रित्तिँदै पहाड, भरिँदै तराई


प्रकाशित मिति : पुस १३, २०७९ बुधबार

इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झर्नुभयो । उहाँ परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झर्नुभएको हो । कोरिया बसेर नेपाल फर्किनुभएका उहाँ जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झर्नुभएको हो ।

स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उहाँको भनाइ छ । उहाँ तराई झरे पनि उहाँको पहाडमा भएको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् ।

खगेन्द्रजस्तै तीन वर्ष पहिले नै गुरु अधिकारी पनि देउमाई नगरपालिका दुई छोडेर झापा बसाइँ झर्नुभयो । उपचारमा झापामा आउनुभएका उहाँ चिकित्सकले निरन्तर फलोअपमा आउनुपर्छ भनेपछि झापामा नै बस्न थाल्नुभयो । झापा बस्दाबस्दै उहाँले नयाँ ठाउँमा नै घर बनाएर बस्न थाल्नुभएको छ । उहाँको पहाड घर पनि त्यतिकै छ । केही समयका लागि सडक बनाउने ठेकेदारले घर भाडामा लिए पनि दीर्घकालीनरूपमा पहाडमा जमिन कमाउने र जमिन खरिद गर्ने मान्छे आउन छोडेको उहाँले बताउनुभयो ।

भर्खरै देउमाई दुईका टङ्क अधिकारीसमेत पुरानो ठाउँ छोडेर झापा झर्नुभएको छ । उहाँले पनि पहाडमा सुविधा नभएकै कारण तराई झर्नुपरेको सुनाउनुभयो । उहाँ एउटा गाउँमा नमूना व्यक्तिमात्र हो । बीचमा सोही गाउँबाट अन्य धेरैले गाउँ छोडेर सहर रोजेका छन् ।

उपचार गराउन सहर नै जानुपरेकाले पनि मानिसले गाउँ छोड्दै गएका छन् । नानीबाबुलाई विद्यालय पढाउन र उच्च शिक्षाका लागि पनि गाउँ नै छोड्नुपर्ने अवस्था आएको धेरैको भनाइ छ । अन्य धेरै तराई झर्ने सोचमा हुनुहुन्छ । पहाडमा खेती गर्न पनि झन्झट, ढुवानी महँगो, बिक्रीका लागि बजार खोज्नुपर्ने समस्यालगायतका कारण धेरैले गाउँलाई माया मार्न थालेका छन् ।

समस्या पर्दा पहाडमा समाधानका लागि धेरै असहज हुने भएकाले पनि तराई झर्नुपर्ने बाध्यता रहेको बताइएको छ । बूढेसकालमा न्यानोका लागि तराई झर्नेदेखि अवसरको खोजीमा समेत तराई रोज्नेको लर्को नै लागेको छ ।

पहाडी क्षेत्रमा रोजगारीको समस्या, पाए पनि बर्खामा रोजगारस्थल धाउन समस्या भएका कारण पनि धेरैले तराई रोज्न थालेका छन् । पहाडी क्षेत्रमा जागिर खाए पनि धेरै आफन्त तराईमा नै हुँदा पनि पहाड बस्न मन नलाग्ने गरेको उहाँहरूको भनाइ छ ।

अवसर पहाडमा नभएपछि प्रायः युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै सुगम ठाउँमा जमिन किनेर उतै बसाइँ जान थालेपछि गाउँ रित्तिन थालेको छ ।

यसका लागि पहाडी क्षेत्रका नगरपालिका तथा गाउँपालिकाले विशेष कार्यक्रम ल्याए पनि प्रभावकारी बन्न सकेको छैन । देउमाई नगरपालिकाले बाहिरबाट बसाइँ सरेर आउनेलाई जस्तापाता सहयोग गर्ने नीति ल्याएको नगरपालिकाका सूचना अधिकारी गोविन्द बाँस्तोलाले बताउनुभयो । केही वर्ष अगाडि नै यो कार्यक्रम ल्याए पनि पछिल्लो समय थप कार्यक्रम ल्याउन सकिएको छैन ।

सरकारले एकीकृत बस्ती कार्यक्रम ल्याउन आवश्यक रहेको जानकार बताउँछन् । बस्तीलाई एक ठाउँमा बसाएर खेती गर्ने जमिन र अन्य प्रयोजनको जमिन पहिचान गरेर त्यस्ता कार्यक्रम ल्याउन स्थानीय सरकार लाग्नुपर्ने धेरैको माग छ । पहाडी क्षेत्रमा भएका बासिन्दालाई पहाडमा नै रोक्नका लागि खास कार्यक्रम नभएको, पहाडमा विकास क्रम ढिलो भएका कारण पनि यस्तो समस्या आएको बताइएको छ । सुविधा सम्पन्न अस्पताल र कलेजको व्यवस्था गर्न सकिएमात्र पनि धेरै बसाइँसराइ रोकिन सकिने स्थानीयवासीको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com