विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको खेल अगाडि जान्नै पर्ने ५ कुरा


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

लियोनल मेस्सीको अन्तिम मौका। पेलेको अनुकरण गर्दै केलियन एमबाप्पेको प्रहार। अर्जेन्टिना वा फ्रान्सका लागि तेस्रो विश्वकप उपाधि। आइतवारको विश्वकपको फाइनल विभिन्न कथाहरुले भरिपूर्ण छ । किनकि विश्व कपको २२ औं संस्करण यसपटकका लागि उपयुक्त शीर्ष खेलको साथ समाप्त हुँदैछ ।

मेस्सीको क्षण

के लियोनल मेस्सी सबै समयका महान फुटबल खेलाडी हुन् ? यो बहस सधैंको लागि रहिरहनेछ । किनभने त्यहाँ कुनै एक निश्चित जवाफ हुन सक्दैन। विशेष गरी युवा फुटबल प्रशंसकहरू मेस्सी सबै समयमा महान खेलाडीका रुपमा सोच्छन् । जबकि कैयनले पेले र डिएगो म्याराडोनालाई औंल्याउँछन् । किनभने उनीहरूले विश्वकप जितेका थिए । यही कारणले गर्दा मेस्सीले पेले र म्याराडोनासँगै सबैभन्दा महान् खेलाडीहरूको सुचीमा सामेल हुन विश्वकप जित्नुपर्छ भन्ने तर्क गर्छन् ।

यद्यपी को पहिलो, को दोश्रो र को तेश्रो भन्ने कुरा व्यक्तिगत छनौटमा भरपर्छ । अर्जेन्टिना अझै म्याराडोना र मेस्सी बीच विभाजित छ । र तिनीहरू बीच उल्लेखनीय समानताहरू छन् । किनभने मेस्सीले पनि टोलीमा सन् १९८६ मा म्याराडोनाले देखाएको जस्तै अथक प्रतिभा र लडाइँको भावना देखाउँछन्। मेस्सी आफ्नो दोस्रो विश्वकपको फाइनलमा जाँदैछन् । यसपटकको ठूलो मौका सदुपयोग गर्न सक्लान् वा नसक्लान् ? हेर्न बाँकी छ ।

कम छैनन् एमबाप्पे

एमबाप्पेले क्लब फुटबलमा सबैभन्दा ठूलो पुरस्कार च्याम्पियन्स लिग जित्न नसकेतापनि उनले अन्तर्राष्ट्रिय खेलमा आँधीबेहरी ल्याएका छन् । उनी २३ वर्षको उमेरमा ब्याक टू ब्याक विश्वकप जित्नबाट एक जित टाढा छन् । उनले दुईवटा विश्वकप जितेर पेलेको उपलब्धिको अनुकरण गर्न सक्छन् । एमबाप्पले फुटबलको पछिल्लो सुपरस्टार हुन्, जसले मेस्सी र क्रिस्टियानो रोनाल्डोको १५ वर्षको वर्चस्व पछि खेलमा प्रतिभाको नयाँ लहरको नेतृत्व गर्दछन् । एम्बाप्पेले विश्वकप जितेमा वास्तविक रुपमा नयाँ उत्तराधिकारी जन्मिएको क्षण मानिनेछ।

तेश्रो टाइटल 

अर्जेन्टिना र फ्रान्स दुवै तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा रहदा उनीहरु मध्ये १ ५ पटक जितेको ब्राजिल तथा चार चारपटक जितेका जर्मनी र इटलीपछि सबै समयको सूचीमा चौथो स्थानमा आउनेछन् । जर्मनीका तीन उपाधि पश्चिम जर्मनीले सन् १९५४, १९७४ र १९९० मा जितेको थियो। फ्रान्सले १९९८ र २०१८ मा जितेको थियो भने अर्जेन्टिनाले १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको थियो।

डेसच्याम्प्स

ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रान्ज बेकेनबाउरजस्तै डेसच्याम्प्सले खेलाडीका रुपमा १९९८ र प्रशिक्षकका रुपमा २०१८ मा विश्वकप जितिसकेका छन्। जागालो र बेकेनबाउर दुबैले कोचका रुपमा जितेका छैनन् । यद्यपी जागालो खेलाडीको रूपमा दुई पटक यो उपलब्धि हासिल गरेर तीन पटक क्यारियर च्याम्पियन बने । इतिहासले अहिले डेसच्याम्प्सको लागि संकेत गरेको छ । व्यवहारिकता उनको कोचिङ शैलीको चाँबी पनि हो ।

गोल्डेन बुट

विश्वकपमा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट जित्नका लागि चार खेलाडी प्रतिस्पर्धामा छन् । निस्सन्देह, मेस्सी र एमबाप्पे तिनीहरूमध्ये हुन् । उनीहरू प्रत्येकले अहिलेसम्म पाँच पाँच गोल गरेका छन् । जुन अर्जेन्टिनाका स्ट्राइकर जुलियन अल्भारेज र फ्रान्सका सेन्टर फरवार्ड ओलिभर गिरौडभन्दा एक बढी हो । खेलका नियमहरू अनुसार, यदि दुई वा बढी खेलाडीहरू गोलको आधारमा बराबर छन् र समान संख्यामा खेल खेलेका छन् भने गोल गर्न सबैभन्दा बढी सहयोग गर्नेले पुरस्कार लिन्छ। चार खेलाडीहरूमध्ये मेस्सीले हाल एमबाप्पे भन्दा एक बढी अर्थात् तीन पटक उनको सहायतामा गोल भएको छ । सन् २००२ मा ब्राजिलका स्ट्राइकर रोनाल्डोले ८ गोल गरेपछि कुनै पनि खेलाडीले विश्वकपमा ६ भन्दा बढी गोल गरेका छैनन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com