क्यानडाका अलेक्जेण्डरको रेकर्ड तोड्दै दिनेश सुनारले राखेको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

क्यानडाका अलेक्जेण्डरको रेकर्ड तोड्दै दिनेश सुनारले अमेरिकामा राखेको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएको छ । एक मिनटमा सबैभन्दा धेरै फुलट्वीस्ट ब्याकवार्ड समरशल्ट बर्पिजमा दिनेशको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएको हो ।

उनले यसमा १२ पटकको रेकर्ड राखेका छन् । यसअगाडि यो रेकर्ड ९ पटकसम्मको रहेको थियो । यो उनको गिनिज बुकमा दर्ता भएको आठौं विश्व रेकर्ड हो ।

दिनेशको सबैभन्दा ठूलो सपना उनको जीवनमा नेटफ्लिक्सले फिल्म बनाओस् भन्ने रहेको छ । उनले आफ्नो गिनिज वल्र्ड रेकर्डको उपाधिले भावी पुस्तालाई प्रेरणा दिने आशा राखेका छन् ।

गत महिना सुनारले बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका थिए । उनका ४ वटा रेकर्डहरु गिजिन बुकमा दर्ता प्रकृयामा छन् ।

जुलाइमा पनि सुनारले राखेको सातौं विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको थियो ।उनले जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोडेका थिए ।   उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक रुपमा गत महिना दर्ता गरेको हो । ३० सेकेण्डभित्र स्कीपिंग गर्दै उनले १४ पटक ब्याकवार्ड समरसल्ट हानेर रेकर्ड कायम गरेका थिए । यस अगाडि यो रेकर्ड १० बर्ष अगाडि जापानका डाइसुके मिमोराले कायम गरेका थिए ।

सुनारको छैठौं विश्व रेकर्ड गिनिज बुकले गत जुनमा दर्ता गरेको थियो ।  ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका थिए । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको थियो ।

गत बर्ष ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्ड राखेका थिए ।

उनी ३० सेकेन्डको समयमा १२ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भएका थिए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले १२ पटकसम्म हानेका थिए । उनले आफ्नो पुरानो रेकर्डलाई समेत तोडेर उक्त नयाँ रेकर्ड कायम गरेका थिए ।

यसअगाडि दिनेशले सन् २०२० मा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा नै ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेका थिए । यो रेकर्ड भने अष्ट्रियाका फिन पिरमिन पिल्जले १०६४ पटक गरेर तोडिसकेका छन् ।

दिनेशले पार्कर खेलमा नेपालमा तीनवटा विश्व रेकर्ड कायम गरेका थिए । उनले सन् २०१७ को जुन १ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्व रेकर्ड कायम गरेका थिए । दोश्रो रेकर्ड १४ जनवरी २०१८ मा राखेका थिए । अर्को रेकर्ड सन् २०१९ को मार्च ११ मा कायम गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com