ग्रिनकार्डमा अमेरिका आइसकेपछि तुरुन्तै चाल्नुपर्ने ५ कदम


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

यदि तपाई आप्रवासी भिसामा अमेरिका आउनुभएको छ वा आउने योजनामा हुनुहुन्छ भने अमेरिका आउने बित्तिकै तपाईले गर्नुपर्ने केही महत्वपूर्ण कामहरु हुन्छन् । यदि तपाईले ती कामहरु तुरुन्तै नगरेको खण्डमा भविश्यमा तपाईलाई समस्या वा कानूनी झण्झट समेत हुनसक्छ ।

सोसल सेक्युरिटी नम्बर आवेदन

यदि तपाईंले आफ्नो भिसा आवेदन दिंदा अमेरिकी विदेश मन्त्रालय अन्तरगत फारम डीएस २३० वा डीएस २६० भर्दा सोसल सेक्युरिटी नम्बर कार्ड अनुरोध गर्नुभएको थियो भने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सामाजिक सुरक्षा प्रशासनलाई तपाईका लागि सोसल सेक्युरिटी कार्ड जारी गर्न आवश्यक जानकारी प्रदान गर्छ । तर तपाईले यदि आप्रवासी भिसा फर्म भर्दा वा ग्रिनकार्ड आवेदन दिंदा सोसल सेक्युरिटी नम्बर अनुरोध गर्नुभएको थिएन भने तपाईले सोसल सेक्युरिटी अफिसमा गएर आवेदन दिनुपर्छ ।

आप्रवासी भिसा फर्म भर्दा वा ग्रिनकार्ड आवेदन दिंदा सोसल सेक्युरिटी नम्बर अनुरोध गर्नुभएको थियो भने तपाईले छुट्टै आवेदन दिइरहनुपर्दैन । स्वत तपाईको ठेगानामा आउँछ ।

अमेरिकामा काम गर्न, बैंक खाता खोल्न, कर तिर्न, परिचयपत्र बनाउन लगायतका कैयन महत्वपूर्ण काममा यो नम्बरको आवश्यकता पर्छ । तपाईले भिसा आवेदन दिंदा कार्ड अनुरोध गर्नुभएको थियो भने तपाई अमेरिका आएको तीनसाताभित्र तपाईले कार्ड प्राप्त गर्नुहुनेछ । यदि तपाईले अनुरोध गर्नुभएको थिएन र सोसल सेक्युरिटी अफिसमा गएर आवेदन दिनुभएको थियो भने पनि त्यस्तै अवधि लाग्छ ।

स्टेट आईडी आवेदन

तपाईले सोसल सेक्युरिटी नम्बर प्राप्त गरिसकेपछि बैंक खाता खोल्न सक्नुहुनेछ । त्यसपछि तपाईले चाल्ने महत्वपूर्ण अर्को कदम हो, राज्यले प्रदान गर्ने परिचयपत्रका लागि आवेदन । सोसल सेक्युरिटी नम्बर, बैंक कार्ड, ग्रिनकार्ड, पासपोर्ट, ठेगानाको प्रमाण लगायतका विवरणहरु पेश गरेपछि तपाईले राज्यले प्रदान गर्ने परिचयपत्र प्राप्त गर्नुहुनेछ ।

यो परिचयपत्र अमेरिकामा जहाजमा यात्रा गर्दा, विभिन्न सरकारी र अन्य भवनहरुमा छिर्दा लगायतका कैयन प्रयोजनका लागि आवश्यक पर्छ । अमेरिकी सरकारले सन् २०२१ को अक्टोबर १ बाट अमेरिकाभित्र जहाजमा यात्रा गर्नका लागि रियल आईडी अर्थात् स्टारसहितको आईडी अनिवार्य गर्ने डेडलाइन तय गरेको छ ।

सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ । उक्त आईडीसहित यात्रा गर्दा तपाईले पासपोर्ट बोकिरहनु पर्दैन ।

सेलेक्टिभ सर्भिसमा दर्ता

यदि तपाई १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष हुनुहुन्छ भने तपाईले अनिवार्यरुपमा अमेरिकी सेनाको सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ । २६ बर्ष पुगेको व्यक्तिले दर्ता गर्नुपर्दैन । यदि ग्रिनकार्डवाहकले सैन्य सेलेक्टिभ सर्भिसमा आफूलाई दर्ता गराएको छैन भने उसको ग्रिनकार्ड गुम्नसक्ने र पछि अमेरिकी नागरिकता नपाउनसक्ने खतरा हुन्छ ।

सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको व्यक्तिले अमेरिकी नागरिकता प्रकृयामा ५ बर्षसम्म ढिलो हुनसक्ने, संघीय, राज्य र स्थानीय सरकारमा जागिर खान नपाउने, संघीय तालिम, ऋण वा ग्रान्टहरु पनि लिन नपाउने हुनसक्छ । अमेरिका आएको ३० दिनभित्र सेलेक्टिभ सर्भिसमा दर्ता गर्नुपर्छ । नगर्ने व्यक्तिलाई साढे २ लाख डलरसम्म जरिवाना र ५ बर्षसम्म जेल तथा अमेरिकी नागरिकता अस्वीकारसम्मको सजायको व्यवस्था छ ।

ठेगाना परिवर्तनबारे जानकारी

यदि तपाई अमेरिका आइसकेपछि सुरुमा युएससीआईएसलाई दिएको ठेगाना परिवर्तन गरेर अरु स्थानमा बस्न थाल्नुभएको छ भने तपाईले ठेगाना परिवर्तनको जानकारी तुरुन्तै दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन ।

युएससीआईएसमा ठेगाना परिवर्तनका लागि तपाईले फर्म एआर ११ को प्रयोग गर्नुपर्छ । यदि तपाईको युएससीआईएसमा अनलाइन एकाउण्ट छ भने अनलाइनमा यो फर्म भरेर ठेगाना परिवर्तन गर्न सकिन्छ । यदि छैन भने हुलाकमार्फत पठाउन सकिन्छ ।

कानुन अनुशार अमेरिकी नागरिकबाहेक अरु व्यक्तिले ठेगाना परिवर्तन गरेको १० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । ग्रिनकार्डवाहकले अनलाइनमार्फत नै ठेगाना परिवर्तन गरेको जानकारी गराउन सक्छन् । तीसदिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरुले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनु पर्दैन ।

यदि कुनै ग्रिनकार्डवाहकले जानाजान ठेगाना परिवर्तनको जानकारी युएससीआईएसमा नगरेको खण्डमा २ सय डलर जरिवाना र ३० दिनसम्म कैदसजाय हुनसक्ने कानुनी प्रावधान छ । ग्रिनकार्डवाहकले आफूले ठेगाना परिवर्तनबारे जानकारी गराउन नसक्नुको तार्किक कारण पेश गर्न नसकेमा वा जानजान ठेगाना परिवर्तनबारे जानकारी नगराएको प्रमाणित गर्न नसकेमा देशनिकालासम्म हुनसक्ने कानुनी प्रावधान छ ।

जुरी ड्युटी

अमेरिकी नागरिकता नभएको व्यक्ति जुरी ड्युटीमा जानु पर्दैन । तर कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीको पत्र प्राप्त गर्न सक्छन् ।

जुरी ड्युटीका लागि कम्तीमा १८ बर्ष उमेर पुगेको अमेरिकी नागरिक हुनुपर्छ । ग्रिनकार्ड वाहक, अन्य भिसामा रहेकाहरु र कागजपत्रविहिनहरु यो ड्युटीका लागि योग्य हुँदैनन् । जुरी ड्युटीका लागि पठाइएको पत्रमा विभिन्न प्रश्नहरु सोधिएको हुन्छ । जसमा तपाई अमेरिकी नागरिक भए नभएको पनि सोधिन्छ । तपाईले आफू अमेरिकी नागरिक नभएको विवरण र प्रमाणसहितको पत्र अनिवार्यरुपमा पठाउनुपर्ने हुन्छ । त्यसका लागि आफ्नो पासपोर्ट वा ग्रिनकार्डको फोटोकपी पठाउनु उपयुक्त हुन्छ ।

यदि जुरी ड्युटीका लागि प्राप्त पत्रलाई वेवास्ता गरिएमा जेल सजाय वा जरिवाना समेत हुनसक्छ । जुरीको पत्रलाई वेवास्ता गरिएमा वा जुरीमा उपस्थीत नभएमा न्यायाधिसले त्यस्ता व्यक्तिका नाममा बेन्च वारेन्ट जारी गर्नसक्छ । यो वारेन्ट सामान्यतया पक्राउ पुर्जीका रुपमा जारी हुन्छ । यो वारेन्टले प्रहरीलाई जुरी ड्युटी वेवास्ता गर्ने व्यक्तिलाई पक्राउका लागि अनुमति दिन्छ । उक्त वारेन्टका आधारमा प्रहरीले तपाईले घर, काम, कलेज जहाँबाट पनि पक्राउ गर्न सक्छ ।

यदि यस्तो वारेन्ट जारी भएको खण्डमा प्रहरीले सधै तपाईको घरमा आएर तपाईलाई पक्राउ नगर्न पनि सक्छ । तर तपाई ट्राफिक नियम उल्लंघन वा कुनै कारणले प्रहरीको सम्पर्कमा आउनुभयो र प्रहरीले तपाईको बारेमा सोधपुछ गर्न थालेको खण्डमा उनीहरुको प्रणालीमा देखिने वारेन्टका कारण तपाईलाई तत्काल हतकडी लगाएर लैजान सक्छ ।

१८ बर्ष उमेर नपुगेको, अमेरिकी नागरिक नभएको, कम्तीमा एकबर्ष सम्बन्धित जिल्लामा नबसेको, योग्यता फर्म भर्नका लागि अँग्रेजी भाषा नजानेको, मानसिक र शारिरिक रुपमा अशक्त रहेको, एकबर्ष भन्दा धेरै जेलमा बसेको, कुनै अपराध गरेको व्यक्ति जुरी ड्युटीका लागि योग्य हुँदैन । त्यस्तै अमेरिकी सेनामा रहेको, अग्नी नियन्त्रक वा प्रहरी विभागमा काम गरिरहेको र पूर्णकालिन रुपमा सरकारी सेवामा रहेको व्यक्ति जुरी ड्युटीमा जानु पर्दैन ।

जुरी ड्युटीलाई अमेरिकामा ट्याक्स तिर्नुजस्तै कर्तब्यका रुपमा लिइन्छ । सामान्यतया यो जुरी ड्युटी एकदेखि दुईदिनसम्मको हुन्छ । जुरी ड्युटीमा सहभागी भएबापत सरकारले तपाईलाई पारिश्रमिक समेत उपलब्ध गराउँछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com