अमेरिकाका केही गैर आप्रवासी भिसा अन्तरवार्ता छुट १ बर्ष थप, २०२२ मा आधा भिसा ‘विना अन्तरवार्ता’
प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार
Quito, Ecuador (December 7, 2022) Homeland Security Secretary Alejandro Mayorkas meets with several DHS staff and the Marine Detachment at the Embassy in Quito, Eduacdor. (DHS photo by Sydney Phoenix)
अमेरिकाको गैर आप्रवासी कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट एकबर्ष थप गरिएको छ । सन् २०२३ को डिसेम्बर ३१ सम्म लागु हुने गरी अन्तरवार्ता छुटको अवधि थपिएको विदेश मन्त्रालयले घोषणा गरेको छ ।
भिसाको ब्याकलग कम गर्न यो नीति लम्बाइएको विदेश मन्त्रालयको भनाई छ । पहिलोपटक भिसा आवेदन दिनेहरु र नविकरण गर्नेहरुका सन्दर्भमा यो छुट लागु हुनेछ । अस्थायी कृषि कामदार, अस्थायी गैर कृषि कामदार, एफ र एम भिसाका विद्यार्थीहरु, एक्सचेन्ज भिजिटर, एचवान बी कामदार भिसा, प्रशिक्षार्थी वा विशेष शिक्षा आगन्तुकको एच थ्री भिसा, अन्तरकम्पनी ट्रान्सफर एल भिसा, असाधारण क्षमता वा उपलब्धि भएका व्यक्तिहरूलाई दिइने ओ भिसा, खेलाडीहरू, कलाकारहरू, मनोरन्जनकर्ताहरूलाई पी भिसा, र अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान कार्यक्रमहरूमा सहभागीहरू हुने क्यु भिसामा यस्तो छुट दिइनेछ ।

कन्सुलर अधिकारीहरुलाई अब सन् २०२३ को डिसेम्बर ३१ सम्म नै पेटिसनमा आधारित गैर आप्रवासी कामदार भिसाका निश्चित आवेदकको भिसा अन्तरवार्तामा छुट दिने अधिकार प्रदान गरिएको छ ।
भिसा अन्तरवार्ता आवेदकले भिसा पाउनुभन्दा अगाडिको अन्तिम प्रकृया हो । यो अन्तरवार्तापछि आवेदकलाई भिसा दिने वा नदिनेबारे अन्तिम निर्णय गरिन्छ । तर कोरोनाको महामारीका कारण कन्सुलर सेवा प्रभावित हुँदा भिसा अन्तरवार्ताहरु रोकिने र ढिलो हुने समस्या देखिएको थियो ।
अन्तरवार्ता छुटको व्यवस्थाले यसरी ब्याकलगमा रहेका भिसालाई प्रकृयामा लैजानका लागि कन्सुलर अधिकारीहरुलाई अधिकार प्रदान गर्छ ।
दूतावासहरुले आवश्यक परेमा उनीहरुको अन्तरवार्ता भने तय गर्न सक्नेछन् । स्थानीय अवस्थालाई र हरेक आवेदनलाई मूल्यांकन गरेर कुनै कुनै आवेदनमा अन्तरवार्ता लिने छुट दूतावास र कन्सुलेटहरुलाई रहेको विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।
आर्थिक वर्ष २०२२ मा जारी गरेको झण्डै ७० लाख गैरआप्रवासी भिसामध्ये झण्डै आधालाई व्यक्तिगत अन्तर्वार्ता बिना नै भिसा दिइएको विदेश मन्त्रालयले जनाएको छ । नयाँ नीतिले भिसा पर्खाइको समयलाई सफलतापूर्वक घटाएको र पर्यटक भिसा आवेदकहरू सहित पर्खाइको समयलाई सकेसम्म चाँडो अझ कम गर्न हर प्रयास गर्ने विदेश मन्त्रालयको भनाई छ ।






