आप्रवासीहरु अमेरिका आइसकेपछि राम्रो क्रेडिट स्कोर कसरी बनाउने?


प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार

brown wallet

अमेरिकामा क्रेडिट कार्ड लिन, घर किन्न, कतिपय स्थानमा घर भाडामा लिन लगायतका काममा क्रेडिट स्कोर आवश्यक पर्छ । कार किन्दा वा भाडामा लिंदा वा अपार्टमेन्ट लिने बेला तपाईले शायद क्रेडिट स्कोरबारेको प्रश्नको सामना गर्नुभएको होला ।

अमेरिकामा व्यक्तिको आर्थिक इमान्दारिता क्रेडिट स्कोरका आधारमा मापन गरिन्छ । ३ सय देखि ८५० सम्म हुने क्रेडिट स्कोरमा ३ सय देखि ५४९ सम्मको स्कोर अत्यन्तै खराब, ५५० देखि ६१९ सम्मको नराम्रो, ६२० देखि ६७९ सम्मको ठीक्क, ६८० देखि ७३९ सम्मको राम्रो र त्योभन्दा माथिको उत्कृष्ट क्रेडिट स्कोरमा मानिन्छ । यही स्कोरका आधारमा कतिसम्म रकमको ऋण वा क्रेडिट कार्ड पत्याउने भन्ने निर्धारण समेत हुन्छ ।

राम्रो क्रेडिट स्कोर हुनेले सस्तो ब्याजमा धेरै सुविधासहितको ऋण वा क्रेडिट कार्ड प्राप्त गर्न सक्छन् । अमेरिकामा सुरुमा आउने आप्रवासीले क्रेडिट इतिहासको निर्माण गर्नुपर्ने भएकाले केही कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ । अमेरिकामा आउने वित्तिकै तपाईको क्रेडिट स्कोर शुन्यजस्तै हुन्छ । तर तपाईले १ बर्षभन्दा कम अवधिमा राम्रो क्रेडिट स्कोर बनाउन सक्नुहुनेछ ।

अमेरिकामा मुख्य ३ वटा क्रेडिट ब्यूरोहरु हुने गर्छन्, एक्सपेरियन, इक्वीफ्याक्स र ट्रान्सयुनियन । यी ब्यूरोहरुले तपाईको क्रेडिट रिपोर्ट तयार पार्छन् र अमेरिकाका वित्तिय संस्थाहरु लगायत इन्क्वायरी गर्नेहरुलाई उपलब्ध गराउँछन् । ऋणदाताहरुले ऋण वा क्रेडिट कार्ड लिने व्यक्ति कत्तिको आर्थिक रुपमा जोखिपूर्ण छ भन्ने कुराको निर्धारण यसैबाट गर्छन् । अमेरिकामा सुरुमा आउने आप्रवासीहरुका लागि राम्रो क्रेडिट स्कोर बनाउन ६ महिनासम्मको अवधि लाग्छ ।

सोसल सेक्युरिटी नम्बर लिनुहोस्

सुरुमा तपाईले अमेरिका आइसकेपछि सोसल सेक्युरिटी नम्बर लिन आवश्यक हुन्छ । यो नम्बर तपाईको पहिचान नम्बर हो । अमेरिकामा निश्चित प्रकारका भिसामा आएकाहरु, काम गर्न योग्यहरु, ग्रिनकार्डवाहक लगायतले यो नम्बर प्राप्त गर्न सक्छन् । सोसल सेक्युरिटी नम्बर लिन योग्य हुनुहुन्न भने आईआरएसबाट आईटीआईएन नम्बर पनि लिन सकिन्छ । यो नम्बर कागजपत्रविहिनहरुले समेत लिन सक्छन् ।

बैंक एकाउन्ट खोल्नुहोस्

सोसल सेक्युरिटी नम्बर प्राप्त भइसकेपछि तपाईले बैंक खाता खोल्नु उपयुक्त हुन्छ । सकभर यस्तो बैंकमा खाता खोल्नुहोस्, जसले पहिलो क्रेडिट कार्ड समेत प्रदान गर्न सक्छन् । कतिपय बैंकले केही रकम डिपोजिट राखेर बार्षिक शुल्क नलिइकनै क्रेडिट कार्ड उपलब्ध समेत गराउँछन्, जसलाई सेक्युअर्ड क्रेडिट कार्ड समेत भनिन्छ । यस्तो सेक्युअर्ड क्रेडिट कार्ड पछि ती बैंकहरुले विना डिपोजिट अनसेक्युअर्डमा रुपान्तरण गर्ने सुविधा समेत दिएका हुन्छन् ।

जथाभावी क्रेडिट कार्डका लागि आवेदन नदिनुहोस्

सुरुमा अन्धाधुन्द क्रेडिट कार्डका लागि आवेदन दिंदा तपाईको आवेदन अस्वीकार हुने र क्रेडिट इन्क्वायरी नम्बरमात्र बढ्ने खतरा समेत हुन्छ । तपाई किनमेलका लागि जाँदा कतिपय स्टोरहरुले क्रेडिट कार्डका लागि आवेदन दिन प्रोत्साहन गर्छन् । तर सुरुमा तपाइको क्रेडिट स्कोर शुन्यप्राय हुने भएकाले ती स्थानहरुमा क्रेडिट कार्डका लागि आवेदन दिनु उपयुक्त हुँदैन । तपाईको आवेदन अस्वीकार हुने र इन्क्वायरी बढेर स्कोर नराम्रो हुने खतरामात्र हुन्छ । त्यसैले अनलाइनमा वा बैंकमा गएर जथाभावी क्रेडिट कार्डका लागि आवेदन नदिनुहोस् ।

 

सेक्युअर्ड क्रेडिट कार्डका लागि आवेदन दिनुहोस्

कुनै क्रेडिट इतिहास नभएका आप्रवासीहरुका लागि सबैभन्दा उपयुक्त सुरुवात यही हो । तपाईको अमेरिकामा भएको बैंक एकाउन्टबाट केही रकम सुरक्षा डिपोजिट गरेपछि तपाईले यस्तो क्रेडिट कार्ड पाउन सक्नुहुनेछ । यस्तो क्रेडिट कार्ड लिंदा सकभर बार्षिक शुल्क नलाग्ने र पछि सुरक्षा डिपोजिट गर्न नपर्ने कार्डमा रुपान्तरण हुने सुविधा भएको लिनुपर्छ ।

यस्तो कार्ड लिइसकेपछि यो कार्डबाट थोरै थोरै खर्च गर्दै र मासिक रुपमा समयमै तिर्दै गर्नुपर्छ । त्यसपछि तपाईको क्रेडिट स्कोर बढ्दै जान्छ । तपाईले कार्ड लिने बेलामा यो कार्डले क्रेडिट स्कोर बनाउँछ वा बनाउँदैन सोध्न पनि सक्नुहुनेछ । सेक्युअर्ड क्रेडिट कार्ड र प्रिपेड कार्डहरु फरक हुन् । प्रिपेड कार्डले क्रेडिट स्कोर बढाउँदैन । त्यसैले केही रकम डिपोजिट राखेर सेक्युअर्ड क्रेडिट कार्ड नै लिनुपर्छ ।

तपाईले त्यसपछि बैंक एकाउन्ट वा क्रेडिट कार्ड एकाउन्टमा गएर आफ्नो क्रेडिट स्कोर बेलाबेलामा चेक गर्न सक्नुहुनेछ । अधिकांश बैंकले निशुल्क रुपमा यस्तो सुविधा दिएका हुन्छन् । अनलाइन एकाउन्टमा गएर यो स्कोर हेर्न सकिन्छ । क्रेडिट कर्मा लगायतका भरपर्दा एप्लीकेशनहरुमार्फत पनि तपाईले आफ्नो क्रेडिट स्कोर हेर्न सक्नुहुनेछ । सामान्यतया ६८० भन्दा माथि तपाईको स्कोर पुगेपछि तपाईले डिपोजिट राख्न नपर्ने अन्य अन्सेक्युअर्ड क्रेडिट कार्डका लागि आवेदन दिंदा अस्वीकृत हुने खतरा कम हुन्छ ।

क्रेडिट बिल्डर लोन

तपाईले क्रेडिट स्कोर बनाउनका लागि एकप्रकारको ऋण पनि लिन सक्नुहुनेछ । त्यसलाई क्रेडिट बिल्डर लोन भनिन्छ । यो ऋण सामान्यतया एकहजार डलरभन्दा कमको हुन्छ । यसको उद्देश्य तपाईको क्रेडिट स्कोर राम्रो बनाउनु हो । यो ऋणका शर्त अनुशार तिर्दै जानुपर्छ, तपाईको स्कोर राम्रो बन्दै जान्छ ।

क्रेडिट कार्ड प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

तपाईले समयमै रकम तिर्नुपर्छ । रकम तिर्न ढिलो भएको खण्डमा तपाईको क्रेडिट स्कोरमा नकारात्मक असर पर्छ । एकातिर तिर्न ढिलो हुँदा जरिवाना बुझाउनुपर्छ भने अर्कोतर्फ तपाईको स्कोरमा नकारात्मक नम्बर प्राप्त हुन्छ ।

त्यस्तै क्रेडिट कार्डमा दिइएको लिमिटको नजिक पुग्नेगरी रकम प्रयोग गर्नु हुँदैन । तपाईले दिइएको सिमाको नजिक पुग्नेगरी रकम प्रयोग गर्दा तपाईको स्कोरमा नकारात्मक असर पर्छ । साथै धेरै रकम प्रयोग गर्दा ब्याज पनि धेरै तिर्नुपर्ने हुन्छ ।

तपाईले राम्रो क्रेडिट बनाइराख्न क्रेडिट कार्डको एकाउन्ट सकभर बन्द नगर्नुहोला । जति लामो एकाउन्टको इतिहास भयो, त्यतिराम्रो क्रेडिट स्कोर हुन्छ । सकभर पहिलो कार्ड बन्द नगर्नुहोला । क्रेडिट कार्डहरु बन्द गर्दा क्रेडिट एकाउन्टको अवधि कम हुने भएकाले त्यसले स्कोरमा नकारात्मक असर पर्छ । तर धेरै एकाउन्टहरु पनि नखोल्नुहोला । हार्ड इन्क्वायरी बढ्दा स्कोरमा नकारात्मक असर पर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com