काठमाडौँ ४ मा कांग्रेस महामन्त्री गगनकुमार थापा अगाडि


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राख्नुभएको छ ।

मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उहाँले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिनुभएको हो । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको छ, भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टरार्ईले ११ हजार नौ सय ४८ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा (२) तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ । काठमाडौँ–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने काठमाडौँ महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com