चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता


प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।

चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मान्नुभएन र उहाँ घर फर्किनुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उहाँको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो । बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न हुनुहुन्थ्यो । बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न हुनुभयो । उहाँ त्यतिबेला खबर ओसारप्रसारमा संलग्न हुनुभएको थियो ।

विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राख्नुभएकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभयो । उहाँको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो । “सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भए”, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भन्नुभयो, “महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिए ।”

त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उहाँको राजनीतिक यात्रा लामो छ । विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी सङ्घ तेह्रथुमको सचिव बन्नुभयो । विसं २०५४ मा उहाँ नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला सङ्घ तेह्रथुमको अध्यक्ष बन्नुभएको थियो ।

विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बन्नुभएकी सीता २०६० सालमा सचिव बन्नुभएको थियो । लगातार पार्टी राजनीतिमा लाग्नुभएकी उहाँ २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बन्नुभयो ।

विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बन्नुभएकी सीताले संविधानसभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गर्नुभयो । उहाँ तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुनुहुन्छ । दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाउनुभएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बन्नुभएको थियो ।

तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्नुभयो । उहाँ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित हुनुभएको थियो । दोस्रो प्रयासमा यस पटक नेकपा ९एमाले० का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दैहुनुहुन्छ । सीताले १९ हजार सात सय दुुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाउनुभएको थियो ।

विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहनुभएकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ । “तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्”, उहाँले भन्नुभयो, “अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु”, नवनिर्वाचित सांसद सीताले भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com