जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडकको पहुँच


प्रकाशित मिति : १७ पुस २०७९, आइतबार

road

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ ।

एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ लगानी गरेर पूरा गरिदिएको हो । बेँसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पु¥याउन स्थानीयवासीले चन्दा सङ्कलन गरेर प्रयास गरे पनि अक्करे भिरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णताः दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिनुभयो । बेँसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भिरमा मात्रै ११ घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पु¥याइएको छ ।

यस भिरमा मात्रै सडक निर्माण गर्न तीन वर्ष बढी समय लागेको थियो । यस आयोजनाले बेँसीबाट लेकगाउँसम्मको पँच किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको हो । सडकको पहुँच पुगेपछि वडा, पालिका र सदरमुकाम आउँदा पैदल हिँड्नुपर्ने झण्झट हटेको छ भने सामग्री ढुवानीमा समेत सहज भएको स्थानीयवासी बताउँछन् ।

आयोजनाको पहुँचमार्गका लागि कूल १८ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ । यस आयोजनाले स्थानीयवासीलाई दक्षता र क्षमताअनुसारको रोजगारको अवसरसमेत दिएको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो । सडक निर्माण, स्तरोन्नति, पाइप लाइनको पूर्वाधार निर्माणलगायतका क्षेत्रमा स्थानीयवासीले नै नेतृत्व लिएर काम गरिरहेको इन्जिनियर भट्टराईले बताउनुभयो ।

“हामीले रोजगारको क्षेत्रमा पनि स्थानीयवासीलाई प्राथमिकता दिएका छौँ, स्थानीय युवा क्लब, विद्यालय र आमा समूहका सामाजिक गतिविधिमा समेत सहकार्य गरेका छौँ”, उहाँले भन्नुभयो ।

आयोजनाले स्थानीयका जिभुमे थान निर्माण, क्रान्ति आधारभूत विद्यालयको छानो फेर्न आर्थिक सहयोगसँगै गाउँभित्र सडकको पहुँच विस्तार गर्नेलगायतका कार्यसमेत गरेको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरी निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको छ । हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न लागेको हो ।

विसं २०७३ देखि नारच्याङको बँेसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माणस्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको यस आयोजनाले गत वर्षको फागुनदेखि आयोजनाको निर्माण कार्यलाई सुरु गरेको थियो । अहिलेसम्म करिब पचास प्रतिशत भौतिक प्रगति सम्पन्न भएको र आगामी असारसम्ममा पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर भट्टराईले जानकारी दिनुभयो ।

“आयोजनाको बाँधस्थल, पाइपलाइन र विद्युत्गृहतर्फको काम तीव्ररुपमा अघि बढेको छ, दैनिकरुपमा एक सय ३० जना बढी मजदुरसँगै आवश्यक मेसिन उपकरण पर्याप्त मात्रामा परिचालन भएका छन्, चिसो मौसमको प्रतिकूलताका बीच पनि निर्माण कार्यलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो । कालोखोलामा बाँध रहेको यस आयोजनाको तीन हजार छ सय मिटर लामो पाइपलाइनमार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युत्गृहमा पाँच सय पाँच मिटर हेडबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । यस आयोजनामा पानी लैजानका लागि सुरुङमार्गको प्रयोग नगरी पेनस्टक पाइपको मात्रै प्रयोग गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइड्रोमेकानिकलतर्फ वर्कसप अफ इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन् । सिभिलतर्फ बाँधतर्फको पचास प्रतिशत बढी काम सकिएको र पाइपलाइन राख्नको लागि पाइप ढुवानी र पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर लोकबहादुर नायकले बताउनुभयो ।

उहाँका अनुसार लेकगाउँदेखि विद्युत्गृहसम्मको पहुँचमार्ग निर्माण भइसकेर पूर्वाधार निर्माणसमेत थालिएको छ । अहिले बाँधस्थलमा इन्टेक, डिसेन्डर र हेडबक्र्सको काम जारी छ । यस आयोजना निर्माणमा प्रतिमेगावाट रु २० करोड लागत अनुमान गरिएको छ । हिमालय बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकले समेत गरी ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत्लाई चार किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यसअघि पाँच मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । विद्युत् उत्पादनका लागि दर्जन बढी आयोजना दर्ता भएको यस वडामा नीलगिरि हाइड्रो पावरले निर्माण गर्न लागेको एक सय १० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड गरी दुई वटा आयोजनामा समेत निर्माण कार्यले तीव्रता पाएको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com