पाकिस्तानले अमेरिकी ड्रोनलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएको तालिबानको आरोप


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

तालिबान सरकारले अल कायदा प्रमुख अयमान अल जवाहिरीमाथि अमेरिकी आक्रमणमा पाकिस्तानको भूमिका रहेको आरोप लगाएको छ । तालिबानका कार्यवाहक रक्षामन्त्रीले पाकिस्तानले अमेरिकालाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएको बताएका छन् । यससँगै अमेरिकी ड्रोन पाकिस्तान हुँदै अफगानिस्तान प्रवेश गरिरहेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकुबले आइतबार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । पाकिस्तानले अमेरिकी ड्रोनलाई अफगानिस्तान पुग्न आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको छ ।

कार्यवाहक रक्षा मन्त्रीले भने, ‘हामीलाई थाहा छ, ड्रोनहरू पाकिस्तानबाट अफगानिस्तानमा प्रवेश गरिरहेका छन्। तिनीहरू (अमेरिका)ले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्दछ, हामी पाकिस्तानलाई अनुरोध गर्दछौं, हाम्रो विरुद्धमा आफ्नो हवाई क्षेत्र प्रयोग नगर्नुहोस्।’

काबुलमा हालै भएको अमेरिकी हवाई हमलापछि पाकिस्तानले आफ्नो भूमिका अस्वीकार गर्दै आएको छ । पाकिस्तानको विदेश मन्त्रालयले उक्त आरोपको खण्डन गरेको छ । साथै, पाकिस्तानी अधिकारीहरूले ड्रोन आक्रमणमा संलग्नता अस्वीकार गरेका छन्। संयुक्त राज्य अमेरिकाले याकुबको टिप्पणीले छिमेकी देशहरू बीचको तनाव बढाउन सक्ने बताएको छ। अमेरिकाले अफगानिस्तान पनि पाकिस्तानसँगको व्यापारमा धेरै निर्भर रहेको बताएको छ ।

गत जुलाईमा अमेरिकाले काबुलमा ड्रोन हमला गरेको थियो । त्यसमा अलकायदाका नेता आयमान अल जवाहिरीको मृत्यु भएको थियो । काबुलमा अल जवाहिरीको सेफ हाउसमा हवाई हमला गर्न पाकिस्तानी हवाई क्षेत्र प्रयोग गरिएको अनुमान गरिएको छ। तर, तालिवानले हवाई आक्रमणको अनुसन्धान गरिरहेको छ । अल कायदा नेताको शव अझै फेला पार्न सकेको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com