यी हुन् विश्वकपमा चीनमा भाइरल बनेका कतारका राजपरिवारका टीनएजर सदस्य


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

एक १६ वर्षीय टिनएजर विश्वकपको उद्घाटन खेलमा कतारको हारबाट स्पष्ट निराश देखिएपछि चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेका छन् । उनी कतारका शाही परिवारको सदस्य भएको जनाइएको छ ।

आयोजक देश कतार इक्वेडरसँग पराजित हुँदा अब्दुलरहमान फहाद अल थानीको अनुहारको भावसँगै परम्परागत कतारी ड्रेसका साथमा विश्व कपको मस्कट जस्तो देखिएको भन्दै चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेका हुन् ।

विश्वकपको मस्कट चिनियाँ डम्पलिंगको खोलजस्तो भएको भन्दै मजाक गरेका चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शाही परिवारका सदस्यको नाम पनि माया गरेर डम्पलिंग र्यापर राजकुमार राखेका छन् ।

‘हामी उनलाई माया गर्छौं किनभने उनी मायालु छन् । राजनीतिसँग यसको कुनै सरोकार छैन,’ –  एक सामाजिक सञ्जाल प्रयोगकर्ताले  टिप्पणी गरेका छन् ।

टिकटकको चिनियाँ संस्करणमा प्रयोगकर्ताहरूले अब्दुल रहमानको अनुहारको हावभावहरू नक्कल गर्ने प्रयास गरेका छन् । उनीहरूले आफैंले बनाएको हेडड्रेस लगाएर यस्तो नक्कल गरेका छन् । अब्दुल रहमानका लागि ह्यासट्यागहरू भाइरल भएका छन् भने अब्दुलरहमानका तस्बिरहरू चिनियाँ फुटबल फ्यानहरूका लागि मुख्य इमोजी प्याक भएका छन्।

अब्दुलरहमान पनि रमाइलोमा सामेल भएका छन् । उनले टिकटकको चिनियाँ भर्सनमा एकाउन्ट समेत खोलेका छन् । जसमा एक हप्ता भन्दा कम समयमा १५ मिलियन भन्दा बढी फलोअरहरू छन् । उनले एउटा भिडियो पोष्ट गरेपछि एकैदिनमा उनका साढे २ मिलियन फलोअरहरू बढेका थिए ।

नि हाओ। हेलो । यो मेरो सबै चिनियाँ साथीहरूको लागि मेरो सन्देश हो। तपाईंहरु सबैको मायाका लागि धेरै धेरै धन्यवाद, उनले आफ्नो पहिलो भिडियोमा भनेका छन् ।

चीनको सरकारी प्रसारक सीसीटीभीसँगको अन्तर्वार्तामा अब्दुलरहमानले खेलपछि चीनमा आफूले पाएको चर्चा देखेर छक्क परेको बताएका छन् ।

‘मैले प्रतिक्रिया दिइरहेको थिएँ, केवल एक सामान्य प्रतिक्रिया । मैले चीन वा अन्य कतै पुग्ने इमान्दारीपूर्वक अपेक्षा गरेको थिइन।’ –  उनले भनेका छन् ।

तर उनले सकारात्मक प्रभाव पार्न पाएकोमा आफू खुसी भएको र चीनका मानिसहरूलाई आफ्नो देश आफैं हेर्न निम्तो दिए। उनले भने – ‘हाम्रो रोचक संस्कृतिको अनुभव गर्न तपाईहरू सबै चिनियाँ प्रशंसकहरूलाई कतारमा स्वागत छ।’

त्यसयता कतार विश्वकपबाट समूह चरणका तीनवटै खेल हार्ने पहिलो आयोजक राष्ट्र बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com