सांस्कृतिक नगरी मटिहानीको यसरी फेरिँदै स्वरुप


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

चाडबाड नजिकिँदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ । रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृृद्धि हुँदै गएको हो ।

त्रेतायुगमा राम–सीताको विवाह हुँदा वेदी (यज्ञस्थल) बनाउन मटिहानीकै माटो खनिएको विश्वास गरिन्छ । त्यतिखेर माटो खनिएको ठाउँ लक्ष्मीसागर सम्पूर्ण हिन्दूहरूको आस्था, भक्ति र दर्शनीयस्थल रहँदै आएको छ । अवधबाट राजा दशरथ जन्ती लिएर मटिहानी हुँदै जनकपुर गएका जनश्रुति मटिहानीमा सुनिन्छन् ।

धार्मिक महत्वको यो पौराणिकस्थलमा बितेको सातामै कतिपय योजना सम्पन्न भएका छन् । यसैगरी कतिपय योजनाको निर्माण काम थालिएको छ । मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर र बजारबीचमा भव्य आकर्षक द्वार निर्माण सम्पन्न भएर शुभारम्भ भएको छ । यसैगरी मटिहानी–५ स्थित गोबरौरा र धनुषाको घोडघास जोड्ने सडकको दूधमती नदीमा नयाँ झोलुङ्गे पुल बनेको छ ।

मटिहानी–३ झिझाखोलामा आठ मिटर लम्बाइ र पाँच मिटर चौडाइको र मटिहानी–८ र धनुषाको तुल्सियाही जोड्ने बिग्ही नदीमा पाँच मिटर चौडाइ र ४५ मिटर लम्बाइको पक्की पुल निर्माण थालिएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएका प्रवेशद्वार रु २८ लाख र झोलुङ्गे पुल रु ४५ लाखको लागतमा सम्पन्न भएका हुन् । त्यसैगरी झिझाखोला पुल र बिग्ही पुल क्रमशः रु ३५ र ६५ लाखको लागतमा निर्माण थालिएका नगरपालिकाका इञ्जीनियर विमलेश साहले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि नै मुलुकभरिकै मठहरूको नायक मठ लक्ष्मीनारायण मठ परिसरमा झुलाघर निर्माण र लक्ष्मीसागरको चित्ताकर्षक घाट निर्माणकार्य सम्पन्न भइसकेका छन् । मटिहानी–जनकपुर (रामजानकी) सडक र मटिहानी–जलेश्वर सडकमा निर्माण भएका कलात्मक प्रवेशद्वारले यस ठाउँको सांस्कृतिक र धार्मिक महत्ता उजागर गरेका बताइएको छ ।

“हामीसँग भएको मुख्य कुरा नै यस ठाउँको धार्मिक र सांस्कृतिक परिचय हो, मटिहानीको विकासको आधार धार्मिक पर्यटनमै खोजिनुपर्छ र अहिले यी कामले प्राथमिकता पाएका छन्”, मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझी भन्नुहुन्छ, “पछिल्ला पाँच वर्षयताका विकास पूर्वाधारका काममा धार्मिक महत्वका कामले महत्व पाएका छन् ।” मटिहानीमा गत वर्षमात्रै अत्याधुनिक रङ्गशाला निर्माण सम्पन्न भएको थियो ।

मटिहानीको धार्मिक परिचयको कुरा उप्कनासाथ यहाँको धार्मिक र सामाजिक सद्भावको उदाहरण हरकोहीले दिने गर्दछन् । आधुनिक मटिहानी निर्माणमा हिन्दू परम्पराका साधु तश्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबाले जग बाँध्नुभएको हुँदा यहाँ दुवै परम्पराका चाडपर्व एकापसमा मिलेर उल्लाससाथ मनाइने गरिएको मटिहानीका बासिन्दा शिक्षा तथा संस्कृतिविद् चन्देश्वर साह बताउनुहुन्छ । “लक्ष्मीसागरको उत्तरतटमा लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर छन्, पश्चिमीदक्षिणी तटमा सन्त पिरबाबाको मजार छ”, उहाँ भन्नुहुन्छ, “यी स्थल हाम्रा साझा तीर्थस्थल हुन्, पिरबाबाको मजारमा दुःख पुकारा गर्न पुग्नेमा हिन्दू–इस्लाम धर्मावलम्बी सराबरी हुने गर्छन् ।” आफ्नो ठाउँका मुख्य पर्व साउने झुला महोत्सव, विजयादशमीका दिनको रावणवध उत्सव, फागु, दशैँ, तिहार, छठ, मुहर्रम, इद–उल–फित्र, सवेबरात र इद–उल–जोहामा सबै समानरूपले उत्सवमा झुम्ने गरेको उहाँको भनाइ छ ।

भारतसँग सीमा जोडिएको यो ठाउँका सीमा वारिपारिका मटिहानी र मधवापुर बजार एकापसमा अभिन्न रुपले जोडिएका छन् । दोहोरो सामाजिक सम्बन्धले दुवैतर्फका नागरिकका दुःखसुखमा दुवैतिरका नागरिक सरिक हुने गर्छन् । यसबाहेक मटिहानी प्राचीन शिक्षा र साहित्यको साधना केन्द्र पनि रहेको छ । यहाँस्थित तीन सय पाँच वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय र माहामुनि याज्ञवल्क्य र भगवान् लक्ष्मीनारायणका नाउँमा स्थापित÷सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) संस्कृत भाषा र साहित्यको साधनास्थल रहेका छन् । विद्यापिठमा स्नातकोत्तरसम्मको अध्ययन-अध्यापन हुने गरेको छ ।

गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालगुरु षडाननले पनि पढ्नुभएको संस्कृत विद्यालय परिसरको अवलोकन गर्नुभएपछि यो ठाउँ शैक्षिक पर्यटनको पनि केन्द्र बनेको छ । विद्यालयमा देशदेशावरका विद्वानको आगमन बाक्लिएको प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ ।

आफ्नो नगरको धार्मिक, शैक्षिक र सांस्कृतिक परिचयको विस्तार र प्रवद्र्धनले नयाँ सम्भावनाका द्वार खुल्ने नगरप्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । आफ्नो नेतृत्वको जनप्रतिनिधि टिम यसै दिशामा दत्तचित्तसाथ अघि बढेको उहाँको भनाइ छ ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com