सधैं पहिरो


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

– विमल खतिवडा

असार २९, २०७४- स्तरोन्नतिका क्रममा रहेको नारायणगढ–मुग्लिन सडक खण्डमा बुधबार दिउँसो पहिरो खस्दा फेरि यातायात अवरुद्ध भएको छ । उक्त खण्डअन्तर्गत चारकिलो भन्ने ठाउँमा दिउँसो साढे ३ बजे पहिरो खसेपछि पूर्व–पश्चिम हिँडेका सवारीसाधन बीचैमा रोकिए, यात्रु अलपत्र भए । तत्कालै पन्छाउन सुरु गरिए पनि पहिरो झर्ने क्रम नरोकिँदा बाटो खुलाउन समस्या भएको छ ।

‘पहिरो खस्नासाथ पन्छाउन थालिए पनि ढुंगामाटो बग्ने क्रम नरोकिएकाले अवरोध हटाउन सकिएन,’ आयोजनाका इन्जिनियर शिव खनालले कान्तिपुरसँग भने, ‘दुइटा लोडरले पन्छाउन सुरु गरे पनि ४० मिटर लामो पहिरो पन्छाउन भ्याइएन ।’ उनले राति जोखिम हुने हुँदा बाँकी अवरोध बिहीबार बिहानैबाट पन्छाउन सुरु गरी सकेसम्म छिटो यातायात सुचारु गरिने बताए ।

सडक अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वपश्चिमका लागि हिँडेका सवारीसाधन मुग्लिनमा रोकिएका छन् । पूर्वपश्चिमबाट काठमाडौंका लागि छुटेका सवारीसाधन भने बीच सडकमै अलपत्र छन् । ‘पहिरो खस्ने जोखिम क्षेत्रमा रहेका सवारीसाधन प्रहरीको सहयोगमा सुरक्षित ठाउँमा पठाउने काम भएको छ,’ खनालले भने । पोहोर खसेकै ठाउँभन्दा माथिबाट पहिरो झरेको उनले बताए । ‘मंगलबार राति पानी परे पनि दिउँसो परेको थिएन, पोहोर खसेकै ठाउँभन्दा माथिबाट पहिरो गयो,’ उनले भने ।

इन्जिनियर खनालका अनुसार आयोजनाले काम थालेयता उक्त खण्डमा ठूलो पहिरो नै १ सय ३८ वटा खसिसकेको छ । पहिरोमा पुरिएर चार प्रहरी र दुई सर्वसाधारणको मृत्यु भएको छ । पहिरो हेर्ने क्रममा चिप्लिएर एकको मृत्यु, एक जना बेपत्ता भए । गुडिरहेका सवारीसाधन कति पुरिए, आयोजनासँग रेकर्ड छैन । अहिलेसम्म पहिरो पन्छाउन मात्र ३ सय ५९ घण्टा लागेको खनालले बताए ।

सडकको यो खण्डमा पानी पर्नासाथ पहिरो खस्छ । बेलाबेला सुक्खा पहिरोले पनि सताउँछ । ‘वर्षात्मा यो खण्डमा यात्रा गर्न जोखिम छ,’ उनले भने, ‘कुन बेला पहिरो खस्छ पत्तो हुँदैन ।’ उनका अनुसार वर्षात् सुरु भएयता निर्माणको कामसमेत प्रभावित बन्दै आएको छ । दुर्घटनाको जोखिम कम गर्न यो खण्डमा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । ठाउँ–ठाउँमा प्रहरी, प्राविधिकसहितको टोली खटिने गरेको छ । आयोजनाका अनुसार सबैभन्दा बढी जोखिम चारकिलो, पाँचकिलो, तोपेखोला, कालीखोला र चेपाङ पहाड क्षेत्रमा छ ।

२०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नति आयोजना सक्ने मिति गत असार २३ गते तेस्रो पटक सन् २०१८ फेब्रुअरीसम्मका लागि थपिएको छ । ‘राति पहिरो हटाउन समस्या भयो,’ जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्तले भने, ‘एकनतर्फी सडक खोलेर जोखिममा रहेका सवारीसाधन सुरक्षित ठाउँमा राख्नेछौं, बिहान पहिरो पन्छाएर यातायात सुचारु गर्नेछौं ।’

उनका अनुसार ट्रक र यात्रुवाहक बस छुट्टाछुट्टै ठाउँमा राख्ने व्यवस्था गरिएको बताए । यो खण्डमा यात्रुवाहक बसको तुलनामा ट्रक बढी गुड्छन् । उनका अनुसार २०७१ चैतदेखि असार २७ सम्म यो खण्डका विभिन्न स्थानमा भएका दुर्घटनामा ७२ जनाले ज्यान गुमाइसकेका छन् भने १ सय ७९ जना घाइते भए । सवारी दुर्घटनामा १४ जना त्रिशूलीमा बेपत्ता भएका छन् । प्रहरी तथ्यांकअनुसार २०७१/७२ मा ११ जना, २०७२/७३ मा १४ र यो वर्षको साउनयता ४७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ७८ वटा ठूला दुर्घटना भए । ट्राफिक प्रमुख पन्तका अनुसार सडक खण्डको चारकिलो, कालीखोला, घुमाउने, जलबिरेलगायत स्थानमा बढी दुर्घटना हुने गरेको छ । ‘अहिले पहिरोले गर्दा ठूला दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘अघिपछि तीव्र गति, ओभरटेकले बढी दुर्घटना हुने गरेको छ ।’

सडक निर्माणको ठेक्का आँपटारीबाट दासढुंगासम्म बीएलए एससीसी जेभी, दासढुंगाबाट सिमलतालसम्म उडहिल लामा जेभी र सिमलतालबाट मुग्लिनसम्म सुप्रिम रौता जेभीले पाएका छन् । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गतको नारायणगढ–मुग्लिन सडक आयोजनाको ५१ प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । निर्माणपछि सडक २ लेनको हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com