मनदीप कौरको मृत्यु रहस्यमा अल्झेको न्युयोर्क पुलिस, अझै अन्त्येष्टि हुन पाएन


प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार

न्युयोर्कमा भारतीय मूलकी महिला मनदीप कौरको मृत्यु भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि उनको मृत्यु आत्महत्या हो वा होइन भन्ने टुंगो लागेको छैन ।

यसैबीच मनदीप कौरको शवलाई न्युयोर्कको रिचमण्ड हिल क्षेत्रको अन्त्येष्टि गृहमा राखिएको छ र उनको अन्त्येष्टिलाई लिएर विवाद छ ।
मनदीप कौरको परिवारले उनको अन्तिम संस्कार भारतमै होस् भन्ने चाहन्छ । जबकि मनदीप कौरका पति रणजोतबीर सिंह सन्धु अमेरिकामा नै उनको अन्तिम संस्कार गर्न चाहन्छन् ।

तर श्रीमानको घरेलु हिंसा र दुव्र्यवहारबाट दिक्क भएर मनदीप कौरले आत्महत्या गरे नगरेको भन्ने प्रहरी अनुसन्धानबाट खुल्न नसकेकोले मनदीपको शव र उनका दुई छोरीको जिम्मा कानुनी रूपमा श्रीमानले मात्रै पाएका छन् ।

उनका श्रीमान् अब रिचमण्ड हिल क्षेत्रमा रहेको मनदीप कौरको घरमा बस्दैनन् । प्रहरीले सुरक्षाका कारण श्रीमानलाई घरमा नबस्न आग्रह गरेको परिवारका आफन्तले बताएका छन् । त्यसैले दुवै छोरीसँग मनदीप कौरका श्रीमान् अहिले अज्ञात ठाउँमा बस्दै आएका छन् ।

उनको घरको अगाडिको भागमा बालबालिकाका धेरै छरिएका खेलौनाहरू देख्न सकिन्छ । यस घटनाबाट नजिकै बस्ने मानिसहरू स्तब्ध छन् तर धेरैजसो यस घटनाको बारेमा कुरा गर्न हिचकिचाउँछन्।

एक छिमेकीले भनिन्, “यो एकदमै दुखद घटना हो र जतिसुकै समस्या भए पनि अवस्था यो हदसम्म पुग्नुहुँदैन थियो।”

अगस्ट १ मा भएको थियो मृत्यु

परिवारका आफन्तका अनुसार ३० वर्षीया मनदीप कौरले अगस्टको पहिलो दिन आफ्नै चुन्नीले झुण्डिएर आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नुभन्दा अघि मनदीप कौरले रेकर्ड गरेको एउटा भिडियोमा श्रीमानले यातना दिएको भन्दै रोइरहेकी देखिन्छिन् ।

भिडियोमा मनदीप कौरले श्रीमानले कुटपिट गर्ने र अब सहन नसक्ने बताएकी थिइन् । त्यसपछि उनले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

तर, अमेरिकाको एक डिजिटल च्यानललाई दिएको अन्तर्वार्तामा मनदीपका पतिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो पाँच वर्ष पुरानो भएको र उनीहरुको वैवाहिक जीवन निकै राम्रो रहेको बताए ।

सन् २०१८ मा भारतबाट अमेरिका आएपछि मनदीप कौर आफ्नो परिवारसँग रिचमण्ड हिल क्षेत्रमा रहेको ज्ञानी रञ्जित सिंहको घरको माथिल्लो भागमा भाडामा बस्दै आएकी थिइन् ।

रणजीत सिंह मनदीप कौरको परिवारका नजिकका नातेदार हुन् जसले अब यस घटनासँग सम्बन्धित सबै मामिलाहरू हेरिरहेका छन् ।

मन्दीप कौरको मृत्युबारे ज्ञानी रणजित सिंह भन्छन्, “जब अगस्ट १ मा मनदीपले आत्महत्या गर्न खोजेको थाहा पाए, त्यही समयमा हाम्रो परिवारका सदस्य उनको घर पुगे र मनदीपलाई झुण्डिएको अवस्थामा फेला परिन् । उनलाई तल झारियो, त्यतिबेला उनी जिउदै थिईन् । उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको थियो तर अस्पताल पुग्ने क्रममा उनको मृत्यु भयो।”

यद्यपि भारतमा रहेको मनदीप कौरको परिवारले अगस्ट २ मा मनदीप कौरको मृत्यु भएको बताएको छ । यस्तो अवस्थामा भोलिपल्ट उसले खबर पाएको हुनसक्छ ।

यसअघि पनि मनदीप कौर र उनका श्रीमानबीचको घरेलु मुद्दा अदालतमा लैजान सहयोग गरेको र पछि मनदीप कौरले श्रीमानविरुद्धको मुद्दा फिर्ता लिएको रञ्जित सिंह बताउँछन् ।

मनदीपका श्रीमान ट्रक चालक हुन् । छोरा नपाएको भन्दै मनदीप कौरलाई यातना दिने मनदीपका परिवारका सदस्यहरू बताउँछन् । साथै, उनले मनदीपलाई आफ्नो परिवारका सदस्यहरूबाट लाखौं रुपैयाँ माग्न लगाउने गरेको जनाइएको छ ।

अन्तिम संस्कारमा प्रश्न

यसैबीच अर्को भिडियो सार्वजनिक भएको छ । जसमा एक पुरुषले महिलामाथि कुटपिट गरेको देखिन्छ । भिडियोमा रहेकी महिला मनदीप कौर रहेको र उनका श्रीमानले कुटपिट गरेको दावी गरिएको छ । उक्त भिडियोमा साना केटाकेटी रोएको आवाज पनि सुनिन्छ ।

भारतमा रहेको मनदीप कौरको परिवारले उनको श्रीमानलाई न्युयोर्क पुलिसले तत्काल पक्राउ गरी ६ र ४ वर्षका दुई सानी छोरीहरूलाई भारतमा आफ्ना हजुरबुबा हजुरआमालाई पठाउन चाहेको छ ।

यस मामिलामा न्युयोर्कमा मनदीप कौरको परिवारको तर्फबाट सरकारी कारबाहीमा सघाउनेहरूमध्ये सञ्जीव जिन्दल र सुखजिन्दर सिंह निज्जर पनि रहेका छन् ।

यी व्यक्तिहरू परिवारसँग निरन्तर सम्पर्कमा छन् । मनदीप कौर प्रकरणमा प्रहरीको सहयोग भइरहेको छ र अन्य अधिकारीहरू र भारतीय दूतावास आदिबाट पनि सहयोग लिइएको छ ।

मनदीप कौरको अन्त्येष्टि आदि उनीहरु आफैंले गर्न सकून् भनेर मनदीपका आमाबुवालाई भारतबाट अमेरिका आउन भिसा दिलाउने पनि उनीहरुको प्रयास छ ।

सञ्जीव जिन्दल भन्छन्, “हाम्रो सबैभन्दा ठूलो समस्या भनेको प्रहरीबाट प्रारम्भिक रिपोर्ट नआउनु हो । अनुसन्धानमा पक्कै समय लाग्छ तर, त्यो घटना भएको एक साताभन्दा बढी भईसक्दा पनि प्रहरीले अझै यसलाई आत्महत्या या हत्या हो भन्ने निष्र्कष दिन सकेको छैन ।”

न्युयोर्क प्रहरी विभागका प्रवक्ताले यसबारे भने, “अहिलेसम्म कुनै अपडेट आएको छैन । मृत्युको कारणबारे मेडिकल परीक्षकलाई सम्पर्क गर्नुहोस्।”

मेडिकल परीक्षकको कार्यालयमा सम्पर्क गर्दा समाचार तयार पार्दासम्म अपडेट आएको छैन । यसैबीच, यस विषयमा प्रहरी अनुसन्धानमा ढिलाइ भएकोमा सिख समुदाय र अन्य दक्षिण एसियाली मूलका मानिसहरूले चिन्ता व्यक्त गरेका छन् । यसैबीच, सिख समुदायमा मनदीप कौरका बच्चाहरूको सुरक्षा र भविष्यलाई लिएर चिन्ता छ ।

सुखजिन्दर सिंह निज्जर भन्छन्– “छानबिन राम्रोसँग हुनुपर्छ तर मनदीप कौरका दुई साना बच्चाहरूको हेरचाह र उनीहरूको भविष्य सुरक्षित गर्न पनि जोड दिनुपर्छ।”

उनी भन्छन्, – “बाहिर आइरहेका भिडियो पुराना पनि छन् । म चाहन्छु कि यस विषयमा पूर्ण छानबिन होस् र सबै पक्षको सुनुवाइ होस् । यो घटनामा पीडितले न्याय पाउनुपर्छ यदी जिम्मेवार कोही छ भने उसले सजाय पाउनुपर्छ । तर, अब हामीले दुई साना बच्चा र उनीहरूको भविष्यको हेरचाह गर्नुपर्छ।”

मनदीप कौरका जस्ता घटना नघटोस् भनेर अहिले दक्षिण एसियाली समुदायमा घरेलु हिंसा पीडितलाई समयमै कसरी सहयोग गर्ने विषयमा छलफल भईरहेको छ ।

एसियाली समुदायको चिन्ता

सुखजिन्दर सिंह निज्जर भन्छन्, “अहिले यस्ता घटनाबारे जनचेतना अभिवृद्धि गर्न र घरेलु हिंसा वा अन्य कुनै सामाजिक समस्याबाट पीडित व्यक्तिलाई जानकार व्यक्तिले तत्काल सहयोग गर्न हामीले केही समूह बनाएका छौं ।”

धेरै मानवअधिकार संगठन र दक्षिण एसियाली समुदायका मानिसहरू पनि मनदीप कौरलाई न्याय दिलाउन र घरेलु हिंसाविरुद्ध आवाज उठाउन न्युयोर्कमा भएको प्रदर्शनमा सहभागी भइरहेका छन् । सखी, मानवी, जहाजी दिदीबहिनी र देसी राइजिङ अप एण्ड मुभिङ वा ड्रमजस्ता संस्थाहरू आन्दोलनमा सहभागी छन् ।

मनदीप कौरको छिमेकमा बस्ने जेसिका पनि मनदीप कौरले न्याय पाउनुपर्छ भन्ने चाहन्छिन्। जेसिकाले भनिन्, “मलाई थाहा छ, महिलाको पनि समान अधिकार छ र त्यसरी व्यवहार गर्नु हुँदैन। पुरुषले महिलालाई सम्मान गर्नुपर्छ । पुरुषले घरेलु हिंसामा कत्ति पनि संलग्न हुनुहुँदैन । यसले बालबालिकालाई पनि नराम्रो असर गर्छ ।”

नजिकै बस्ने एड्रियन पनि यो दुखद घटनाबाट दुखी छिन्, “यो दुखद कुरा हो। र खासगरी घरेलु हिंसा गर्नु हुँदैन। यो बिल्कुलै गलत हो। महिलाको सम्मान हुनुपर्छ।”

अमेरिकास्थित भारतीय दूतावास र न्युयोर्कस्थित वाणिज्य दूतावासले पनि यस विषयमा सिख समुदायलाई सहयोग गरिरहेका छन् । अब सबैको नजर न्युयोर्क पुलिस विभागमा छ कि यस मामिलामा मनदीप कौरको मृत्युलाई आत्महत्या घोषणा गर्छ वा कसैलाई दोेषि ठहर गर्छ ।

सलीम रिज़वी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com