युक्रेनको आणविक संयन्त्रमा पुनः बमबारी, संयुक्त राष्ट्रसंघका प्रमुखले दिए यस्तो चेतावनी


प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र वरपर तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गरेका छन् । दक्षिण–पूर्वी युक्रेनस्थित उक्त आणविक संयन्त्रमा बिहीबार पुनः आक्रमण भएपछि गुटेरसको यस्तो चेतावनी आएको हो ।

युक्रेनको ईनर्गोयाटोम एजेन्सीका अनुसार जपोरिझ्झिया संयन्त्रमा बिहीबार पाँच पटकसम्म आक्रमण भएको थियो । केही प्रहार रेडियोधर्मी सामाग्री भण्डारण क्षेत्रमा समेत भएको बताइएको छ । रुसले नियुक्त गरेका संयन्त्रका अधिकारीले भने युक्रेनले सिफ्ट परिवर्तनको समयमा आक्रमण गरेको बताएका छन् ।

रुसले आह्वान गरेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकअघि महासचिव गुटरेसले रेडियोधर्मी क्षेत्रमा क्षति पुगे त्यसले सो क्षेत्र र त्योभन्दा धेरै परसम्म ठूलो विपत निम्त्याउने चेतावनी दिए । ‘आणविक संयन्त्र कुनै पनि सैन्य गतिविधिको हिस्साको रुपमा प्रयोग गरिनु हुँदैन । आणविक दुर्घटना हुन नदिन सो क्षेत्रको निश्चित परिधिलाई सुरक्षित क्षेत्र घोषित गर्नुपर्छ,’  वक्तव्यमा गुटेरसले भनेका छन् ।

जपोरिझ्झिया आणविक संयन्त्र गत मार्चदेखि रुसको नियन्त्रणमा छ । संयन्त्र क्षेत्रमा रुसले सैन्य आधार बनाएको युक्रेनको आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भ्यासिली नेबेन्जियाले कियभले ‘आणविक पूर्वाधारमा बमबारी गरेर विश्वलाई आणविक दुर्घटनाको संघारमा पु¥याएको’ आरोप लगाए ।

हालसम्मको विश्वको सबैभन्दा गम्भिर आणविक दुर्घटना मानिने चेर्नोविल आणविक दुर्घटना सन् १९८६ मा घटेको थियो । दुर्घटनास्थल तत्कालीन सोभियत संघको एक अंश युक्रेनमै थियो ।-फाइल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com