडा पुरानै ठाउँ भए पनि बीचको समयमा औलोलगायत समस्याका कारण यहाँबाट अन्य स्थानमा बसाइँ सरेको पाइन्छ ।

औँलो उन्मुलनसँगै सिँचाइ उपलब्ध भएपछि विस्तारै यस क्षेत्रमा बसोबासको क्रम बढेको बताउँदै उहाँ प्राचीन बस्तीका रुपमा रहेका पुरानो गाउँ, ढकाल खोरलगायत स्थानमा अहिले भने बसोबास नरहेको उल्लेख गर्नुहुन्छ । विशेष गरी गगनगौँडाको उपल्लो भागमा भरतपोखरी, निर्मलपोखरी, देउराली थुम्कीलगायत स्थानबाट धेरैजसो मानिस बसाइँ सरेर आएका छन् भने तल्लो भागमा सेराबेँसी, थप्रेक, नयाँगाउँ, चोयाबिसौना, दगामलगायत स्थानबाट बसाइँ सरेर आएका छन् ।

गगनगौँडाको बस्ती विकासमा बेगनास तालको पानी महत्वपूर्ण बनेको स्थानीयवासी बताउँछन् । लेखनाथ क्षेत्रको सबैभन्दा ठूलो यस तालबाट आएको पानीका कारण गगनगौँडासँगै खुदी, राजाचौतारा, मालमूललगायत स्थानमा सिँचाइ उपलब्ध भएको छ । कूल तीन दशमलव ७३ वर्ग किलोमिटर ९३७३ हेक्टर ० जमिन रहेको यस तालमा विसं २०४४ मा बाँध बाधेपछि दुई सय २० हेक्टरबाट तीन सय ७३ हेक्टर क्षेत्रफल ओगटेको थियो ।

यही बाँधबाट निकालिएको नहरले गगनगौँडासँगै लेखनाथको खुदी, मालमूललगायत फाँटमा भएको सिँचाइले यस क्षेत्रको बस्ती विकासमा महत्वपूर्ण बनेको स्थानीयवासीको तर्क छ । सिँचाइको उपलब्धतासँगै यस क्षेत्रमा बर्सेनि कृषिप्रति आकर्षण बढ्दै गएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ ।

गगनगौँडालगायत आसपासमा हिउँदे तोरी, आलु, फापरआदिको राम्रो उत्पादन हुने गरेको उहाँको भनाइ छ । कृषिप्रतिको बढ्दो आकर्षणसँगै यस क्षेत्रमा कृषिको विकासलाई महानगरले प्राथमिकतामा राख्नका लागि पोखरा महानगरपालिका–३२ कै राजाचौतारा क्षेत्रमा केही दिनअघि मात्रै माटो परीक्षण गरिएको महाशाखा प्रमुख कडरिया बताउनुहुन्छ ।

किसानबाट संस्थागतरुपमा प्रयास भएका अवस्थामा महानगरबाट सहयोग गर्न सहज हुने उल्लेख गर्दै कडरिया त्यसका लागि उनीहरूको जागरुकताको आवश्यकता औँल्याउनुहुन्छ । कृषियोग्य जमिनमा उत्पादन बढ्दो क्रममा रहेपनि बढ्दो बस्ती विकास भने चुनौतीका रुपमा रहेको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com