नेपालका लागि अमेरिकी राजदूत थम्प्सनबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको थम्प्सनले एक वक्तब्यमार्फत जनाएका छन् । उनले भनेका छन् -‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबिचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु ।’

अहिलेको क्षण दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण रहेका बताउँदै उनले भनेका छन् -‘म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु । आगामी वर्षहरूमा अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहनेछ ।’

जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा अमेरिकाले नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत उनले बताए । नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्ने राजदूत थम्प्सनको भनाई छ ।

उनले अगाडि भनेका छन् -‘अमेरिका र नेपालबिचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षमा म आफ्नो कार्यकालभन्दा अगाडि हेर्दै आगामी ७५ वर्षको सफलताले हाम्रा पछिल्ला ७५ वर्षका ठूलाभन्दा ठूला उपलब्धिलाई उछिन्नेछ भन्नेमा निकै आशावादी छु ।’

नेपालका लागि अमेरिकी राजदूतको रूपमा आफ्नो कार्यकालको औपचारिक सुरुवात गर्न राजदूत थम्पसनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट समेत गरेका छन् । भेटघाटका क्रममा राजदूतले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धबारे छलफल गरेका छन् ।

भेटमा अमेरिका, नेपाल र विश्व समुदायका लागि महत्त्वपूर्ण मुद्दाहरूमा थप सहकार्य गर्ने तरिकाहरूबारे छलफल भएको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ ।

राजदूत डीन थम्सप्न गतसाता नेपाल आइपुगेका थिए । उनले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा केही समय विताएपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उनले सेप्टेम्बरको अन्तिम साता सपथग्रहण गरेका थिए । थम्पसनको नियुक्ती अगस्तमा अमेरिकी सिनेटबाट ध्वनीमतले अनुमोदन भएको थियो ।

जुलाईको तेश्रो साता नियुक्ती प्रस्ताव अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिबाट पारित भएको थियो । थम्पसनको नियुक्तीको प्रस्ताव ह्वाइट हाउसले अप्रिलको पहिलो साता सिनेटमा पठाएको थियो ।

मार्च २९ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा डीन थम्पसनलाई नियुक्तीको प्रस्ताव गरेका थिए ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले यस अगाडि अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरेका छन् । सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुपमा काम गरेका थिए ।

त्यसअघि थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका थिए । रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका उनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। उनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्।

मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्। उनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए ।

सबै तस्वीर: अमेरिकी दूतावास काठमाडौं

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com