न्युयोर्कसिटीमा यसरी लिनुहोस् ५० प्रतिशत छुटको मेट्रोकार्ड


प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार

gray train

यदि तपाईको आम्दानी निश्चित मापदण्डभन्दा कम रहेको छ भने तपाई न्युयोर्क सिटीमा मेट्रोकार्डमा ५० प्रतिशत छुटका लागि योग्य हुनसक्नुहुनेछ । अहिलेसम्म २ लाख ६१ हजार १ सय ४३ जना न्युयोर्कबासीहरु उचित मूल्य कार्यक्रममा सहभागी भएर मेट्रो कार्डमा आधा छुट प्राप्त गरेका छन् ।

१८ बर्षदेखि ६४ बर्षभित्रका व्यक्ति यो छुटका लागि योग्य हुन्छन् । यो छुटका लागि न्युयोर्क सिटीभित्रको बासिन्दा हुनुपर्छ भने एकजनाको हकमा बार्षिक आम्दानी १३ हजार ५ सय ९० डलरभन्दा कम भएको हुनुपर्छ । २ जनाको परिवार भएमा १८ हजार ३ सय १०, ३ जनाको परिवार भएमा २३ हजार ३० र ४ जनाको परिवार भएमा २७ हजार ७ सय ५० भन्दा कम आम्दानी भएको हुनुपर्छ ।

यस्तो मेट्रो कार्डका लागि आवेदन दिनका लागि अनलाइनमा एकाउन्ट बनाउनुपर्छ । अनलाइन एकाउन्ट बनाउनका लागि यहाँ क्लीक गर्नुहोला । एप्लाई नाओ वा लगइनमा क्लीक गरेर एकाउन्ट बनाउनुपर्छ । इमेल वा युजरनेम, पासवर्ड र सेक्युरिटी प्रश्नको जवाफदिएपछि अनलाइनमा एकाउन्ट बन्छ ।

त्यसपछि एकाउन्ट लगइन गरेर केही प्रश्नहरुको जवाफ दिनुपर्छ । नाम जन्ममिति तगायतका विवरणहरु भरिसकेपछि र कागजातहरु पठाइसकेपछि यो कार्यक्रमका लागि योग्य भइनेछ । परिचय खुल्ने कागजात, न्युयोर्कको बासिन्दा भएको खुल्ने बैंक स्टेटमेन्ट वा अन्य कुनै प्रमाण, आम्दानीको मापदण्ड पूरा भएको प्रमाणित गर्ने ट्याक्सका कागजात वा अन्य कुनै प्रमाण पेश गर्नुपर्छ ।

मोबाइल एप्लीकेशन डाउनलोड गरेर पनि ५० प्रतिशत छुटको मेट्रो कार्डका लागि आवेदन दिन सकिनेछ । गुगल प्ले वा एप स्टोरमा गएर एप्लीकेशन डाउनलोड गर्नका लागि यहाँ क्लीक गर्नुहोला । एप्लीकेशन डाउनलोड गरेर पनि आवश्यक कागजातहरु अनलाइनबाट पेश गर्न सकिन्छ ।

यदि तपाईंले आवेदन दिनुभयो र योग्य हुनुभएमा तपाईंलाई उचित भाडा एनवाईसी मेट्रोकार्ड दिइनेछ । तपाईंले प्राप्त गर्नुभएको मेट्रोकार्डमा कुनै समय वा मूल्य हुनेछैन। तपाईंले यसमा समय वा मूल्य थप्नुपर्छ ।

तपाईले समय र मूल्य थप्दा आधाशुल्क मात्र लाग्नेछ । तपाईले अनलिमिटेड मेट्रो कार्ड लिन नचाहेको अवस्थामा निश्चित डलर हाल्न सक्नुहुनेछ । यस्तो अवस्थामा प्रत्येक पटक तपाईंले आफ्नो कार्ड स्वाइप गर्दा तपाईंलाई आधा मात्र चार्ज गरिनेछ । यो कार्ड जुनसुकै अध्यागमन स्थीति भएकाहरुले पनि लिनसक्छन् । आवेदन दिने बेलामा अध्यागमन अवस्थाबारे सोधिदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com