विद्यालयमा इन्टरनेट विस्तार, आधुनिक प्रविधिमार्फत पठनपाठन


प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार

बागलुङको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ ।

अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक विद्यालय र वडा नं १ को जनजागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ ।

धन गौ ज्योति र जनजागृति माविमा गत वर्ष र शान्ति माविमा दुई वर्ष अगाडि इन्टरनेट जडान भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाले यसै वर्ष वडा नं २ को जनज्योति आधारभूत विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको उहाँको भनाइ छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार पालिकाले विद्यालयमा इन्टरनेट विस्तार गरेको उहाँको भनाइ छ ।

उहाँले अहिले चार विद्यालयमा मात्रै इन्टरनेट विस्तार गरेको भन्दै अब विस्तारै अन्य विद्यालयमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । अध्यक्ष बुढामगरले भन्नुभयो, “हाल पालिकाका तीन मावि र केही आधारभूत तहका विद्यालयमा इन्टरनेट विस्तार गरेका छौँ, अन्य विद्यालयमा पनि विस्तारै जडान गर्ने योजना छ, प्रविधिको विकाससँगै अब दुर्गमका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने हाम्रो प्रयास हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यालयमा इन्टरनेट जडानपछि शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्दै गए पनि केही समयदेखि अवरुद्ध हुँदा शिक्षण सिकाइमा समस्या भएको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भविन्द्र पुनले बताउनुभयो । उहाँले अहिलेको युगमा इन्टरनेट अतिआवश्यक भएको जनाउँदै यसले पठनपाठनमा निकै सहजता प्रदान गरेको छ भन्नुभयो ।

“इन्टरनेट जोडेको केही महिना राम्रोसँग चल्यो अहिले अवरुद्ध भएको छ, अहिलेको जमानामा इन्टरनेटबिना शिक्षण सिकाइ अपूरो हुन्छ”, प्रअ पुनले भन्नुभयो, “शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि इन्टरनेटको विकल्प छैन, सबै विद्यालयमा यो विस्तार हुन जरुरी छ ।”

उहाँले इन्टरनेट जडानपछि विद्यार्थीलाई सिक्न रुचि राखेको विषय प्रत्यक्ष देखाएर सिकाउन सकिने भन्दै तत्काल देश–विदेशका घटनाका सूचना सजिलै प्राप्त गर्न सकिने उहाँको भनाइ छ । कोभिडको समयमा अनलाइन कक्षा सञ्चालनमा समेत ठूलो टेवा पुगेको उहाँको भनाइ छ ।

तमानखोलाका उपाध्यक्ष हीराकुमारी छन्त्यालले सूचना प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनका लागि विद्यालयमा इन्टरनेट विस्तार गर्न थालेको बताउनुभयो । सुरुमा वडा कार्यालयमा इन्टरनेट जडान गरेकामा अहिले विद्यालयमा समेत विस्तार गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

“हामीले केटमाइन इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेर वडाहरूमा इन्टरनेट विस्तार ग¥यौँ, विद्यालयहरूमा पनि यसको अतिआवश्यक हुँदा अहिले माध्यमिक तहका विद्यालयमा जडान गरेर सुरुआत गरेका छौँ”, उपाध्यक्ष छन्त्यालले भन्नुभयो, “शिक्षा प्रविधिमैत्री बनाउने हिसाबले इनटरनेट जडानको कामलाई अगाडि सारिएको हो, यसले पक्कै पनि विद्यार्थीको सिकाइमा केही नयाँपन ल्याउने र प्रभावकारी बनाउने छ ।”

तमानखोलामा २४ विद्यालय छन् । ती मध्ये माध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय नौ र प्राथमिक विद्यालय १२ छन् । विद्यालयमा इन्टरनेट जडानपछि विद्यार्थीसमेत हर्षित बनेका छन् । कक्षा १० मा पढ्ने रोहित बुढामगरले विद्यालयमा इन्टरनेट जडान भएपछि कम्प्युटर सिक्न र नयाँ ज्ञान, सीप सिक्न सहज भएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com