कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने जनाएको छ । कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले औपचारिक रुपमा सबै प्रदेश र संघमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुने बताए।

‘प्रदेश सरकार बनाउन प्रक्रिया अघि बढाउने अधिकार प्रदेश समितिलाई दिइएको छ,महतले भने, ‘सरकार बनाउन प्रदेश समितिहरूले दलहरूसँग छलफल गरेर अघि बढ्छन् । उहाँहरूको रायका आधारमा सात प्रदेशका सरकारका विषयमा केन्द्रले निर्णय गर्छ ।’

शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा आफु प्रधानमन्त्री हुनुपर्ने दाबी गरेका थिए ।
यता, कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ । तर ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेस प्रवक्ता महत भन्छन्, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल हुन्छ ।’
आइतबारकै बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । मंगलबार वा बुधबार दलको चुनाव हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com