प्रचण्डले मागे पहिलो चरणमा प्रधानमन्त्री, देउवाले भने -पख्नुहोस्


प्रकाशित मिति : पुस २, २०७९ शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । बालुवाटार स्रोतका अनुसार उक्त भेटमा प्रचण्डले शक्ति बाँडफाटका विषयमा छलफल गर्न चाहेकामा प्रधानमन्त्री देउवाले कांग्रेस संसदीय दलको नेता चयन हुने बेलासम्म पर्खिन आग्रह गरे ।
माओवादी अध्यक्ष प्रचण्ड अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बनाउन र पहिलो पालोमा आफू प्रधानमन्त्री हुन चाहेका छन् । त्यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता प्रमुख पदको भागवण्डाबारे छलफल गर्न चाहन्छन् ।

कांग्रेसले समानुपाति सांसदले प्रमाणपत्र पाएपछि संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रियामा जाने जनाएको छ । निर्वाचन आयोगले पुुस ३ गते प्रमाणपत्र दिने छ । त्यसपछि मात्र कांग्रेसले संसदीय दलको नेताले चयन प्रक्रिया सुरु गर्ने छ । कांग्रेसमा संसदीय दलको नेता जो चयन हुन्छ, पार्टीले सरकारको नेतृत्व गरेको अवस्थामा उही नै प्रधानमन्त्री बन्ने कांग्रेस विधानमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com