राष्ट्रपतिका लागि आधादर्जन बढी नेताहरुको चर्चा र दौडधुप


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

नेपालको भावी राष्ट्रपति बन्नका लागि नेताहरूको चर्चा र दौडधुप सुरु भइसकेको छ । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो नलागेपनि नेताहरुको कसरत भने सुरु भइसकेको छ ।

कांग्रेसमा प्रधानमन्त्रीमा दावी गरिरहेका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पाएमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न तयार रहेको समाचार नेपालका संचारमाध्यमहरुमा आएको छ ।

माओवादीमा पनि राष्ट्रपति पाए आफूले जिम्मेवारी लिने इच्छा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुखहरु अग्नि सापकोटा र कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष पेस गरेको जनाइएको छ ।

प्रचण्ड भने आफ्नो निर्वाचन क्षेत्र छाडेर सहयोग गरेकामा बाबुराम भट्टराईप्रति पनि नरम देखिएका छन् । यद्यपी माओवादीको कोटामा राष्ट्रपति आएमा बाबुरालाई समर्थन गर्ने आश्वासन भने दिएका छैनन् ।

त्यस्तै एकीकृत समाजवादीका माधवकुमार नेपाल र झलनाथ खनाल पनि राष्ट्रपतिका लागि चर्चामा छन् । प्रतिनिधिसभा निर्वाचनमा हारेपछि पूर्वप्रधानमन्त्री खनालले राष्ट्रपतिका लागि इच्छा व्यक्त गरेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com