के फेसबुकमा कैयनका फ्लोअर संख्या कम देखिदा केही नेपालीको बढेर १० अर्ब फ्लोअर पुगेको हो ?


प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार

फेसबुक पेजमा मंगलबार र बुधबार कैयन व्यक्तिका फ्लोअरका संख्या कम देखिएको थियो । केही पेजहरुमा पनि यो समस्या देखिएको थियो ।

फेसबुककै संस्थापक तथा सीईओ मार्क जुकरबर्गका फ्लोअर संख्या झण्डै ११ करोडबाट घटेर ९ हजारको हाराहारीमा देखिएको थियो । न्युयोर्क टाइम्स, वासिंटन पोष्ट लगायतका संचारमाध्यमका पनि फ्लोअर घटेका थिए ।

तर यो प्राविधिक समस्या फेसबुकले समाधान गरिसकेको छ । अर्थात् प्रोफाइल र पेजमा अब वास्तविक फ्लोअरको संख्या देख्न सकिने भएको छ ।

राउतको फेसबुकमा झुक्काउनेगरी राखिएका फ्लोअरको संख्या । संख्या अगाडिको संकेत फ्लोअरको संकेत नभई स्पोटीफाइको लोगो हो ।

तर यहीबीचमा केही नेपालीहरुले भने आफ्नो फ्लोअरको संख्या अचानक बढेको भन्दै केही अनलाइनलाई समेत झुक्याउन सफल भए । नेपालको जनता समाजवादी पार्टीका नेता मुन्जय राउतको फेसबुकमा १० अर्बभन्दा धेरै फ्लोअर देखिएको भन्दै केही अनलाइनहरुले समाचार समेत हाले ।

फेसबुकमा मंगलबार र बुधबार फ्लोअरको संख्या कम देखिएको सत्य भएतापनि राउतको फेसबुकमा १० अर्बभन्दा धेरै फ्लोअर थपिएको कुरा भने वास्तविक होइन । बरु राउतको फेसबुक प्रोफाइलमा फ्लोअर जस्तो देखिने गरी स्पोटीफाई नामको एप्लीकेशनको लिंक हालेर झुक्याइएको हो ।

डिसी नेपालले शेयर गरेको लिंक ।

फेसबुकमा फ्लोअरका अगाडि देखिने संकेत र स्पोटीफाइको लोगो उस्तै उस्तै भएका कारण फेसबुकमा धेरै फ्लोअरजस्तो देखाएर कैयनले विगत लामो समयदेखि झुक्याउदै आएका छन् । राउतको प्रोफाइलमा पनि यही फर्मुला प्रयोग गरिएको हो ।

राउतको प्रोफाइलमा जस्तो फ्लोआरजस्तो देखिनेगरी झुक्याउनका लागि प्रयोगकर्ता सुरुमा आफ्नो फेसबुक प्रोफाइलको एडिट प्रोफाइमा जान्छन् । त्यसपछि तलपट्टी सामाजिक सञ्जालका लिंकहरु हाल्न मिल्ने सेक्सनमा गएर एडिटमा क्लीक गरिसकेपछि सोसल लिंक थप्ने विकल्प आउँछ । त्यहाँ प्लेटफर्ममा स्पोटीफाई छानेर युजरनेममा “Followed by 100, 000,000 भनेर जतिपनि संख्या राख्न सकिन्छ । त्यसपछि सेभ गरिसकेपछि प्रोफाइल गर्दा आफूले चाहेको जति व्यक्तिले प्रोफाइल फ्लो गरेको जस्तो देखिन्छ ।

यसरी प्रयोगकर्ताले स्पोटीफाई एड गरेर आफूले चाहेजति फ्लोअर देखाएर झुक्याउन सक्छन् ।

तर याद गर्नुहोस् स्पोटीफाइको लोगो र फ्लोअरको संख्या अगाडिको संकेत उस्तै उस्तै देखिएपनि दुरुस्तै भने छैन । स्पोटीफाइको लोगोमा फरक तीनवटा रेखा भएको वेभ देख्न सकिन्छ भने फ्लोअर संकेतमा ४ वटा रेखा भएको वेभ देख्न सकिन्छ । र यस्तो वेभ केही फरक समेत रहेको छ ।

राउतले आफ्नो प्रोफाइल ह्याक भएर धेरै फ्लोअर देखाएको भन्दै आफ्नो बचाउ गरेका छन् । तर यसबाट झुक्किएका अनलाइनहरुले भने यो समाचार हटाएका वा सच्याएका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com