अमेरिकाले २०२२ मा ७० लाखमध्ये ५०% गैर आप्रवासी भिसा विना अन्तरवार्ता जारी गरेको खुलासा


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

अमेरिकाको विदेश मन्त्रालयले २०२२ मा ५० प्रतिशत गैर आप्रवासी भिसा विना अन्तरवार्ता जारी गरेको खुलासा गरेको छ । आर्थिक बर्ष २०२२ मा करिब ७० लाख गैर आप्रवासीभिसाहरु जारी गरिएकोमा झण्डै ५० प्रतिशत भिसाहरु विना अन्तरवार्ता जारी गरिएको विदेश मन्त्रालयले जनाएको हो ।

अमेरिकाले भिसामा चर्को ब्याकलग कम गर्नका लागि म्याद सकिएको ४८ महिनाभित्र निश्चित प्रकारका भिजिटर भिसा विना अन्तरवार्ता नविकरण गर्ने नीति जारी गरेको थियो । साथै विगतमा कुनै पनि प्रकारको गैर आप्रवासी भिसा लिएकाहरुलाई विना अन्तरवार्ता विद्यार्थी भिसा जारी गर्ने नीति पनि लिएको थियो । साथै कामदार लगायतका अन्य कैयन प्रकारका भिसामा पनि अन्तरवार्ता छुट दिन सकिने नियम ल्याएका थियो ।

अब अमेरिकाले म्याद सकिएको ४८ महिनाभित्र निश्चित प्रकारका भिजिटरभिसा विना अन्तरवार्ता नविकरण गर्न सकिने नीति अनिश्चितकालका लागि लम्बाएको छ भने अस्थायी कृषि कामदार, अस्थायी गैर कृषि कामदार, एफ र एम भिसाका विद्यार्थीहरु, एक्सचेन्ज भिजिटर, एचवान बी कामदार भिसा, प्रशिक्षार्थी वा विशेष शिक्षा आगन्तुकको एच थ्री भिसा, अन्तरकम्पनी ट्रान्सफर एल भिसा, असाधारण क्षमता वा उपलब्धि भएका व्यक्तिहरूलाई दिइने ओ भिसा, खेलाडीहरू, कलाकारहरू, मनोरन्जनकर्ताहरूलाई पी भिसा, र अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान कार्यक्रमहरूमा सहभागीहरू हुने क्यु भिसाका लागि अन्तरवार्ता छुट दिन सकिने नियम २०२३ को डिसेम्बर अन्तिमसम्मका लागि लम्बाएको छ ।

विना अन्तरवार्ता भिजिटर भिसा प्राप्त गर्न आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्छ । दुईप्रति अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर कागजात डेलिभरी सेन्टरमा आफ्ना कागजातहरु बुझाउनुपर्छ । पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिन्छ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्दैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो लगायतका कागजातहरु पेश गर्नुपर्छ । फोटो विगतको भिसामा प्रयोग भएको भन्दा फरक हुनुपर्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com