संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी


प्रकाशित मिति : पुस १७, २०७९ आईतबार

खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिनुहुन्छ । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा हुने हरेक कार्यक्रम उहाँको प्राथमिकतामै पर्छन् ।

पछिल्लो साता उहाँ भुवा चाल केन्द्रित हुनुहुन्छ । पुस्तौँ पुरानो पर्वलाई जोगाउनका लागि गत साता गाउँमा भुवा सुरू गरेपछि गाउँघरकी महिलालाई जम्मा पारेर हातमा ढाल तरबार बोक्दै भुवा खेल्न थाल्नुभयो । शिक्षण पेसामा आवद्ध उहाँ करिब एक दशकयता स्थानीयस्तरमा मौलिक पर्व जोगाउने अभियानमा हुनुहुन्छ । उहाँ विद्यालयमा पनि बालबालिकालाई स्थानीय भाषा, संस्कृति, संस्कार जोगाउने कुरामा जोड दिनुहुन्छ ।

गत सातायता खत्रीवाडा, बासकाटियाँ, माझिगाउँलगायतका गाउँका महिलाको समूहले पाण्डवको विजयोत्सव आफूले पनि मनाउनुपर्ने भन्दै भुवा खेल्न थालेका हुन् । “प्राचीनकालीन युद्धमा पनि एक्लैले लडेर पनि सम्भव भएन होला”, उहाँले भन्नुभयो, “पाण्डव र कौरवको लडाइँमा पनि भित्री हात महिलाकै थियो । त्यो बेलाको युद्धमा महिलाले साथ दिन हुने तर अहिले पाण्डवको विजयोत्सवमा महिला किन नहुने भन्दै हामी पनि भुवा चालमा सहभागी भएका हौँ ।”

द्वापरगुगमा पाण्डव र कौरवको लडाइँपश्चात पाण्डवको विजयीपछि मनाउने पर्वमा भुवामा पुरूषले मात्रै भुवो खेल्दै आएका थिए । सिन्धुघाँटीको सभ्यतादेखि फैलिँदै आएको हिन्दू समुदायमा पुरूषलाई फरक क्षमता भएको देखाउन पनि समुदायले महिलालाई बन्देज गरेको थियो । “थाहा पाउने उमेरदेखि नै आफ्नो रहरलाई थन्क्याउँदै पुरूषले खेलेको भुवोमा रमाउँदै आएका थियौँ”, स्थानीय धनलक्ष्मी खत्रीले भन्नुभयो, “अब समय फेरिएको छ । महिलालाई फरक तरिकाले हेर्ने नजर बदलिँदै गएका छन् । संस्कार, संस्कृति, परम्परालाई जोगाउन पुरूषभन्दा महिलाको जिम्मेवारी बढी हुँदै गएको महसुस पनि भइरहेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार अहिले धेरै गाउँहरू पुरुषविहीनजस्तै छन् । “परदेशमा जाने पुरुषको सङ्ख्या बढी छ । गाउँघरमा जन्तीदेखि मलामी नपाउने अवस्था भइसक्यो । बालबालिका, वृद्ध र महिलाको सङ्ख्या मात्रै गाउँमा छ । अब पुरुषले गर्ने हरेक काम महिलाले गर्नुपर्ने बाध्यात्मक परिस्थिति नै आइसक्यो”, उहाँले भन्नुभयो ।

खप्तडछान्ना –४ की सरस्वती रोकायाका अनुसार समाज परिवर्तन आफैँबाट सुरू गर्नुपर्छ । “महिलाहरू चुलोचौकामा मात्रै सीमित होइन, हरेक गतिविधिमा अगाडि सर्नुपर्छ”, उहाँले भन्नुभयो, “हरेक पर्वहरू हेर्ने हो भने पनि महिलाबिना शोभा नै देखिँदैन । त्यसैले घरदेखि चुलोचौकासम्म नै महिलाको उपस्थिति अति आवश्यक छ ।” पर्वहरूमा सामेल गराएजस्तै अन्य ठाउँमा पनि महिलालाई सहभागिता गराउनुपर्ने उहाँले बताउनुभयो ।

“देउता रिसाउने भन्दै महिलाले चाहेर पनि भुवा खेल्न पाएका थिएनन्”, खप्तडछान्ना गाउँपालिका–४ का पुष्पराज रोकायाले भन्नुभयो, “अहिलेको पिँढी महिलालाई कुनै ठाउँमा पनि बन्देज गर्नुहुँदैन भन्ने पक्षमा छ । त्यसैले यस पर्वमा पनि महिलाई सहभागी गराइएको हो ।” उहाँका अनुसार राज्यले पनि महिला भन्दैमा आरक्षण कोटामा खुम्च्याउनु हुँदैन । प्रतिस्पर्धामा जाने हो भने महिला कुनै कुरामा पनि कम नहुने उहाँले बताउनुभयो । “अहिले खप्तडछान्नामा महिलाले खेलेको भुवाको आकर्षण नै बेग्लै छ”, उहाँले भन्नुभयो, “ढाल तरबार छुनै नपाउने महिलाहरू पहिलो दिन अनुभव गर्दै दोस्रो दिनदेखि मौलिक पोशाकमा सजिएका महिलाको भुवानाच कुनै पुरुषको भन्दा कम थिएन ।”

भुवापर्व लयात्मक शैलीमा भट्याउँदै ढाल तरबारले चालमा नाच्ने पर्व हो । पाण्डवहरू वनबास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयवासीको सहभागिता जुटाएको भन्ने किंवदन्ती छ । त्यसैअनुसार विभिन्न गाउँमा भुवापर्वको आयोजना गरी युद्धाभ्यास गराएको कथा पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ ।

हरेक गाउँमा मनाइने भुवापर्वको समयमा केही घटना घटे वा त्यस समयमा परिवारमा कसैको ज्यान गए सो समुदायले आफूलाई अशुभ हुने जनाउँदै मनाउन छाडेको स्थानीय माधव जोशीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com