वन्यजन्तुले बस्ती पसेर बालीनाली नोक्सान पारेपछि किसानको हैरानी


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ । बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर (दक्षिण) नझरे पनि नीलगाई, बँदेल र हरिण हुल मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् ।

“हाम्रो बस्तीमा बाँदर र दुम्सी त देखिएका छैनन्, तर घोडगदाहा (नीलगाईलाई यहाँका स्थानीयले भन्ने नाउँ) र बँदेलले भने दुःख दिएर आजित बनाएका छन्”, वन क्षेत्रबाट २० किलोमिटर दूरीको भङ्गाहा–४ पलार बस्तीका किसान सत्यनारायण चौधरी भन्नुहुन्छ, “चिसो स्याँठमा रातरातभरि यिनलाई लघार्न खेत कुर्नुपर्छ ।” नीलगाई र बँदेलले आजित बनाएको बताउने उहाँ हरिण र हात्ती भने कहिलेकाहीँमात्र देखिने गरेको बताउनुहुन्छ । “हरिण पनि समूहमै आउँछन्, तर पातलो, हात्तीचैँ दुईचार वर्षमा देखिन्छन्”, स्थानीय महेश सर्दारले भन्नुभयो ।

अहिले हिउँदे तरकारी र केराका बोट बँदेल र नीलगाईले नोक्सान गर्ने गरेका आम किसानको गुनासो छ । नीलगाईले बासस्थान नै नबनाए पनि ५०÷६० को सङ्ख्याको हुलमा खेतबारीमा पस्ने गरेका भङ्गाहा–६ हतिसर्वाका जयराम यादव बताउनुहुन्छ । “घोडगदाहाको हुल पस्यो कि दुई÷चार कट्ठाको कोवी एकैछिनमा दलमदान गर्छन्”, उहाँ भन्नुहुन्छ, “यिनले गरी खान दिएनन् ।” नीलगाई हकार्दा भागे पनि बँदेलले भने झम्टने पनि गर्ने हुँदा डरमर्दो भएको यादवको भनाइ छ । नीलगाईले जिल्लाको तल्लो भेगमा लामो बसाई भने बनाउँदैनन् तर बँदेल भने यतैतिर घारी, झाडीमा बस्नै लागेका पाइएको किसान बताउँछन् । बर्दिबास–७ र भङ्गाहा–४ मा पर्ने प्रेमनगर बस्ती त नीलगाई र बँदेलको अड्डाजस्तै बनेको सो बस्तीका किसान रामप्रगाश महतो बताउनुहुन्छ ।

नीलगाई र बँदेलका समूह जिल्लाको सुदूरदक्षिणी मटिहानी, जलेश्वर, मनराशिशवा, एकडारा, सम्सी र सोनमासहितका स्थानीयतहका बस्तीबस्तीमा छ्यापछ्याप्ती देखिने गर्छन् । झाडीयुक्त बगैँचा, निर्जन खोला किनारका काँशघारी र उखु घारी यिनको बसाई हुनेगर्छ । दिनभरि झाडीमा लुकेर बस्ने नीलगाई र बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको जलेश्वर नगरपालिका–४ को भारतीय सीमावर्ती बस्ती मुसरपट्टीका सुरेश पाण्डे बताउनुहुन्छ । नीलगाई जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका बस्तीमा पनि बाक्लै देखिएका छन् । नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने बस्तीभित्रै पसेर घर करेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमद बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नीलगाई मानिसको दचकले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताउनुभयो । बँदेलले प्रत्येक रातजसो फूलकोवी, बन्दाकोवी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलका डरले खेतबारी डुल्न, घाँसपातको काममा निस्कन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिका–८ थलही बस्तीका रामविलास मण्डल बताउनुहुन्छ ।

जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भूचक्रपुर, राजपुर र धतियाटोलतिर त पछिल्ला चार÷पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । बँदेलले त कैयन छिमल बच्चा पनि यतै हुकाइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउनुहुन्छ । दुम्सी पनि आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका दाहालको भनाइ छ । नीलगाई र बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल नझरेका सर्वसाधारण बताउँछन् । उत्तरी क्षेत्रका बर्दिबास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिँया र खयरमारासहितका बस्तीमा भने घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरुको भनाइ छ ।

वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेका बताउँछन् । सर्वसाधारण किसान भने वन्यजन्तुबाट लगातारको क्षतिले आजित भएर वन, स्थानीयतह र सुरक्षासम्बद्ध निकाय गुहार्न थालेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com