क्रोधको सौन्दर्य


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

– विमल निभा

असार २४, २०७४- टेलिभिजन स्क्रिनमा हाम्रो शेरबहादुर दाइको स्वाभाविक क्रोधपश्चात हाँसोको लहर उठेको छ । कुन्नि, किन सबै पेट मिचिमिची हाँसिरहेका छन् ! यसले उहाँको साविक बमोजिमको क्रोधमा झन् कति उग्रता थपेको होला । यस सिलसिलामा म पनि कम्ता क्रोधमा छैन । किनभने म पनि एक कांग्रेसी नै हुँ । यङ कांग्रेस मेन । त्यसउसले के मैले आफ्नो सम्माननीय नेता अर्थात शेरबहादुर दाइको जायज क्रोधलाई अझ समृद्ध पार्नुपरेन त ?
होइन, हाम्रो शेरबहादुर दाइको क्रोधमा सबैले हाँसिहाल्नुपर्ने त्यस्तो हास्यतत्त्व कहाँनेर छ ? तपाईहरू एकपटक आआफ्नो गैरकांग्रेसी दृष्टिकोणको कालो चस्मा फुकाल्नोस्, त्यसपछि मात्र नेपाली कांग्रेसको फराकिलो दृश्यफलकमा यो देउवा क्रोधको वास्तविक हैसियत देखा पर्नेछ । यो अतिशय गम्भीर खालको क्रोध हो । यसको ऐतिहासिक महत्ता हामी कांग्रेसीहरू राम्ररी बुझ्छौं । यसमा स्वर्गीय बीपी कोइरालाको वैचारिकता, स्वर्गीय गणेशमानजीको साहस र स्वर्गीय किसुनजीको सन्तत्वको अद्भुत मिश्रण रहेको छ । अब यहाँनेर एउटा ठूलो प्रश्न उत्पन्न हुनसक्छ, के क्रोधमा स्वर्गीय गिरिजाबाबुको कुनै देन रहेको छैन ? होइन–होइन, वस्तुत: उहाँको तमाम ज्ञात–अज्ञात क्रृतत्वकै प्रतिफलमा यो शेरबहादुर दाइको क्रोध अस्तित्वमा आएको हो । यसलाई नेपाली कांग्रेसको क्रुद्ध अस्तित्ववाद भने हुन्छ । मेरो भन्नु के हो भने नेपाली कांग्रेस पार्टीले आफ्नो प्रारम्भ कालदेखि नै उचित प्रकारको पालन–पोषण गरेर हाम्रो शेरबहादुर दाइको क्रोधलाई सफलताका साथ यहाँसम्म ल्याइपुर्‍याएको हो । यसको पुष्टिका लागि तपाईहरूले उहाँको नेपाल विद्यार्थी संघदेखि हालको प्रधानमन्त्रीसम्मको राजनीतिक यात्रालाई हेरे हुन्छ, यो सम्पूर्णत: क्रोध, क्रोध र क्रोधले निर्मित सत्तायात्रा हो ।
उहाँ त्यसै मुसुमुसु तालले चार–चारपटक प्रधानमन्त्री हुनुभएको होइन । यसमा समाविष्ट हाम्रो शेरबहादुर दाइको जोरजुलुमपूर्ण क्रोधको अनुपम भूमिकालाई उपेक्षा गर्न मिल्दैन । हेर्नाेस्, अहिलेको बहुचर्चित टेलिक्रोध (टेलिभिजनको ‘साझा सवाल’ कार्यक्रममार्फत) त फगत छोटोमोटो झलक हो ।
हाम्रो शेरबहादुर दाइ सदैव स्थायी क्रोधमा विश्राम गरिरहनुहुन्छ भन्ने पनि होइन । एउटा शेरबहादुरीय उदाहरण प्रस्तुत गर्छु । केही दिनअघि उहाँ सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा पुरै क्रोधविहीन अवस्थामा देखापर्नुभएको थियो । यो कल्पनीय थिएन । यस्तो अचम्मको देउवा साक्षात्कारले हामी परस्पर खासखुस गर्न बाध्य भयौं– ‘आज शेरबहादुर दाइलाई के भएको हो ? उहाँ किन आफ्नो क्रोधमा हुनुहुन्न ? उहाँको ओँठमा यो कस्तो मुस्कान हो ? हँ, के भयो, उहाँको तगडा स्वास्थ्यलाई ? हाम्रो शेरबहादुर दाइको मुड त ठिक छ ? होइन, के भएको हो उहाँलाई ? कुनै अनर्थ त हुनलागेको छैन ? उहाँ किन क्रुद्ध हुनुहुन्न ? के सबै ठिकठाक त छ ? असलमा हाम्रो शेरबहादुर दाइलाई के भयो ? आदि–इत्यादि ।’ वास्तवमा कुरो के हो भने हामी सम्पूर्ण कांग्रेसजन यसरी अक्रोधमा रहेको शेरबहादुर दाइको विलकुलै अभ्यस्त छैनौं ।

संक्षेपमा हामी आफ्नो कांग्रेस पार्टीसहित हाम्रो शेरबहादुर दाइको मौलिक क्रोधलाई असाध्यै माया गर्छौं । यसको यावत् सौन्दर्य (शास्त्र) लाई आत्मसात गर्न कम्तीमा कांग्रेसी हुनैपर्छ । यही एकमात्र अनिवार्य सर्त हो । तपाईहरू जस्तो गैरकांग्रेसीलाई यसबारे के थाहा हुनसक्छ ? म त व्यक्तिगत तवरमा शेरबहादुर दाइको अग्घोर ‘फ्यान’ नै हुँ । त्यसकारण उहाँको क्रोधलाई लिएर अरूहरूले हाँसो उडाएको मलाई पटक्कै प्रिय लागेको छैन । के देउवा–क्रोध कुनै ठट्टाको विषय हो ? हो, यसर्थ आज म पनि शतप्रतिशत क्रोधमा छु । यो एक युवा कांग्रेसीको भीषण क्रोध हो । म हाम्रो शेरबहादुर दाइको समसामयिक टेलिक्रोधको पत्युत्तरमा बेस्सरी हाँस्नेहरूलाई पेटेन्ट देउवा–क्रोध एकदिन सापटी क्रोधपूर्वक भन्न चाहन्छु– आइन्दा हाँस्नु मनाही छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com