जर्मनी जित र प्रविधिको अन्योल


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- यसपल्टको कन्फेडेरेसन कप पनि टुंंगियो । अबको चार वर्षपछि यो प्रतियोगिता फेरि हुन्छ, हुँदैन, त्यसमा अझै दुविधा छ । सायद यसपल्टको प्रतियोगिता अन्तिम हो कि ? धेरै खेलाडी र प्रशिक्षक यस प्रतियोगितालाई रुचाउँदैनन् । बरु यसलाई बोझ मान्छन् । अझ अलक्षिण पनि मानिन्छ, यो प्रतियोगितालाई । यो के अर्थमा भन्दा जसले यो प्रतियोगिता जित्छ, उसले विश्वकपमा राम्रो गर्न सक्दैन भन्ने अन्धविश्वास पनि छ ।

त्यसो त यो प्रतियोगिताको आयोजना विश्वकपको एक वर्ष अगाडि हुने गर्छ । अबको विश्वकप रूसमा हुनेछ र त्यसकै तयारीका रूपमा उसले यसपल्टको कनफेडेरेसन कप आयोजना गरेको थियो । खासमा यो विश्वकप आयोजक देशले आफ्नो तयारी जाँच्ने औजारका रूपमा प्रयोग गर्छ । प्रतियोगिताको स्वरूप भने अन्तर महादेशीय हुने गर्छ, आठ टिमको सहभागिता सहित ।

कनफेडेरेसन कपलाई खासै नरुचाउने एक प्रशिक्षकमा जर्मनीका जोचिम लो पनि पर्छन् । उनले मुखै खोलेर भनेको इतिहास पनि छ, किन चाहियो यो प्रतियोगिता ? त्यसैले विश्वास नहुन सक्छ, विश्व फुटबलमा सबैभन्दा सफल देशमध्ये एक जर्मनीले यसअघि कनफेडेरेसन कप कहिल्यै जितेको थिएन । बरु जर्मनीले विश्वकप जितेको बाक्लै इतिहास छ, जर्मनी विश्वकपको डिफेन्डिङ च्याम्पियन पनि हो । लोले यसपल्टको कनफेडेरेसन कपका लागि भनेर आफ्नो पहिलो रोजाइको टिम पनि उतारेनन् । बरु औसत २३ वर्षको हाराहारीमा रहेका खेलाडी उतारे ।

तीन वर्षअगाडि ब्राजिलमा भएको विश्वकप जित्दाका प्रमुख खेलाडी कसैले पनि रूसमा खेलेनन् । उनीहरूलाई आराम दिइयो । तर यसले उपाधि समीकरणमा जर्मनीलाई खासै प्रभाव पारेन । जर्मनीले फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई हराएको थियो, १–० ले । चिली त्यो टिम हो, जसले दक्षिण अमेरिकाको सबैभन्दा ठूलो प्रतियोगिताका पछिल्ला दुई संस्करण लगातार जितेको छ, त्यो पनि दुवै अवसरमा लियोनल मेसीको अर्जेन्टिनालाई हराएर ।

अनि फाइनलसम्मको यात्रामा चिलीले युरोपेली विजेता पोर्चुगललाई हराएको थियो । पोर्चुगल अर्थात् क्रिस्टियानो रोनाल्डोको टिम । लोका यिनै युवा खेलाडीले रूसमा निकै राम्रो खेले र पहिलोपल्ट जर्मनीलाई कनफेडेरेसन कप दिलाए । पछिल्लो केही वर्षमा अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीले लगातार राम्रो गरिरहेको छ । लोको व्यक्तिगत प्रदर्शन पनि आफैंमा गज्जब छ । जति बेलादेखि उनले जर्मन राष्ट्रिय टिम हेर्न थाले, त्यति बेलादेखि प्रत्येक ठूलो प्रतियोगितामा टिमले कम्तीमा सेमिफाइनल यात्रा तय गरेको छ ।

यो आफैंमा गज्जब उपलब्धि हो, जसमा लोलाई पक्कै गर्व पनि होला । अहिले कनफेडेरेसन कप जितेयता फुटबल पण्डितहरूले भन्न थालेका छन्, जर्मन फुटबलमा अहिले समृद्धिको पालो छ । योसँग जोडिएको प्रश्न के भने जर्मनीले कसरी लगातार एकसेएक विश्वस्तरीय खेलाडी उत्पादन गरिरहेको छ त ? कतै जर्मनीसँग अब्बल दर्जाका फुटबल खेलाडी उत्पादन गर्ने कारखाना त छैन ? नत्र अरूले गर्न नसकेको काम कसरी जर्मनी एक्लैले मात्र सक्छ ?

जर्मनीको लगातार सफलताको श्रेय उनीहरूको बुंडेसलिगा र युवा खेलाडी तयार पार्ने योजनालाई दिइन्छ । एउटा तथ्य के पनि निश्चित हो भने अहिले जर्मनीले उतारेका खेलाडी भलै युवा छन्, तर उनीहरूले पछिल्ला केही सिजनदेखि आफ्ना क्लबका लागि लगातार खेलिरहेका छन् । अहिलेका ती खेलाडी केही हदसम्म नयाँ नाम त हुन्, बाहिरी विश्व फुटबलका लागि । तर उनीहरूमा माथिल्लो दर्जाको फुटबल खेलेको अनुभवको कुनै कमी थिएन ।

यसअघि कनफेडेरेसन कपबारे जति नै नकारात्मक बोले पनि यसपल्ट त्यही प्रतियोगिता जितेयता जर्मन प्रशिक्षक लो खुसी नै रहे । यो स्वाभाविक पनि थियो । उनले पछि भने पनि, ‘प्रतियोगिता जित्नु आफैंमा ठूलो हो, तर त्योभन्दा पनि ठूला हाम्रा युवा खेलाडीले जसरी खेले, त्यसले हामीलाई वास्तवमै धेरै खुसी दिएको छ ।’ वास्वतमै यसपल्टको कनफेडेरेसन कपलाई जसरी जर्मन युवा टिमले जितेर देखायो, त्यसका लागि सम्झिइनेछ ।

कनफेडेरेसन कपको एउटा अर्को पक्ष पनि छ । यो विश्वकप आयोजक देशका लागि तयारीको जाँच त हो नै । यसले आउने विश्व फुटबलमा नयाँ के हुनेछ, त्यसको पनि संकेत गर्छ । संकेत के अर्थमा भन्दा आयोजक मात्र होइन, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पनि यसै प्रतियोगिताका क्रममा केही न केही परीक्षण पनि गर्छ । यसपल्ट फिफाले गरेको परीक्षण हो, भिडियो एसिसटेन्ट रेफ्रीको । भिडियो एसिसटेन्ट रेफ्री अर्थात् छोटकरीमा ‘भार’ ।

रुसमा ‘भार’ राम्रै प्रयोगमा आयो र यसले उत्तिकै विवाद र अन्योल पनि बनायो । सबैभन्दा पहिले ‘भार’ को आवश्यकता किन परेको हो त ? फुटबलमा प्राय: विवादमा पर्ने विषय हो, रेफ्रीका निर्णय । रेफ्रीबाट खेलका क्रममा ठूलै भूलहरू हुने गर्छन् र यसले खेलको स्वरूप नै बदल्ने गर्छ, त्यो पनि निर्णायक ढंगले । क्रिकेट, टेनिसजस्ता केही खेलले प्रविधिको सहयोग लिएर निर्णय गर्न थालेको धेरै भइसकेको छ । प्रविधिको सहयोग लिंदा यी खेललाई राम्रै फाइदा पनि भएको छ ।

तर यही प्रविधिको सहयोग लिन फुटबलले भने लामै समय हिच्किचाएको थियो । फिफाको नेतृत्व सेप ब्लाटरको हातमा हुँदा निर्णयका लागि प्रविधिको सहयोग लिने चर्चा जत्ति नै चलेपनि त्यो लागू हुन सकेन । अझ ब्लाटर त यसको विरुद्धमा थिए । उनको तर्क सामान्य थियो, रेफ्री पनि मान्छे हो, रेफ्रीले पनि आम मानिसले जस्तै भूल गर्छ । फुटबललाई आम मान्छे कै खेलका रूपमा कायम गर्नुपर्छ । ब्लाटर फिफाबाट हटेपछि भने यो नीतिमा पनि परिवर्तन आयो ।

यससँगै फुटबलमा रेफ्रीको सहयोगका लागि प्रविधि भित्र्याउने काम पनि भयो । खेलका क्रममा रेफ्रीलाई निर्णय गर्न सधैं सजिलो हुन्न । सेकेन्डको पनि केही क्षणमा हुने घटनालाई तत्काल महसुस गरेर ठीक निर्णय गर्नु कसरी सजिलो हुन सक्छ र ? त्यसैले फुटबलमा रेफ्रीको गम्भीर भूल देख्न पाइन्छ । अब रेफ्रीले यस्तै अप्ठयारो स्थितिमा मैदान बाहिर बसेका आफ्ना सहयोगीसँग सहयोग माग्न सक्छ । ती सहयोगीले तत्काल भिडियो रिप्लेको आधारमा निर्णय दिने गर्छन् ।

कनफेडेरेसन कपमा क्रममा पनि धेरैपल्ट ‘भार’ प्रयोगमा आयो । तर यो प्रयोग उत्तिकै विवादास्पद रह्यो । अझ भयौं, ‘भार’ को मद्दत त लिइयो, तर ठीक निर्णय अझै हुन सकेन । त्यसैले खेलाडी, प्रशिक्षकदेखि आम दर्शक अन्योलमा परे । तर फिफाको तर्क छ, अहिले ‘भार’ परीक्षणकै क्रममा छ । हुन सक्छ, आउने विश्वकपमा यो पूर्णत: लागू हुनेछ, त्यति बेलासम्म यसलाई लिएर भएका अन्योलत र विवाद पनि समाप्त हुनेछन् ।

‘भार’ का खास समर्थक हुन्, अहिलेका फिफा अध्यक्ष जियानी इन्फाटिनो । उनको मुख्य मुद्दा नै रहेको छ, यस प्रविधिलाई आउने विश्वकपमा लागू गर्ने । कनफेडेरेसन कपमा प्रविधिको मद्दतले जति पनि काम भए, त्यसमा पनि उनी सन्तुष्ट छन् । केही काम सुरु गर्दा सुरुमै यस्तो केही विवाद र अन्योल त भइहाल्छ नि । इन्फाटिनोले घोषणा पनि गरिसकेका छन्, ‘भार’ नै अबको फुटबलको भविष्य हो । अर्थात अब फुटबल पनि प्रविधिमय हुनेछ, रेफ्रीको विषयमा ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com