राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २९ फागुनमा सकिँदै, कसले पाउला राष्ट्रपति ?


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल २९ फागुनमा सकिँदैछ । तर, त्यसअघि नै संसद्ले नयाँ राष्ट्रपति चुन्न सक्ने सम्भावना देखिएको छ ।

दलहरूबीच सरकार गठनको विषयमा ठोस छलफल नभइसकेपनि राष्ट्रपतिमा चर्चा सुरु भइसकेो छ । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेकाहरुको नाम मंगलबार सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया पूरा हुनेछ । त्यसपछि मात्र दलहरू सरकार गठनमा औपचारिक रूपमा छलफलमा जुट्ने छन् ।

नयाँ सरकार गठन भएपछि मात्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । त्यसैले पुस अन्तिम वा माघ पहिलो सातातिर देशले नयाँ राष्ट्रपति पाउने देखिन्छ ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादवले पनि करिब सात वर्ष शीतल निवासमा बिताएका थिए । अब तेस्रो राष्ट्रपतिको खोजी सुरु भएको छ ।

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुने क्रममा राष्ट्रपतिका लागि प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जनाले भोट हालेका थिए । त्यसबेला कुल ८८४ मध्ये ८७९ जना मात्रै सहभागी भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको थियो।

सरकार बनाउन अहिलेको सत्ता गठबन्धनसँग बहुमत नपुग्ने भएकाले सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने सम्भावना छ । उपेन्द्र यादव नेतृत्वको जसपा पनि सरकारमा सामेल हुने मनस्थितिमा छ ।

गठबन्धनमा आबद्ध दललाई मनाएर आफ्नो नेतृत्वमा सरकार र कांग्रेसबाटै राष्ट्रपति बनाउने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको योजना छ । उनी सकेसम्म सांसद नभएको व्यक्तिलाई राष्ट्रपतिमा पठाउने पक्षमा छन् ।

सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ । कांग्रेसमा अरु राजकीय पद बाँडफाँड गरेर भए पनि राष्ट्रपति आफैंले राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

राष्ट्रपति कसको भागमा पर्छ भन्ने निश्चित भइनसके पनि आकांक्षीले दौडधुप गरिरहेका छन् । नयाँ संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था छ । त्यसैले देशको तेस्रो राष्ट्रपति पुरुष वा महिला को बन्लान् भन्ने चासो देखिएको छ ।

यतिबेला राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, पूर्वसभामुखद्वय अग्निप्रसाद सापकोटा र कृष्णबहादुर महरा तथा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको नाम चर्चामा आएको छ । मधेस केन्द्रित दलहरूले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन सकिने बताउन थालेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com